काठमाडौं । भारत उत्तराखण्डको पिथौरागढ जिल्लाअन्तर्गत कैलाश मानसरोवर यात्रामार्गमा सोमबार मुसलधारे पानी पर्दा सेनाका तीन जवानसहित ४ जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् । घटनामा सेनाका ७ जवानसहित ११ जना हराएकोमा पछि ५ जना सम्पर्कमा आएका थिए ।
तीव्र वर्षाले गर्दा मालपामा तीनवटा घर भत्केका छन् । एक महिलालाई महाकाली नदीले बगाएर नेपालतिर ल्याएको समाचारमा उल्लेख छ ।
हिन्दूस्तान डट कममा लेखिएको समाचारअनुसार बाढीमा १६ वटा खच्चड र २ वटा सेनाका सवारी साधन पनि बगेका छन् । प्रशासनले कैलाश मानसरोवर यात्रामार्गमा व्यापक क्षति भएकाले तत्कालका लागि उक्त मार्ग बन्द गरेको छ । नेपालको दार्चुलादेखि पारि पर्ने धार्चुलामा आपत्कालीन उद्धारका लागि भारत सरकारले हेलिकोप्टर तयार पारेको छ ।
आइतबार हिमाञ्चल प्रदेशको मण्डी पठानकोट राष्ट्रिय राजमार्गमा भीषण पहिरोमा परी हिमाञ्चल रोडवेजका दुई बस पुरिँदा कम्तीमा ४६ व्यक्तिको मृत्यु भएको थियो । उक्त घटनामा मृत्यु हुनेको संख्या अझ बढी हुन सक्ने समाचारमा जनाइएको छ ।