काठमाडौं । परिवर्तन नेपालको आयोजनामा भएको कार्यक्रममा हरितारा चलचित्र पुरस्कार तथा दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कारबाट कलाकार तथा पत्रकारहरूलाई सम्मान गरिएको छ ।
कार्यक्रममा २०७६ सालको हरितारा चलचित्र पुरस्कार चलचित्रकर्मींहरू कृष्ण मल्ल र मदनदास श्रेष्ठलाई प्रदान गरियो । २०७७ सालको सोही पुरस्कारबाट गीतकार सहदेव ढुंगानालाई पनि सम्मान गरिएको छ । सम्मानसँगै जनही २५ हजार रुपैयाँ नगद पनि छ । निजी क्षेत्रबाट स्थापित पहिलो चलचित्र पुरस्कारका रुपमा हरितारा चलचित्र पुरस्कार परिचित छ ।
त्यस्तै कार्यक्रममा सञ्चारकर्मी राजेश खनाललाई दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार २०७६ र २०७७ सालका लागि अभिनेत्री सपना श्रेष्ठलाई सोही पुरस्कारबाट सम्मानित गरिएको छ । यो पुरस्कारको राशि जनही १० हजार रुपैयाँ रहेको छ ।
कार्यक्रममा हरितारा पुरस्कार गुठीका मालिका राणा, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, इन्जिनियरिङ काउन्सिलका अध्यक्ष डिल्लीरमण निरौला, लय संग्रौला, रवीन्द्र खड्का, मोहन निरौला, शान्तिप्रियलगायतले आफ्ना धारणा राखेका थिए ।