site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सत्कारबाट समृद्धि
Sarbottam CementSarbottam Cement

नारायणीको हरित किनार । जीवजन्तुको बासस्थान । पन्छीहरूको मनोहर क्रिडास्थल । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र । उर्वरायुक्त हराभरा र फराकिला फाँट । लाग्छ– अन्न उत्पादनका हिसाबले यो अमरापुरी हो ।

तर, निर्धनले थिचिएका, अभावले किचिएका निम्छरा थारू समुदायको आङमा कहिल्यै पहारिलो घाम लागेको थिएन ।

दिनभरि सूर्य उदाए पनि उनीहरूको जीवनमा खुसीको आभा कहिल्यै छाएन । अर्काको अधियाँ कमाएर जहान, छोराछोरीको पेट भरिएन । र, एकधरो लुगा लगाउन पनि रहरै हुन्थ्यो ।

Prabhu Bank
Agni Group
NIC Asia

तर, विगत तीन वर्षयता भने उनीहरूको जीवनस्तर उकासिएको छ । 

विद्यालय पठाउन नसक्ने थारू समुदायका अभिभावकले बालबच्चालाई विद्यालय पठाउन थालेका छन् । पढ्नै नमान्ने, बीचमै पढाइ छाडेका (ड्रप आउट) विद्यार्थीहरू नियमित कक्षा जान थालेका छन् ।

Global Ime bank

अर्काको खेत, खोरियामा सस्तोमा श्रम, सीप र पसिना बेचिरहेका थारू समुदायका महिलाहरू आफ्नै रछ्यान, खेत खलियानमा पाखुरा जोतिरहेका छन् । उनीहरूको रछ्यानमा सागसब्जी मस्त मुस्कुराइरहेका छन् । पुस्तैनी दुःख र दरिद्रीको आहालमा चुर्लम्म चोपिएका विपन्न थारू समुदायको अनुहारमा पहारिलो घाम छाएको छ । मनग्गे आम्दानको बाटो पाउँदा उनीहरूको जीवनयापन समृद्धि–पथमा अघि बढिरहेको छ । 

हो, परासी अमलटारीका थारु समुदायको बस्तीमा अहिले उज्यालो छाएको छ । 

० ० ०

“आज अमलटारीको थारू होमस्टेमै बास बसौँ । थारू संस्कृतिको मज्जा लिन पनि पाइने, स्थानीय परिकारको स्वाद चाख्न पनि पाइने !” स्थानीय पत्रकार दीपक ज्ञवालीको आग्रहबाट हामी सुरुमै पुलकित भयौँ । होमस्टेबारे चर्चा त सुनेको तर बास बस्न भने मौका मिलेको थिएन । ज्ञवालीको अनुरोधले प्रफुल्लित तुल्यायो हामीलाई । कतिखेर पुगौँ भन्ने हुटहुटी पैदा भयो ।

परासी नवलपुरस्थित राजमार्गबाट अमलटारी होमस्टे करिब ८किलोमिटर दक्षिणमा पर्छ । शान्त एवम् सौम्य वातावरण । मध्यवर्ती सामुदायिक वनको छेउमा रहेछ होमस्टे ।

“होमस्टेमा यहाँहरूलाई स्वागत छ !” यसो भन्दा थारू युवतीहरूको अनुहारमा जूनको लाली चढेको थियो । 

बस्तीमा पाइला टेक्नेबित्तिकै अतिथि सत्कार गर्न उनीहरू तम्तयार थिए । लहरै दुई–दुई कोठा भएका २३ वटा घर । को कहाँ बस्ने, पहिल्यै निर्धारण गरिँदो रहेछ । पाहुनालाई कुनै झन्झटै नहुने । तोकिएको ठाउँमा पुग्न उनीहरूले नै सघाए ।

० ० ०

नीना चौधरी (३०) दुई सन्तानकी आमा हुन् । श्रीमान् यायावरीका लागि काठमाडौं छन् । घरमा सासू छिन्, हेरविचार उनै गर्छिन् । दुई सन्तानलाई पढाउने मात्र होइन, घरको कामको सम्पूर्ण जिम्मेवारी उनकै काँधमा छ । फुर्सद निकाल्न मुस्किल हुन्छ । यस्तो व्यस्तताको बीचमा पनि उनले ‘होमस्टे’मा आउने पाहुनाका लागि समय छुट्याएकी छन् । आगन्तुकलाई खुसी तुल्याउन उनी फरासिली भएर लागिपर्छिन् ।

“होमस्टे भएन भने त कसरी हातमुख जोर्नु । दुई टुक्रा खेतले मात्र कहाँ खान पुग्छ र ! श्रीमान्ले कमाएकोले नुनतेल किन्न पनि कठिन हुन्छ !” मुसुक्क हाँसिन् उनी ।

