काठमाडौं । भैरहवा ग्ल्याडिएटसले क्लबमा तीन विदेशी खेलाडी अनुबन्धन गरेको छ । भैरहवाले आइतबार पत्रकार सम्मेलन गर्दै क्लबमा एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टीका लागि तीन नयाँ विदेशी खेलाडी अनुबन्धित गरेको हो ।
भैरहवाले श्रीलंकाका दुई खेलाडी अल राउन्डर जीवन मेन्डिस र बाँया हाते ब्याट्सम्यान मिलिंडा श्रीवार्दाना अनुबन्धन गरेको छ । भैरहवाले अर्का ओमानका लेफ्ट आर्म फास्ट मिडियम बलर बिलाल खानलाई क्लबमा अनुबन्धन गरेको छ । श्रीलंकाका लागि जीवन मेन्डिसले ५८ एकदिवसीय खेलमा ६३६ रन बनाएका छन् ।
मिलिंडा श्रीवार्दानाले आफ्नो अन्तरास्ट्रिय एकदिवसीय करियरमा २७ खेलमा श्रीलंकाको प्रतिनिधित्व गर्दै कुल ५१६ रन बनाएका छन् । यसरीनै बिलाल खान ओमनका अनुभवी लेफ्ट आर्म फास्ट मिडियम स्विङ्ग बलर हुन् । बिलाल खानले हालै काठमाडौँमा सम्पन्न आइसीसी लिग–२ च्याम्पियनसीप अन्तर्गत उत्कृष्ट प्रदर्शन गरेका थिए ।
यसअघि भैरहवाले वेस्ट इन्डिजका बिस्पोटक अलराउन्डर ड्वेन स्मिथलाई क्लबमा अनुबन्धन गरिसकेको छ । भैरहवाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक पुबुदु दशनायकेलाई क्लबको मुख्य प्रशिक्षका रुपमा अनुबन्धन गरेको छ ।
टिमका प्रशिक्षक दशनायकेले यो सिजन टिमले उपाधि जित्ने लक्ष्य बनाएको बताएका छन् । करिब चार वर्षका अन्तरालमा नेपाल फर्केकोमा आफू धेरै खुसी भएको बताएका छन् । उनले आफू नेपाली क्रिकेटको मायाले पुनः नेपाल फर्केको बताए ।