काठमाडौं । जापानकी राजकुमारी माकोले सामान्य परिवारका एक युवासँग शाही सेवा–सुविधा त्याग्दै प्रेमका खातिर बिहे गर्ने भएकी छिन् । राजाको अनुमतिपछि पत्रकार सम्मेलन गर्दै यसको औपचारिक घोषणा गरेकी राजकुमारी माकोले आफ्ना प्रेमी केइ कुमुरोसँग बिहे गर्ने घोषणा गरेकी हुन् । उनको यो घोषणासँगै विवाहको लागि प्रक्रिया अघि बढ्नेछ साथै उनको राजशी पद पनि गुम्नेछ ।
तर यस विषयमा आफूलाई केही पीर वा पश्चाताप नभएको राजकुमारी माकोले प्रष्ट पारेकी छिन् । उनले आफू कुमुरोको सूर्यजस्तै चम्किलो हाँसोबाट प्रभावित भएको पनि बताएकी छिन् ।
“मलाई मेरो बाल्यकालदेखि नै थाहा थियो कि मैले बिहेपछि आफ्नो शाही पद गुमाउनेछु । मैले आफ्नो पितासँग रहँदा शाही परिवारको सदस्यको भूमिका मैले भ्याएसम्म निर्वाह गरेको थिएँ,” राजकुमारी माकोले भनिन् ।
यसका साथै अब राजकुमारी माको र उनका प्रेमी कुमुरोले आउँदो मे महिनामा इन्गेजमेन्ट गर्ने बीबीसीले जापानी स्थानीय सञ्चारमाध्यमलाई उदृत गर्दै जनाएको छ ।
२५ वर्षिया राजकुमारी माकोको २५ वर्षिया प्रेमी एक कानुनी फर्ममा काम गर्दछन् । राजकुमारी माको र कुमुरोबीच पाँच वर्षअघि एउटै विश्वविद्यालयमा पढ्दा भेट भएको थियो ।
जापानको शाही कानुनमा राजपरिवारका कुनै महिला सदस्यले सामान्य पुरुषसँग विवाह गरे राजपरिवारको हैसियत गुमाउने प्रावधान छ । निकै विवादास्पद मानिएको यो कानुनले राजपरिवारका पुरुषलाई भने कुनै प्रतिबन्ध लगाएको छैन ।