बान्किपूर्ण, कलात्मक र सुन्दर तथा परम्परागत तवरले बनेका घरहरू । उस्तै सफा छ बस्ती । मानौँ, यो थारू संग्रहालय हो । हरेक घरका अघिल्तिर अलग्लै आश्रय÷विश्रामस्थल । सफा र व्यवस्थित आँगन ! त्यहाँ पुग्दा आह्लादित नहुनेहरू कमै हुन्छन् ।

“पहिला बस्ती यति सफा र व्यवस्थित कहाँ थियो र ! होमस्टे बनेपछि यसको रूप फेरिएको हो,” उनले अनुभव सुनाउन थालिन्, “होमस्टेमार्फत आयआर्जनको बाटो खुलेपछि यहाँको मानिसको अनुहारै फेरियो ।” वास्तवमा सभ्यताको विकास पनि पैसाले नै गर्छ । 

मासिक ३० हजारभन्दा बढी आम्दानी गर्छिन् उनी । होमस्टे बन्नुभन्दा अघि त्यो गाउँ गरिब बस्तीको रूपमा विम्बित थियो ।

“गाउँका मानिसहरू मकै भाँचेर लैजान्छन् भनेर कुर्न बस्थे । साह्रै हेलाहाँसो सहनुपथ्र्यो,” उनी विगततिर फर्किइन् ।

तर, होमस्टे बनेपछि उनीहरू उदाहरणका पात्र भएका छन् । थोरै लगानीबाट धेरै आम्दानी गर्ने, जीवनस्तर परिवर्तन गर्नेमा दरिएका छन् ।

त्यतिमात्र होइन, विभिन्न संघ÷संस्थाका मानिसहरू उनीहरूसँग ‘होमस्टे कला’ सिक्न आउँछन् । व्यवसायबारे परामर्श माग्छन् । राय, सल्लाह र सुझावसमेत लिन्छन् । महिना दिनको अवधिमा चार–पाँचवटा समूह अमलटारी मध्यवर्ती क्षेत्र पुग्ने गर्छ । 


कसरी सुरुआत भयो होमस्टे ?

चितवन राष्ट्रिय निकुञ्जको निकटवर्ती क्षेत्र ०५३ सालमा मध्यवर्ती क्षेत्र घोषणा भयो । मध्यवर्ती क्षेत्र घोषणा भएपछि उक्त क्षेत्रको वृद्धि र विकासका लागि विभिन्न उपभोक्ता समितिहरू बने, जसअनुसार पर्सा मकवानपुरमा २३ वटा, चितवनमा १२ वटा र परासीमा ८ वटा उपभोक्ता समिति गठन भए ।

ती उपभोक्ता समितिमातहत विभिन्न महिला÷पुरुष समूह गठन भए । अमलटारीमा मात्रै ५० पुरुष र ४८ महिला समूह क्रियाशील छन् । त्यहीमध्येको एउटा पुरुष समूहले स्थापना गरेको हो— अमलटारी होमस्टे । 

चितवन राष्ट्रिय निकुञ्जको आम्दानीको २०–२५ प्रतिशत हिस्सा त्यस्ता समूह–उपसमूहमा जम्मा हुन्छ । त्यही पैसाबाट बचाएर उनीहरूले होमस्टे सुरु गरेका हुन् ।

निकुञ्जनजिकै गुन्द्रही ढकाहा सामुदायिक वन छ, जुन चितवन राष्ट्रिय निकुञ्ज अधिनस्थ पहिलो सामुदायिक वनसमेत हो । पुरुष समूहको काम त्यही जंगलमा लौरो लिएर गस्ती गर्ने पनि हो ।

नीना चौधरी सम्झिन्छिन्, “हामी लौरी लिएर वन गस्ती गथ्र्यौं । अवैध, चोरी निकासी नहोस्, रुख कटान् नहोस् भनेर वनको सुरक्षाका लागि खटिन्थौँ ।”

उजाड बन्नै लागिसकेको वन गस्तीपछि झाँगियो । हरियाली छायो । दुर्लभ वन्यजन्तु देखा पर्न थाले । चित्तल, घोरल, बाघमात्र होइन, एकसिंगे गैडाको बासस्थान पनि सामुदायिक वन बन्यो ।

वन संरक्षण गरेबापत विश्व वन्यजन्तु कोषले उनीहरूको वृद्धि विकासका लागि होमस्टे सञ्चालन गर्न केही आर्थिक सहायता प्रदान ग¥यो । कोषले ५० हजार रुपैयाँ जनही सहायता प्रदान ग¥यो । दुई लाखको लागतमा उनीहरूले सहकारी पद्धतिअनुसार होमस्टे सञ्चालनमा ल्याएका हुन् ।

