site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
भएका उद्योग चलाउन नदिने अनि बैंकले लगानी गरेनन् भन्न मिल्छ ?
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
उपेन्द्र पौड्याल 
अध्यक्ष, नेपाल बैंकर्स एसोसिएसन 
लामो समयदेखि बैंकिङ क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दे आएका उपेन्द्र पौड्याल वाणिज्य बैंकहरूको छाता संस्था नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष छन् । नेपाल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडलाई एनएमबी बैंकमा स्तरोन्नति गर्न उनको भूमिका महत्वपूर्ण थियो । उनी लामो समयदेखि एनएमबी बैंकमा प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रूपमा कार्यरत छन् । पौड्यालले एनएमबीलाई सबल बैंकको रूपमा स्थापित गराइसकेका छन् । बैंकिङ क्षेत्रमा भएका चुनौतीका विषयमा केन्द्रित रहेर बाह्रखरीकर्मी बाबुराम खड्कासुजन ओलीले पौड्यालसँग गरेको कुराकानी: 
 
नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले समग्र बैैंकिङ क्षेत्रलाई कस्तो प्रभाव पार्ने देख्नुहुन्छ ?
यसले सकारात्मक प्रभाव पार्ने अपेक्षा गरेका छौं । नयाँ मौद्रिक नीतिलाई संघले स्वागत गरिसकेको छ । हाम्रो मुख्य समस्या लगानीयोग्य पुँजी (तरलता) व्यवस्थापन हो । तरलता बढ्यो भने समस्या, घट्यो भने पनि समस्या आउने गरेको छ । यसपालिको मौद्रिक नीतिले ब्याजदर करिडोर नीति ल्याएर तरलता व्यवस्थापन गर्न खोजेको छ । यसअघि पनि ब्याजदर करिडोर ल्याउने भनिए ल्याइएन । यसपालि कार्यान्वयनको प्रतिबद्धतासहित नीति आएको छ । मौद्रिक नीतिले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्छ भन्नु सकारात्मक हो । यसमा बैंकहरूले लगानी गरिरहेका पनि छन् । त्यस्तै, विपन्न वर्गमा लगानी गर्नुपर्छ भन्ने राम्रो कुरा भए पनि यसमा कतिपय समस्याहरू छन् । २ प्रतिशत प्रत्यक्ष रूपमा बैंकले विपन्न क्षेत्रमा लगानी गर्नुपर्छ भन्ने नीतिगत व्यवस्थामा हाम्रो असहमति छ । 
 
पहिलो पटक ब्याजदर करिडोर लागू भएको छ । यसले अप्रत्यक्ष रूपमा उपभोक्तालाई कस्तो प्रभाव पार्ने देख्नुहुन्छ ? 
ब्याजदर करिडोरले उपभोक्तामा अप्रत्यक्ष प्रभाव पार्छ । ब्याजदर करिडोर ‘बैंक टु बैंक’ र राष्ट्र बैंकले अल्पकालीन बजारलाई बृहत् रूपमा सञ्चालन गर्ने ब्याजदर हो । उचित तरिकाले लागू भएर एउटा निर्दिष्ट दिशा लियो भने ऋणीलाई दिने ब्याजदर र निक्षेपकर्तालाई दिने ब्याजदरमा स्थिरता ल्याउनेछ । 
 
केही महिनाअघि तरलता धेरै भएपछि राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरणबाट खिचेको थियो । अहिले बजारमा तलरताको अवस्था कस्तो छ ? 
पहिलाको जस्तो पर्याप्त तरलता छैन । तरलता साँघुरिँदै गइरहेको छ, किनभने गत आवको ६ महिनामा लगानी हुन सकेन । अहिले कर्जाको माग बढ्दै गइरहेको छ । त्यसबेलामा ऋण सम्झौता भएर पनि वितरण नभएको लगानी अहिले धमाधम भइरहेको छ । जलविद्युत्मा गत वर्ष लगभग लगानी नै भएन । जति ऋण सम्झौता भएको थियो, त्यो अहिले वितरण भइरहेको छ । रेमिट्यान्सको वृद्धि नियमित भइरहेको छ भने उपभोग पनि सोही आधारमा बढिरहेको छ । हाम्रो आन्तरिक उत्पादन नभएपछि वस्तु आयात बढिरहेको छ । यसले तरलता साँघुरिँदै गएको हो । यही अवस्थामा कर्जाको विस्तार हँुदै जाने हो भने भोलि तरलता कम भएर रोक्नुपर्ने अवस्था पनि आउन सक्छ ।
 
