काठमाडौं । कोरोनाका कारण विदेशमा अलपत्र (समस्यामा) परेका नेपालीहरूको धमाधम उद्धार भइरहेको छ । साथसाथै त्यहाँ विभिन्न कारणले मृत्यु भएका २३ नेपालीको शव पनि आजै आइपुगेको छ ।
आज मात्रै कुवेतबाट १५० कामदार र दुई शव काठमाडौं ल्याइएको छ । उनीहरू त्यहाँको सरकारले आममाफी दिएका नेपालीहरू भएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बाह्रखरीलाई जानकारी दिए ।
यस्तै दुबईमा समस्यामा परेका १४८ जनालाई नेपालीलाई नेपाल एयरलायन्सको विमानबाट उद्धार गरिएको छ । उक्त विमान आज बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । उक्त चार्टर्ड विमानमा एउटा शव पनि ल्याइएको थियो ।
आजैै कतारको दोहाबाट कतार एयरवेजले ४३ कामदार र २० वटा शव ल्याएको प्रवक्ता क्षेत्रीले जानकारी दिए । कतारबाट फर्किएका ४३ जना आममाफी पाएर फर्किएका हुन् ।
बोर्डको समन्वयमा घरमै पुर्याइँदै शव
विदेशमा विभिन्न कारणले मृत्यु भएकाको शव वैदेशिक रोजगारी बोर्डले निःशुल्क घरसम्म पुर्याउन लागेको छ । यसअघि मृतकका आफन्तले निःशुल्क शव ढुवानीका लागि काठमाडौं आएर निवेदन दिनुपर्ने व्यवस्था थियो ।
कोरोनाको कारण काठमाडौं उपत्यकामा मृतकका आफन्त आउन नसक्ने अवस्थामा परिवारसँग समन्वय गरी बोर्ड आफैंले शव बुझेर उनीहरूको घरसम्म पुर्याउन लागेको हो ।