काठमाडौं । मानवअधिकार तथा शान्ति समाज रुपन्देही शाखाले भारतले गरेको नेपाली भूमि अतिक्रमणविरुद्ध बुटवलस्थित अस्पताल लाइनमा आज धर्नासहित प्रदर्शन गरेको छ ।
प्रदर्शनमा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द खनाल, रुपन्देही शाखा सभापति धनपति खनाल, केन्द्रीय सदस्य लालप्रसाद (कृष्ण) पंगेनी, अधिकारकर्मीहरु लालहरि पाण्डेय, विक्रम खड्का, अर्जुन ज्ञवाली, कपिल ज्ञवाली, धनकुमारी खनाल, कृष्ण पाण्डेलगायतको सहभागिता रहेको समाजकी कार्यक्रम अधिकृत सरिता पौडेलले विज्ञप्तिमार्फत जनाएकी छन् ।
विरोध प्रदर्शनका क्रममा लिपुलेक सडक निर्माण तत्काल रोक, लिपुलेकसहितको नेपालको नक्सा सार्वजनिक गर, नेपाली भूमि संरक्षण गर, सीमा अतिक्रमण अपराध हो, सार्वभौमिकता संरक्षण गर, नेपाल सरकार स्वेतपत्र जारी गर, भारतीय सेना कालापानीबाट फिर्ता गर, दुई देशका नागरिक स्तरको सद्भाव कायम गर लेखिएका प्लेकार्डहरु प्रदर्शन गरिएका थिए ।