विपन्न क्षेत्रमा प्रत्यक्ष रूपमा २ प्रतिशतसम्म कर्जा लगानी गर्नुपर्ने राष्ट्र बैंकको नयाँ नीति यहाँहरूलाई टाउको दुखाइको विषय बनेको छ । यसले समग्र बैंकिङ क्षेत्रमा कस्तो प्रभाव पार्ने देख्नुहुन्छ ?
मुख्य समस्या हामीसँग विपन्न क्षेत्रमा लगानी गर्ने विज्ञता छैन । एक–दुई वटा बैंकले यसमा राम्रो गरिरहेका छन् । उनीहरूले लामो समय लगाएर बनाएको ‘पोर्टफोलियो’ हो यो । यो क्षेत्रमा लगानी गर्न पहिला पूर्वाधार तयार हुनुपर्छ । लघुवित्त क्षेत्रको तिव्र प्रतिस्पर्धाका कारण एउटै व्यक्तिलाई धेरैले लगानी गरेको अवस्था छ । यस्तो किसिमको बजार हामीले कसरी पाउने भन्नेमा अनिश्चित छ । अर्को कुरा हामीसँग लगानी गर्नका लागि आवश्यक पूर्वाधार र क्षमता छैन । हामी व्यवस्थापन गर्दे जाउँला तर तत्काल २ प्रतिशत विपन्न क्षेत्रमा लगानी गर्न सक्ने अवस्था हामीसँग छैन । यसको विस्तारै कार्यान्वयन गर्दे लैजानुपर्छ । थुप्र्रै लघुवित्त र सहकारीले विपन्न वर्गमा लगानी गरिरहेका छन् भने यस क्षेत्रमा एनजीओहरूले पनि काम गरिरहेका छन् । राष्ट्र बैंकसँग मेरो अनुरोध के हो भने विपन्न वर्गको परिभाषालाई अहिले विस्तार गरेर निम्न वर्गतर्फ ल्याउन सक्यो भने लक्ष्य पु¥याउन सक्छौं । कृषिमा १० लाख रुपैयाँसम्म कर्जा गएको छ, अब यसको पनि परिभाषा विस्तार हुनुपर्छ । लघु उद्यम कर्जालाई कृषि र निम्न कर्जाको क्षेत्रमा विस्तार गरेमा विस्तारै कर्जा लगानी बढ्ने देखिन्छ ।
 
बैंकहरूले यो वर्षदेखि विपन्न क्षेत्रमा लगानी नगर्ने भएकै हुन् त ? 
यो लक्ष्य प्राप्ति गर्ने अवस्था देखिँदैन, तर सुरुवात हुन्छ । वाणिज्य बैैंक भएपछि त्यहीअनुसार काम गर्नुपर्छ । भोलि विपन्न तथा साना कर्जातर्फ ध्यान केन्द्रित भयो भने वाणिज्य बैंकको रूपमा काम नहुन पनि सक्छ । लघुवित्त संस्थाको कर्जा असुली दर राम्रो भएकाले यसलाई अझ मजबुत बनाउनुपर्छ । हाम्रो बैंकले पनि विपन्न कर्जामा २० करोड रुपैयाँ लगानी गरेको छ, तर हामीले प्रत्यक्ष लगानी गर्न खोज्दा त्यहाँ ‘डेलिबरेसन’ देखिएको छ । लघुवित्तको देन धेरै राम्रो छ, तर ब्याजदर बढी भयो भन्ने कुरा आएको छ । सस्तोमा कर्जा पाउनुपर्छ भन्ने राष्ट्र बैंकको उद्देश्य राम्रो हो । विपन्नमा जानलाई पहुँच पहिलो र ब्याजदर दोस्रो कुरा हो । लघुवित्त संस्थाले गाउँमा गएर विपन्न वर्गलाई पहुँच दिएका छन् । हामीले गाउँमा गएर शाखा विस्तार गर्दा लागत बढी पर्छ । त्यसैले प्रत्यक्ष २ प्रतिशत विपन्नमा लगानी गर्नुपर्ने व्यवस्थालाई तत्कालका लागि रोक्नुपर्छ भन्ने हाम्रो माग हो । केन्द्रीय बैंकले नीति ल्याइसकेपछि हामी मान्दिनँ भन्दैनौं र भन्ने पक्षमा पनि छैनौं । सकेसम्म हामी लागू गर्छौं । हामीले आफ्नो क्षमताले भ्याएसम्म लागू गर्ने हो, गर्नै सकेनौं भने के गर्ने भन्ने चिन्ता लागिरहेको छ । 
 
