एजेन्सी । हलिउड अभिनेता टम क्रुज यतिबेला इटालीमा ‘मिसन इम्पोसिबल-७’ को छायांकनमा छन् । एक्सन-प्याक्ट र स्टन्टले भरपूर हुने यो चलचित्र हेर्न दर्शकहरु अहिले देखिनै उत्सुक छन् ।
बाइक स्टन्टहरु भरपूर मात्रामा हुने यस चलचित्रको सातौं संस्करणमा पनि बाइक स्टन्टहरु देखिन पाइने भएको छ ।
सातौं संस्करणमा मेड इन इन्डिया बाइक देखिने भएको छ । हालै टमको छायांकनको एक भिडियो सामाजिक सन्जालमा देखिएको छ, जसमा टम बीएमडब्लू जी ३१० जीएस बाइक चलाउँदै गरेको देखिन्छ ।
जी ३१० जीएस भारत र अन्य अन्तर्राष्ट्रिय बजारहरुका लागि होसुरमा अवस्थित टीभीएस प्लान्टमा बनाइन्छ । टमको यो भिडियो सार्वजनिक भएसँगै भारतीय केन्द्रीयमन्त्री पियुष गोयलले ट्विट गर्दै खुसी व्यक्त गरेका छन् । उनले टमले बाइक चलाउन लागेको फोटो सँगै लेखेका छन्, “मेक इन इन्डिया मिसन इम्पोसिबललाई मिसन पोसिबल बनाइरहेको छ । टम क्रुज आफ्नो नयाँ चलचित्रमा भारतमा बनेको बाइक चलाउँदै गरेको हेर्नुहोस् ।”
खबरअनुसार यो बाइक इटालीयन प्रहरीले पेट्रोलिङ वाहनका रुपमा प्रयोग गर्छन् । यसमा फरक कलर स्किम, अलर्ट लाइट्स र साइड प्यानियर्स पनि हुन्छ । -नवभारत टाइम्स