काठमाडौं । नर्वेको राजधानी ओस्लोमा भिजिट नेपाल २०२० साँझ सम्पन्न भएको छ । भिजिट नेपाल २०२० सचिवलाय काठमाडौं, नेपाली दूतावास डेनमार्क र एनआरएनए एनसीसी नर्वेको सहयकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा भिजिट नेपाल २०२० को प्रचार प्रसारमा खटिएका नेपाली, नर्वेमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधि, ट्राभल एजेन्सीका प्रतिनिधि, पत्रकार, सरकारी निकायका प्रतिनिधिलगायतको उपस्थिति थियो ।
नोर्डिक देशहरुका लागि नेपालका राजदूत युवानाथ लम्सालले नर्वेमा भिजिट नेपाल २०२० तथा फोटोग्राफर किरणमान चित्रकारका बाजे दीर्घमान चित्रकारदेखि चारपुस्ताले खिचेका नेपालको ऐतिहासिक तस्बिरहरुको प्रदर्शनीको औपचारिक उद्घाटन गरेका थिए ।
कार्यक्रममा स्वागत गर्दै एनआरएनए नर्वेका अध्यक्ष नयन मल्लले प्रचारप्रसारको कार्यक्रम वर्षभरि नै सक्रिय रुपमा गरिने बताएका थिए ।
भिजिट नेपाल २०२० सचिवालय काठमाडौंका कार्यक्रम प्रबन्धक रोहिणीप्रसाद खनालले २०२० भरि नेपलाका विभिन्न ठाउँमा आयोजना गरिन लागेका कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा नर्वेली नागरिक आना होलानले पनि नेपालीमा गरेको सम्बोधनले धेरैको मन खिचेको थियो । कार्यक्रममा नेपाली कलाकारहरुले नेपालको संस्कृति झल्किने विभिन्न प्रस्तुति प्रदर्शन गरेका थिए ।