बैंकले गाडी किन्न ४–५ प्रतिशतमा तर उद्योगमा ११ प्रतिशतभन्दा बढी ब्याज लिइरहेका छन् । उत्पादनमूलक क्षेत्रमा लगानी गर्न बैंक सकारात्मक छैनन् भन्ने व्यवसायीको आरोप छ । यस्तै हो स्थिति ?
‘कन्जुमर फाइनान्स’मा नजाने भन्नुप¥यो, राज्यले त्यस्तो भनेको अवस्था छैन । ‘कन्जुमर फाइनान्स’को असुली राम्रो छ र लागत पनि बढी छैन । जस्तो, कुनै उत्पादनमा लागत मूल्य बढी भएर जोखिम देखिन्छ भने बैंकले लगानी गर्दैन वा कम लगानी गर्छ । जुन क्षेत्रमा लगानी गर्दा जोखिम कम छ र असुली तथा प्रतिफल राम्रो छ भने त्यसमा बैंकले लगानी गर्छन् । जहाँसम्म हाउजिङ र गाडी किन्न कर्जा सस्तो भयो भन्ने गुनासो छ, जोसँग नियमित र दिगो आम्दानी छ, भोलि उसले कर्जा तिर्न निश्चित छ भने सोही आधारमा हामीले लगानी गरेका छौं । कन्जुमरमा लगानी गर्दा अनुगमन र विश्लेषणको गहिराइ पनि कम हुन्छ । गाडी छँदैछ, त्यसमाथि धितो राम्रो छ र तिर्न सक्ने क्षमता देखियो भने जोखिम धेरै कम हुन्छ र त्यसको ब्याजदर स्वतः कम हुन्छ । कसैले बचतपत्र राखेर कर्जा लिन्छ भने अझ त्यसको ब्याजदर झनै कम हुन्छ ।
 
उपभोक्ता कर्जाको असुली दर राम्रो भनेर यसतर्फ लगानी बढाउने तर व्यवसायीले उद्योग स्थापना गरेर आयात प्रतिस्थापन गर्छु भन्दा कर्जा दिन चाहनुहुन्न । दिए पनि बढी ब्याज लिनुहुन्छ । यस्तो अवस्थामा बैंकलाई उद्योगमैत्री कसरी भन्ने ? 
यसमा बुझाइ नै गलत छ । नेपालको अर्थव्यवस्थाको संरचनागत अवस्था हेर्नुस्, हामीले के कुरामा तुलनात्मक लाभ लिन सकेका छौं ? उद्योगमा किन लगानी नगरेको भन्ने मात्र प्रश्न आउने गरेको छ । हामीले उद्योगमा प्रशस्त लगानी गरेका छौं । बैकहरू नयाँ लगानीको क्षेत्र र ग्राहक खोज्दै गइरहेका छन् । बैंक उद्योगमा पुगेको छ । सिमेन्टमा लगानी बढेर आत्मनिर्भर हुने अवस्थामा पुगेको छ, यो बैंकले गरेको लगानीले होइन ? कसले लगानी गरेर सिमेन्ट उद्योग आजको अवस्थामा आयो ? सिमेन्टमा गरेको लगानी उत्पादनमूलक होइन ? बैंकले तयारी पोशाक उद्योगमा धेरै लगानी गरेका थिए । तर, आज लगानी गर्न सक्ने अवस्था छैन किनभने निकासी व्यापार खस्किएको छ । गलैँचाको पनि बजार घटिरहेको छ । मजदुर समस्या बढेको छ । यस्तो अवस्थामा यहाँ कसले उद्योग चलाउँछ ? युनिलिभर मजदुरका कारण बन्द छ, सूर्य नेपालले जोन प्लेयर ब्रान्डका कपडा उत्पादन गर्ने कारखाना नै बन्द गर्यो । भएका उद्योग चलाउन नदिने अनि यस्तो अवस्थामा बैंकले लगानी गरेन भन्न मिल्छ ? अर्को कुरा, उद्योगमा तुलनात्मक लाभ नै छैन । प्रतिस्पर्धी क्षमता बढाउन पनि सकेको छैन । त्यसकारण मुलुक आयातमा भर परेको छ । आज अर्थव्यवस्था जुन दिशामा जान्छ, लगानी पनि त्यहीअनुसार भएको छ । अर्थतन्त्र नै आयातमुखी भएपछि बैंकले ट्रडिङमा नगरे केमा लगानी गर्ने ? 
 
