विचार

दक्षिण एसियाको पारिवारिक राजनीतिक मोहको सिको गर्दै प्रचण्ड

रमेश रावल

दक्षिण एसियामा पारिवारिक राजनीतिको प्रभुत्व छ । दक्षिण एसियामा माल्दिभ्समा गैयुम परिवार, भारतमा नेहरु गान्धी परिवार, श्रीलंकामा राजापाक्षे र बंगालदेशमा शेख परिवार, पाकिस्तानमा भुट्टो र सरिफ परिवारको राजनीतिक प्रभुत्वमा छ । माल्दिल्सका गैयुम, भारतका नेहरु गान्धी, श्रीलंकाका राजापाक्षे र बंगालदेशका शेख र पाकिस्तानका भुट्टो तथा सरिफ परिवारले पार्टीको नेतृत्व उत्तराधिकारमा पाएका छन् वा उत्तराधीकारी नबनाएसम्म पार्टीको प्रमुख पद छाडेका छैनन् ।

बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेदलाई उनका बुबा शेख मुजिबुर रहमानले राजनीतिकमा ल्याएका हुन् । उनका बाबु त्यहाँका राष्ट्रपति थिए । उनी सन् १९७५ अगस्ट १५ मा मारिए । त्यसपछि हसिना कहिले प्रतिपक्षी दलकी नेता त कहिले सरकार प्रमुखका रूपमा रहँदैआएकी छन् ।

माल्दिभ्समा अब्दुल्ला यमिन अब्दुल गैयुमलाई उनका दाइले राजनीतिक नेतृत्वमा पु¥याएका हुन् । उनका दाजु मैमुन अब्दुल गैयुम ३० वर्ष राष्ट्रपति भएका थिए ।

श्रीलंकाका राष्ट्रपति महिन्दा राजपाक्षेलाई उनका बुबाले नै राजनीतिकमा ल्याएका थिए । उनका बुबा डीए राजपक्ष त्यहाँको चर्चित स्वतन्त्रताप्रेमी राजनीतिक व्यक्ति थिए । राजापाक्षे परिवारका सदस्यहरूको श्रीलंकाको राजनीतिमा महत्त्वपूर्ण भूमिका रहँदैआएको छ ।

भारतमा नेहरीगान्धी परिवारको प्रभुत्व रहँदैआएको छ । भारतमा अहिले पनि विपक्षी राजनीतिको केन्द्रमा भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष सोनिया गान्धी र उनका छोरा राहुल गान्धी रहँदैआएका छन् । नेहरु गान्धी परिवारका जवाहरलाल नेहरू, उनकी छोरी इन्दिरा गान्धी, इन्दिरा गान्धीका छोरा राजीव गान्धी भारतीय कांग्रेसका अध्यक्ष र देशको प्रधानमन्त्री थिए । 

पाकिस्तानमा जुल्फीकर अली भुट्टोपछि उनकी छोरी बेनजिर भुट्टो प्रधानमन्त्री भइन् । बेनजिर मारिएपछि उनका पति आसिफ अली जर्दारी प्रधानमन्त्री भए । उनका छोरा बिलावल भुट्टो जर्दारी पाटीका सहअध्यक्ष बनाइए । यसैगरी अर्का प्रधानमन्त्री नवाज सरिफले आपूm प्रधानमन्त्री पदमा रहन अयोग्य साबित भएपछि भाइ मुहम्मद सहवाज सरिफलाई प्रधानमन्त्री बनाउने तारतम्य मिलाउँदै छन् ।  

त्यसको अछुतो नेपाल पनि पनि छैन । दक्षिण एसियाको राजनीतिक चरित्र नेपालका राजनितिक नेताहरूमा पनि छ । नेपालको राजनीतिक घरानामा विशेष गरेर कोइराला परिवारको चर्चा हुन्छ । यद्यपि, सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, पद्मसुन्दर लावतीलगायतले पनि राजनीतिक उत्तराधिकारी परिवारभित्रै तयार गर्ने जमर्को गरेका छन् । थुप्रै कम्युनिस्ट नेताहरूका पतिपत्नी दुवै राजनीतिमा सक्रिय छन् । कोइराला परिवारकै शैलीमा दाहाल परिवारको उदय हुनलागेको देखिएको छ ।
दक्षिण एसियाको पारिवारिक राजनीतिक शैलीबाट प्रभावित भएजसरी अहिले पुष्पकमल दाहालले पनि परिवारलाई राजनीतिमा स्थापित गर्न विशेष महत्त्व दिन थालेका छन् । लाग्छ, उत्तराधिकारीमा आफ्नै परिवारको कसैलाई स्थापित नगरी उनले माओवादी पार्टीको अध्यक्ष त्याग्ने छैनन् । 

