काठमाडौं । कोरोनाका कारण विश्व नै लकडाउनमा छ । त्यसैले मानिसहरू तरकारी किन्नका लागि घरबाट बाहिर जान सकेका छैनन् । अझ बजारबाट ल्याएको तरकारी कत्तिको सुरक्षित छ भन्न सकिँदैन । त्यसैले यो बेलामा घरमा नै तरकारी उत्पादन गर्दा राम्रो हुन्छ ।
सहरी क्षेत्रमा बस्ने मानिससँग कम जमिन हुन्छ । कतिपयसँग भने जमिन नै हुँदैन । त्यस्तो अवस्थामा मलिलो कालो माटोको, कम्पोस्ट वा गोबर मल प्रयोग गरी थोत्रो जर्किन, बाटा, बाल्टिन र प्लास्टिकको प्याकेट आदिको प्रयोग गरी बिरुवा वा तरकारी उत्पादन गर्ने विधि नै कौसी तरकारी प्रविधि हो ।
कसरी गरिन्छ कौसीमा खेती ?
कौसी खेतीका लागि घरमा चामल, मैदा आदिका बोराहरूमा माटो भरेर वा चुहिएका भाडाहरूमा माटो भरेर त्यसमा बिरुवा लगाउन सकिन्छ । भान्सामा ल्याइने तरकारी लसुन, प्याज, टमाटर, साग आदिका बोक्रा पनि एक ठाउँमा जम्मा गरेर राख्यो भने त्यसलाई पनि मल बनाएर घरभित्रै व्यवस्थापन गर्न सकिन्छ ।
बिरुवा रोप्नका लागि गमला, सिमेन्टको बोरा, पुराना हेल्मेट, बाल्टी लगायत अन्य पानी नचुहिने भाडाहरू प्रयोग गर्न सकिन्छ । यस्तो खेती गर्दा माटो मलिलो बनाउनु पर्छ ।
के के उत्पादन गर्न सकिन्छ ?
कौसीमा राम्रो ठाउँ भए काक्रा, फर्सी, लौका, घिरौला, लगायत लहरे बाली उत्पादन गर्न सकिन्छ । यदि ठाउँ अग्लो उपलब्ध छैन भने गोलभेडा, टामटर, बन्दा, काउली, खुर्सानी लगायतका तरकारी उत्पादन गर्न सकिन्छ । कौसी खेतीकै लागि भनेर हिजोआज बजारमा विभिन्न प्रकारका तरकारीका बिउ स्यानो प्याकेटमा पाइन्छन् ।
कम्पोस्ट कसरी बनाउने ?
भान्साबाट निस्कने र सजिलै कुहिने फोहोरलाई एक ठाउँमा राखेर बक्सा आकारको जुनसुकै भाडोमा सजिलै गड्यौला मल बनाउन सकिन्छ र त्यसलाई कौसी खेतीमा प्रयोग गर्न सकिन्छ । तरकारी रोपिसकेपछि बिहान उठेर हातमुख धोएको पानीले तरकारी सिँचाई गर्न पुग्छ । एकदमै सामान्य तरिकाले एउटा परिवारका लागि भान्सामा तरकारीको माग हुने ३० प्रतिशतसम्म तरकारी उत्पादन गर्न सकिन्छ । हिजोआज बजारमा कौसी खेतीका लागि आवश्यक मल स्यानो पाकेटमा समेत किन्न पाइन्छ ।
समय कति दिनुपर्छ ?
कोरानाका कारण हिजोआज मानिस घरमै छन् । दैनिक रोजगारी समेत बन्द भएको छ । कौसी खेतीका लागि बिहान एक घण्टा र साँझ एक घण्टा समय दियो भने एक परिवारका लागि तरकारी पुग्छ ।
तरकारीको छनोट कसरी गर्ने ?
कौसी खेती गर्दा सुरुमा कम मिहिनेत लाग्ने र छिटो बढ्ने तरकारी रोप्नु पर्छ । मेथी, साग, खुर्सानी, धनियाँ जस्ता तरकारीबाट सुरु गर्न सकिन्छ । त्यसपश्चात् सबै किसिमको तरकारी र फलफूलहरू सजिलै फलाउन सकिन्छ ।
खर्च कति लाग्छ ?
सुरुमा कस्तो बिउ लगाउने भन्ने कुराबाट कौसी खेतीका लागि कति खर्च लाग्छ भन्ने निर्धारण हुन्छ । कौसी तरकारीमा ज्यामी लगाउनु पर्दैन । गड्यौले मल बनाउन नसके मात्र बजारको मल किन्नुपर्छ । उक्त मलको सानो प्याकेट बजारमा किन्न समेत पाइन्छ । भने बिउ विजनहरू कृषि पसलहरूमा सजिलै पाउन सकिन्छ । यदाकदा वडा कार्यालयहरुले पनि बिउको व्यवस्थापन मिलाएका हुन्छन् ।
तपाईंले निरन्तर कौसी तरकारी गर्ने हो भने फोहोर गाडीमा फाल्न पर्दैन र मासिक रूपमा फोहोर फाले बापत तिर्ने पैसासमेत बचत हुन्छ । त्यसैले यसमा खर्च भन्दा धेरै फाइदा हुन्छ । सरदर १० देखि १५ हजारमा कौसी खेती गर्न गर्न सकिन्छ । नियमित रूपमा कौसी खेती गर्नेलाई सरकारले आर्थिक सहयोग समेत गर्दै आएको छ ।