उसो भए बैंक नाफामुखीमात्र भएका हुन् त ?
होइन, बुझाइ नै गलत छ । बजारको माग के छ, त्यहीअनुसार लगानी हुन्छ । उद्योगका लागि कर्जा माग्न आउनुप¥यो नि, हामीले खोजेर दिने हैन क्यारे ! लगानी गर्न भनेर उद्योग खोज्दै हिँड्ने काम हाम्रो होइन । देशको अर्थतन्त्र कता गइरहेको छ, त्यहीअनुसार बैंकको लगानी हुन्छ, बैंकले चाहेर मात्र लगानी हुने होइन । एक समयमा गलैँचा र तयारी पोशाकको निकासी धेरै थियो । त्यसबैला बैंकको लगानी यस क्षेत्रमा बढी थियो । आज ती क्षेत्र सुस्त भएको अवस्थामा बैंकले कसरी लगानी गर्छ ? 
यहाँले गाडी किन्न सस्तो ब्याजमा कर्जा दिनुहुन्छ, उद्योगीलाई घटाउन सक्नुहुन्न ? 
ब्याजदर लागत (कस्ट अफ फन्ड)मा निर्भर हुन्छ । अहिले ब्याज न्यूनतम स्तरमा छ । निक्षेपमा ब्याजदर बढी भएको बेला कर्जाको ब्याज पनि बढी थियो । आज ब्याज मूल मुद्दा हैन, बंैकबीच चर्को प्रतिस्पर्धा छ, हरेक ग्राहकको पछि बैंक लाग्नुपर्ने अवस्था छ । ब्याजदर बढी लिन्छु भन्ने अवस्था छैन, यो माग र आपूर्तिले निर्धारण गर्छ । बैंकिङमा बाहेक अन्य कुनै क्षेत्रमा पूर्ण प्रतिस्पर्धा भएको छैन । प्रतिस्पर्धामात्र होइन, हामी पारदर्शी पनि छौं । २–३ महिनायता ऋणीबाट ब्याजदर घटाउने प्रस्तावमात्र आइरहेका छन् । यस्तो माग आइरहेका बेला बजारलाई जवाफ दिनुपर्यो । राष्ट्र बैंकले ५ प्रतिशत स्प्रेड दर तोकेको छ, तर प्रतिस्पर्धाले गर्दा हामीले ५ प्रतिशत सीमामा पु¥याउन सकेका छैनौं । प्रतिस्पर्धा नभएको भए ४.९९ प्रतिशतमा बैंकले स्थिर बनाउँथे होल नि ! बजार जता जान्छ, बैंक पनि त्यतैतिर लाग्छ । मुलुकको अर्थतन्त्रको संरचना कस्तो छ, लगानी पनि त्यही आधारमा हुन्छ । 
 