नेपालमा कोइराला परिवार र नेपाली कांग्रेस पर्याय बन्न पुगेको छ । बीपी, मात्रिका, गिरिजा तीन दाजुभाइ कांग्रेस सभापति र देशका प्रधानमन्त्री भए । यही क्रममा सुशील कोइरालासमेत कांग्रेसका सभापति र प्रधानमन्त्री भए । पार्टीको सभापति कृष्णप्रसाद भट्टराई छँदा पनि पकड पनि कोइरालाकै थियो ।  गिरिजाप्रसाद कोइरालको सुशील कोइरालापछि सुजाता, शशांक र शेखर कोइराला कसैलाई पार्टी नेतृत्वमा स्थापित गर्ने चाहना देखिन्थ्यो । तर, सुशीलपछि त्यो नेतृत्व अहिले शेरबहादुर देउवाको हातमा गएको छ । गिरिजाको सुजातालाई पार्टीको नेतृत्वमा स्थापित गर्नेे योजना सफल भएन । अहिले पनि कोइराला परिवारको पारिवारिक राजनीति कांग्रेसमा मात्र हैन देशमै चर्चाको विषय बन्छ । 

नेपालको राजनीतिमा पुष्पकमल दाहालले पनि पारिवारिक राजनीतिको जग बसाल्न खोजेको छर्लंगै भएको छ । दाहाललाई माओवादीमा कतिपय नेताले झुन्डको नेता हो भन्नु कारण पनि पारिवारलाई माओवादी राजनीतिमा विशेष स्थान दिनु नै हो ।

बाबुराम भट्टराई, नेत्रबिक्रम चन्द, मोहन वैद्य, मात्रिका यादवलगायतले पार्टी विभाजन गराउँदा दाहाललाई लगाउने आरोपमध्ये एउटा यही हो । अहिले नारायणकाजी श्रेष्ठले पनि दाहाललाई त्यही आरोप लगाउँदैआएका छन् । 

माओवादी जनयुद्धकालमा भट्टराईले दाहालसँग असहमति राखेका थिए । त्यसै कारणले बाबुराममाथि कारबाही पनि भयो । असहमतिका बुदाँमा एउटा थियो ‘दाहालले केन्द्रदेखि तल्लो कमिटिसम्म सबैलाई कारवाही गरे । तर, दाहाल पुत्र प्रकाशलाई एक तह बढुवा गरियो । यसको कारण के हो ?’ भनेर । 

दाहाल आफ्ना पुत्र प्रकाशलाई उत्तराधिकारी बनाउन चाहन्थे । तर, प्रकाशको छविका कारण सायद उनले त्यो सम्भव देखेनन् । अहिले छोरी रेणुलाई उत्तराधिकारी बनाउन चाहन्छन् । रेणुलाई ‘जनयुद्ध’ कालमै त्यसको उदगम थलो रोल्पाको सहइन्चार्ज बनाए । काठमाडौंमा कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंहका छोरा प्रकाशमान सिंहसँग हार्ने निश्चित हुदाँहुँदै पनि दोस्रो संविधान सभाको चुनावमा लड्न लगाए । त्यहाँ पराजित भइन् । पहिले पनि भरतपुर महानगरपालिकामा विभिन्न प्रपञ्च रचेर रेणु दाहाललाई मेयरको उम्मेदवार बनाए । भरतपुरमा दाहालले छोरीका लागि जति मेहेनेत पार्टी र अन्य कार्यक्रममा गरेको भए माओवादी देशमा बलियो शक्तिका रूपमा उदाउने थियो । 

दाहालका लागि क्षयोन्मुख अवस्थामा रहेको माओवादी र मध्यम वर्गको विश्वास जित्न नसकेको बेला भरतपुरमा कांग्रेससँग मिलेर रेणुलाई उम्मेदवार बनाउनुको अर्को विकल्प थिएन । महानगरपालिकाको मेयर जिताएर दाहाल आफ्नी छोरीलाई पार्टीको नेतृत्वमा स्थापित गर्ने चाहना लुकेको हुनसक्छ । 

दाहालले पार्टीमा विभिन्न बैठकमा गुटबन्दी गरेको भन्दै अरुलाई दोष दिइरहने पार्टीका नेतालाई एउटा न एउटा आरोप लगाएर पार्टीमा आफ्नो परिवारको नेतृत्व स्थापित गर्ने तयारीमा लागेको कुरा घाम जत्तिकै छलङ्ग छ ।
 

तपाईंको मत