काठमाडौं । मकवानपुर, दार्चुला र स्याङजामा चट्याङ लागेर ३ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । मकवानपुर, राक्सिराङ गाउँपालिका ७ धिराङस्थित मंगलबार राति चट्याङ पर्दा ४१ वर्षीय चैतसिंह प्रजाको घटनास्थलमै मृत्यु भएको छ ।
दार्चुलामा शैल्यशिखर नगरपालिका ६, तिखेधारकी विष्णु खातीको ८ वर्षीया छोरी लक्ष्मीको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो । साथै चट्याङ लागेर घाइते भएका सोही ठाउँ बस्ने ५५ वर्षीय भद्रसिंह खातीसहित अन्य ४ जनाको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै स्याङजा, बिरुवा गाउँपालिका ५, किचनासकी ३५ वर्षीया विष्णुमाया भुजेलको चट्याङ लागेर मृत्यु भएको छ । चट्याङ लागेर घाइते भएकी उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । साथै चट्याङ लागेर घाइते भएका सोही ठाउँ बस्ने अन्य दुई जनाको सोही मेडिकल कलेजमा उपचार भइरहेको छ ।