काठमाडौं । पाकिस्तानले जम्मु काश्मिर–लद्दाख र जूनागढलाई समेटेर नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको छ ।
पाकिस्तानको मन्त्रिपरिषद्ले मंगलबार उक्त भूमि पाकिस्तानको भएको दाबी गर्दै नयाँ राजनीतिक नक्सा जारी गर्न अनुमति दिएको थियो ।
नक्सा सार्वजनिक गर्दै प्रधानमन्त्री इमरान खानले भनेका छन्, “पाकिस्तानको राजनीतिक नक्साले पाकिस्तानका जनतामा खुसी प्रदान गर्नेछ । पाकिस्तान र काश्मिरका जनताको विचारधाराको पनि समर्थन गर्नेछ ।”
उनले अघिल्लो वर्ष भारतले काश्मिरमा गलत कदम उठाएको पनि पनि बताएका छन् । पाकिस्तानमा अब स्कुल, कलेजसहित सरकारी कार्यालयमा यही राजनीतिक नक्सा रहनेछ ।
उक्त नक्साप्रति भारतले आपत्ति जनाउँदै वैधता नभएको बताएको छ ।
भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उक्त नक्साको कानुनी वैधता र अन्तर्राष्ट्रिय विश्वसनीयता नभएको जनाएको छ ।
विदेश मन्त्रालयले भनेको छ, ""यी हास्यास्पद दाबीको न कानुनी वैधता छ न अन्तर्राष्ट्रिय विश्वसनीयता नै ।"
भारतको विदेश मन्त्रालयले पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कथित 'नयाँ राजनीतिक नक्सा' सार्वजनिक गरेको देखेको उल्लेख गर्दै विज्ञप्तिमा भनेको छ, "यो उनको राजनीतिक मूर्खताको अभ्यास हो र यसले भारतको गुजरात राज्य र हाम्रो केन्द्र शासित जम्मु-काश्मीर र लद्दाखका क्षेत्रहरूमा दाबी गरेको छ ।"
गत वर्ष ३ नोभेम्बरमा भारतले आफ्नो नयाँ राजनीतिक नक्सा सार्वजनिक गर्दै जम्मु काश्मीर र लद्दाखमा छुटेका भूभागहरु समेटेको बताएको थियो ।