काठमाडौं । अष्ट्रेलियन कप्तान स्टेभेन स्मिथ टेष्ट क्रिकेटको ब्याटिङतर्फ शीर्ष स्थानमा यथावत रहेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले जारी गरेको टेष्ट ब्याट्सम्यानको नयाँ वरियतामा स्मिथ यथावत रहेका हुन् ।
आईसीसीले निकालेको नयाँ वरियतामा स्मिथ ९४१ अंक प्राप्त गर्दै शिर्ष स्थानमा छन् । टेष्ट क्रिकेटको वरियतामा इंग्ल्यान्डका जोए रुट ८८५ अंकका साथ दोस्रो र न्युजिल्यान्डका केन विलियम्सन ८८० अंकका साथ तेस्रो स्थानमा रहेका छन् । यस्तै भारतका चेतेश्वर पुजारा ८६६ अंकका साथ चौथो स्थानमा रहँदा भारतीय कप्तान विराट कोहली ८६२ अंकका साथ पाँचौं स्थानमा छन् ।
टेष्ट क्रिकेटकै ब्याट्सम्यानतर्फ पाकिस्तानका अजहर अली, अष्ट्रेलियाका डेभिड वार्नर, दक्षिण अफ्रिकाका क्विन्टन डी कक, इंग्ल्यान्डका जोनी ब्रिष्टो र दक्षिण अफ्रिकाकै हासिम अमला क्रमशः छैटौंदेखि दशौ स्थानमा रहेका छन् ।
टेष्ट क्रिकेटको बलिङतर्फको नयाँ वरियतामा भारतीय बलर रविन्द्र जडेजा ८९७ अंकसहित शिर्ष स्थानमा यथावत रहेका छन् । बलिङतर्फ दोस्रो स्थानमा ८४९ अंक जोडेका भारतकै रविचन्द्र आश्विन रहेका छन् । इंग्ल्यान्डका बलर जेम्स एण्डरसन ८२८ अंकसहित तेस्रो, श्रीलंकाका बलर रंगना हेराथ ८२८ अंकसहित चौथो र ८२६ अंक जोडेका अष्ट्रेलियन बलर जोश हजालवुड पाँचौ स्थानमा छन् ।
यस्तै टेष्ट बलरतर्फ दक्षिण अफ्रिकाका कागीसो राबडा, दक्षिण अफ्रिकाकै स्टेन डाले, इंग्ल्यान्डका स्टुवार्ड बोर्ड, दक्षिण अफ्रिकाका भेर्नोन पिलान्धरे र न्युजिल्यान्डका नील वाग्नेर छैटौंबाट क्रमशः दशौं स्थानमा रहेका छन् ।
आईसीसीले जारी गरेको टेष्ट क्रिकेटको अलराउण्डरतर्फ बंगलादेशका शकिब अल हसन शिर्ष स्थानमा रहदा भारतका रविन्द्र जडेजा दोस्रो र भारतकै रविचन्द्र आश्विन तेस्रो स्थानमा छन् । त्यस्तै इंग्ल्यान्डका दुई बलर मोइन अली चौथो र बेन स्टोक पाँचौ स्थानमा रहेका छन् ।