होमस्टे त सञ्चालन गर्ने तर कसरी ? उनीहरूसँग कुनै जानकारी थिएन । त्योसम्बन्धी सीप र कौशल त परको कुरा ! त्यसैले उनीहरू बर्दियाका सूर्यपटुवा गाविसमा गए । त्यहाँ डल्लागाउँ होमस्टे सञ्चालनमा आइसकेको थियो । त्यहीँको होमस्टेमा गएर आधारभूत ज्ञान हासिल गरे । होमस्टे सञ्चालनमा ल्याउने तौरतरिका सिके ।

सुरुसुरुमा महिलाहरूलाई व्यवसायमा लगाउनै मुस्किल प¥यो । लजाउने, कसैसँग बोल्नै धकाउने आदि कारणले होमस्टेमा आकर्षित गराउन हम्मेहम्मे भयो । 

होमस्टे सञ्चालक समितिले उनीहरूलाई क्षमता विकाससम्बन्धी तालिम पनि दियो । त्यतिमात्र नभई होमस्टेमा आउने पाहुनालाई स्वागत–सत्कार आदि सेवा दिन उनीहरूलाई ‘हस्पिटालिटी ट्रेनिङ’ दिइयो । मीठो परिकार बनाउन कुक तालिमको प्रबन्ध मिलाइयो ।

होमस्टेमा स्वदेशी आगन्तुकमात्र आउँदैनन् । कहिले त विदेशी पाहुनाले पनि भरिभराउ हुन्छ । त्यसैले त्यहाँका महिलाहरूलाई तीन महिने आधारभूत अंग्रेजी भाषा पनि सिकाइएको छ । अब विदेशी पाहुनाका अघिल्तिर मुन्टोमात्रै हल्लाउनु पर्दैन ।

० ० ०

०७० जेठ ५ बाट होमस्टे सञ्चालनमा आएको हो । “त्यस दिन विश्व वन्यजन्तु कोषको २० औँ वार्षिकोत्सव थियो,” होमस्टेका प्रबन्धक धनीराम गुरौले प्रकाश पारे, “कोषले यहीँ वार्षिकोत्सव मनाएर होमस्टेको शुभारम्भ गरेको हो ।”

उनीहरूले अहिले सहकारी प्रणालीअनुरूप होमस्टे सञ्चालन गरिरहेका छन् । आम्दानी बराबर बाँड्छन् । कसैको घरमा बढी पाहुना बसे, खर्च गरे सम्बन्धित घरधनीको खातामा जम्मा हुन्छ ।

होमस्टे सञ्चालक समिति छ । होमस्टेसम्म पुग्न यातायातको प्रबन्धसमेत उनीहरूसँग छ । त्यसका अतिरिक्त हात्ती सफारी, सामुदायिक वनमा पैदल यात्रा, मिष्ठान्न थारू परिकार, चरा अवलोकन, माछा मार्ने आदि सुविधा होमस्टेले उपलब्ध गराउँछ । 

फुर्सदको समय नारायणी नदीको छालमा तैरिँदै बोटिङ गर्दै समय व्यतीत गर्न चाहनेहरूका लागि अमलटारी होमस्टे राम्रो गन्तव्य पनि हो । होमस्टेमा ६०० रुपैयाँ तिरे पुग्ने सुविधासम्पन्न ‘डबल बेड’को कोठा छ । उनीहरूले १२० रुपैयाँमा सादा खाना र २५० मा मासुसहितको खाना खुवाउँछन् । बिहान थारु रहनसहनमा आधारित खाजा खुवाउँछन्, जसको १०० रुपैयाँ शुल्क भुक्तान गर्नुपर्छ । त्यस्तै, राति थारू संस्कृतिमा आधारित सांगीतिक÷सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छ र पाहुनाहरूलाई तुष्ट तुल्याइन्छ ।

होमस्टेमा बस्दा निश्चित सर्त पालना गर्नुपर्ने हुन्छ । र, त्यो सर्त हरेक घरको कोठामा झुन्ड्याइएको छ । 

० ० ०

होमस्टेको मध्य भागमा थारू संग्रहालय छ । थारू जनजीवन, रहनसहन र संस्कृतिको त्यो खुला शिक्षालयसमेत हो । त्यहाँ पुग्ने जोकोहीले थारू संस्कृतिको विविध आयामको अध्ययन गर्न सक्छ ।

नेपालको पर्यटन धार्मिक, सांस्कृतिक पर्यटन हो । मुलुक त्यसको खानी हो । सयभन्दा बढी जातजातिका संस्कृति, वेशभूषालाई पुँजीकृत गर्न चाहनेका लागि अमलटारी सिकाइको केन्द्र बन्न सक्छ । 

वास्तवमै लोपोन्मुख, विपन्न जाति जनजातिको स्तर अभिवृद्धि गर्न, आयआर्जनमार्फत उनीहरूको जीवनस्तर अभिवृद्धि गर्न होमस्टेले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ भन्ने दृष्टान्त बन्न पुगेको छ अमलटारी होमस्टे ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १२, २०७३  ०७:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC