बेइजिङ । चीनको हुबेइ प्रान्त सरकारले कोभिड-१९ विरुद्ध लड्दा ज्यान गुमाएका १४ जना चिकित्सकलाई सहिद घोषणा गरेको छ ।
कोरोना महामारीको उद्गमस्थल चीनको केन्द्रीय प्रान्त हुबेइ सरकारले बिहीबार पहिलो पटक कोरोना भाइरस पहिचान गर्ने लि वेनलियाङसहित १४ जना चिकित्सकलाई सहिद घोषणा गरेको हो । उनले गत डिसेम्बरमा वुहानमा कोरोना भाइरस भएको र भर्खर सुरु भएको बताएका थिए । डा लिले विभिन्न मुलुकमा रहेमा आफ्ना सहकर्मीलाई समेत कोरोना भाइरस पत्ता लागेको चीनमा बिरामी देखिएको भन्दै सचेत गराएका थिए ।
उनलाई प्रहरीले अनावश्यक हल्ला फैलाएको भन्दै धम्कीसमेत दिएको थियो । पछि उनले कोरोना संक्रमितको उपचारक्रममा कोभिड-१९ संक्रमण भएर ज्यान गुमाएका थिए । उनीमाथि चिनियाँ अधिकारीले गरेको व्यवहारप्रति विश्वभरबाट आलोचना भएको थियो ।
चिनियाँ सामाजिक सञ्जालमा सरकारको आलोचना गर्दै स्वतन्त्रताको माग गरेका थिए । पछि सरकारले उक्त आलोचनालाई सामाजिक सञ्जालबाट हटाएको थियो । - बीबीसी