राष्ट्र बैंकले कृषि तथा जलस्रोतमा लगानी सीमा बढाएर १५ प्रतिशत पु¥याउनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ । बैंकर्सले यो सीमा पु¥याउन कठिनाइ छ भन्दै आएका छन्, यो वर्ष लक्ष्य पुग्छ कि पुग्दैन ? 
कृषिको दायरा फराकिलो गर्नुपर्छ । उत्पादनमूलक उद्योगमा २० प्रतिशतसम्म लगानी गर्नुपर्छ भन्ने व्यवस्था छ । यसमा सिमेन्ट उद्योग पर्दैन, जसले आयात प्रतिस्थापन गर्दैछ । सिमेन्टलाई उत्पादनमूलक मानेको छैन । त्यसैले उत्पादनमूलक क्षेत्रको पुनः परिभाषा गर्नुपर्ने अवस्था आएको छ । कृषिमा लगानीको क्षेत्र पनि प्रष्ट हुनुपर्छ । लगानी नै नहुने क्षेत्रमा लगानी गर भनेर बढ्दैन । सरकारले ब्याज अनुदान दिने भनेको छ, तर धान, गहुँ र मकैजस्तो प्रमुख बालीलाई राखेको छैन । नेपालले चामल आयात गरिरहेको छ, यस्तो बेला धान उत्पादन कसरी बढाउने भन्नेतर्फ लाग्ने होइन र ? हामी फलफूल र मासु नभए पनि बाँच्न सक्छौं तर चामल नभए सकिन्नँ । यो आधारभूत उत्पादन हो । ब्याज अनुदान यी कुरामा छैन, जुन वस्तु उत्पादन हुन सक्दैन र जसलाई व्यावसायिक मूल्य पनि दिन सकिन्नँ भने त्यस्ता वस्तुमा अनुदान दिनुको अर्थ के ? मौरीपालन, मस्त्यपालन भनेको छ, तर मुख्य बाली उत्पादन यसमा छैन । कृषिको उत्पादनदेखि बजारसम्म पु¥याउन आपूर्ति र वितरण प्रणालीलाई व्यवस्थित गर्नुपर्ने देखिएको छ । जस्तो, दुग्ध उत्पादनमा धेरै लगानी भएको छ । हाम्रो बैंकले इलाममा लगानी गरिरहेको छ । एनजीओ समूहले किसानलाई गाईभैंसी पाल्नका लागि शिक्षा दिनुका साथै क्षमता अभिवृद्धि गरिरहेको छ । उनीहरुले समूह निर्माणमा सहयोग गरिरहेका छन् । त्यही समूहले सहकारी बनाएको छ, त्यही सहकारीमा हामीले लगानी गरेका छौं । सहकारीले व्यक्तिगत सदस्यलाई लगानी वितरण गर्छ । त्यहाँ हाम्रो शाखा कार्यालय छैन तर पनि दुग्ध पदार्थमा प्रभावकारी रूपमा काम भएको छ । त्यो समूहको सदस्यलाई गाई र भैंसीपालन गर्न ऋण दिन्छ र किसानले उत्पादन गरेको दूध सहकारीमा आउँछ । दुग्ध विकास संस्थानसँग सहकारीलाई ‘टाइअप’ गरेका छौं । संस्थानले दूध किन्छ र सहकारीलाई भुक्तानी गर्छ । सहकारीले बैंकलाई दिएर बाँकी रहेको पैसा किसानलाई वितरण गरेको छ । यति राम्रोसँग दुग्ध व्यवसाय चलेको छ त्यहाँ । किसानले पनि कमाइरहेका छन् भने बैंकले पनि लगानी गरिरहेको छ । यो मैले एउटा उदाहरण दिएको मात्र हो । हाम्रो सम्पूर्ण कृषि प्रणाली पनि यो मोडलमा जानुप¥यो । आज कसैले कफी खेती गर्छु भन्छ, तर न जेटीए हुन्छ, न त ऊसँग खेतीको ज्ञान नै छ । फेरि बजारको पनि समस्या होला । ‘भ्यालु चेन’लाई मिलाउन सक्यौं भने कृषिले ठूलो फड्को मार्न सक्छ ।
 
बैंकले पनि लगानीका नयाँ क्षेत्र नै पहिचान गर्न नसकेको देखिन्छ, यसो हुनुको कारण के होला ? 
हो, बैंकले नयाँ क्षेत्र पहिचान गर्न सकेका छैनन् । उद्यमशिलता बढाउने काम बैंकको हैन । कुन नश्लको गाई किन्नुपर्छ, कसरी पाल्ने, कुन ठाउँबाट किनेर ल्याउने भनेर बैंकले भन्ने होइन, यो काम त व्यवसायीको हो । हामीसँग उद्यमशिलता बढाउने ज्ञान पनि छैन । बजारमा आउने संयन्त्र बैंकले सिर्जना गर्ने होइन, त्यो त उद्यमशिलतामा लागेकाले गर्ने हो । खाद्य संस्थान स्थापना भएको मूल्य स्थिरता कायम गर्नलाई हो नि ! उसले यस्तो काम गर्न सकेको छैन । किसानको खेतमा बिचौलिया पुगेर कृषिजन्य उत्पादन आपूर्ति गरिरहेका छन् । यस्तो अवस्थामा खोइ खाद्य संस्थानको भूमिका ? राज्यको भूमिका खोइ ? सहकारीलाई दुग्ध विकास संस्थानसँग ‘टाइअप’ गरेर दूधको बजार खोजेका छौं भने खाद्य संस्थानले पनि यो क्षेत्रमा कृषिजन्य उत्पादन हुन्छ । उत्पादनलाई हामी भण्डारण गरेर कोल्डस्टोर बनाएर आपूर्ति गर्छौं र यति पैसामा किन्ने ग्यारेन्टी गर्छौं, लगानी गर भन्छ भने हामी यसमा लगानी गर्न तयार छौं ।
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ३०, २०७३  १३:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC