site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मुसहर बस्तीमा फक्रिएको खुसी 
Sarbottam CementSarbottam Cement

काठमाडौं । यतिबेला महोत्तरीमा घामको राप र ताप छ । प्रचण्ड गर्मीको परवाह नगरी हास्य कलाकार दम्पति सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ बर्दिबासस्थित मुसहर बस्तीमा घर निर्माणमा जुटिरहेका छन् । 

२९ डिग्री सेल्सियसको रापिलो गर्मीभन्दा उनीहरूको मनमा ज्यादा छटपटी पैदा भएको छ– ०७४ वैशाख एक गते बस्ती कसरी हस्तान्तरण गर्ने !
धुर्मुसलाई कहिलेकाहीँ लाग्छ– दिन र रात एकै भइदिए पनि हुन्थ्यो ! 

गर्मीले असिन–पसिन हुँदै कल्पना गर्छन्– सूर्यले अस्ताउन बिर्सिए कति जाती हुन्थ्यो ।

Prabhu Bank
Agni Group
NIC Asia

हतारो र छटपटिले उनलाई नराम्ररी गाँजेको छ । खाना खाने त परै जाओस्, आँखा झिमिक्क गर्नेसमेत फुर्सद नलिई उनी अहिले बस्ती निर्माणमा जुटेका छन् । बालख छोरी छोडेर कुञ्जना पनि साबेलको बिँड समाउन मुसहर बस्ती गइनै रहन्छिन् । कलाकारिता काठमाडौँमै छाडेजस्तो भएको छ दम्पतिको ।

८५ प्रतिशत निर्माण सम्पन्न
बिहीबार बिहान बाह्रखरीसँग टेलिफोनमा कुरा गर्दा धुर्मुस निकै उत्साहित थिए । आवाजमा सन्तुष्टि मिसिएको थियो । भन्दै थिए– “बस्तीको ८५ प्रतिशत काम पूरा भयो । २० दिनभित्रमै बस्ती निर्माण सकेर हस्तान्तरण गर्छौं ।” त्यसो त धुुर्मुस दम्पतिको मात्रै होइन, मुसहर समुदायमा पनि खुसीको असीमित आभा छाएको छ । 

Global Ime bank

चैतको धूपमा उनीहरू दिनरात नभनी काममा खटिएका छन् । दुई महिनाकै अन्तरालमा आँखा अगाडि नै बस्ती ठडिएको देख्दा उनीहरू हर्षविभोर भएका छन् । धुर्मुसका अनुसार अहिले बस्तीका घरहरू निर्माण सम्पन्न भई रङरोगन भइरहेको छ । भित्रि बाटाहरू धमाधम ढलान भइरहेका छन् । बस्तीको मध्य भागको भ्यू टावरको निर्माण कार्य पनि अन्तिम चरणमा गुज्रिरहेको छ ।

\"\"

“वैशाख १ गते बस्ती हस्तान्तरण गर्न कुनै बाधा छैन,” धुर्मुसको भनाइ थियो ।

सद्भावको ‘मियो’
धुर्मुसका अनुसार बस्ती निर्माणको मूलभूत दुई उद्देश्य थिए । पहिलो, धुर्मुस सुन्तली फाउन्डेसन एकीकृत बस्ती निर्माणमार्फत मुसहर बस्तीमा चेतनाका दियालो जगाउन चाहन्थ्यो । दिनहीन अवस्थाबाट गुज्रिरहेका, रोग, भोक र शोकसँग सिँगौरी खेलिरहेका मुसहर समुदायका खुसीको बिहानी ल्याउन चाहन्थ्यो । बस्तीमा सूर्यको आभा छर्न चाहन्थ्यो ।

सँगै उनीहरूको अर्को लक्ष्य थियो– उनीहरू मुसहर बस्ती निर्माणमार्फत तराई–मधेसमा एकताको मधुर सन्देश प्रवाह गर्न चाहन्थे । पहाड– तराईबीचमा बढ्न थालेको असमझदारीको खाडल पुर्न चाहन्थे । 

लाखौँ वाक्यलाई पछि पार्छ एउटा कामले ! नभन्दै धुर्मुस सुन्तलीको मुसहर बस्ती निर्माण गर्ने अठोटबाट आह्लादित नहुने कमै भए । आर्थिक, सामाजिक, भौतिक, नैतिक सहयोग गर्नेदेखि सदाशयता व्यक्त गर्नेहरू थुप्रै निस्किए ।

धुर्मुस खुसी व्यक्त गर्छन्– “यो हाम्रो एकताको प्रयास थियो । हामी उद्देश्यमा सफल भएका छौँ । मुसहर समुदायमा एकीकृत बस्ती निर्माणमार्फत हामीले हिमाल–पहाड–तराई कोही छैन पराई भन्ने भावनालाई हृदयको गहिराइसम्म पुर्‍याउन सफल भएका छौँ ।”

उनी मुसहर बस्ती सामाजिक सद्भावको ‘मियो’ भएको दाबी गर्छन् ।

खर्च बढ्यो
मुसहर बस्ती फाउन्डेसनको तेस्रो एकीकृत नमुना बस्ती हो । बस्ती निर्माणको घोषणा गर्दा कोषमा जम्माजम्मी एक करोड रुपैयाँ थियो । तर, अनुमानित लागत थियो ४ करोड ७८ लाख । दाताहरूबाट सहयोग जुटाउनै पथ्र्यो । सहयोगको हात फैलाउनै पथ्र्यो । जुट्दै गयो पनि ।

तर, बस्ती निर्माणको लागत बढ्यो । उनीहरूले सुरुआतमा ५० घर, भित्रि बाटो र एउटा सामुदायिक भवनको लक्ष्य लिएको भए पनि काम गर्दै जाँदा घरको संख्या बढ्यो, ५४ वटा घर बनाउनुपर्ने भयो । त्यस्तै, भ्यु टावर निर्माण गर्नुपर्ने भयो । जसले लागत बढाएको सीताराम कट्टेल बताउँछन् । साथै बस्ती निर्माण गर्न अझै एक करोड रुपैयाँ अपुग छ । 

“२० दिन बाँकी छ, सहयोगी हातहरू अघि बढेकै छन् । अन्तिमसम्ममा सहयोग जुट्ला नि त !,” उनी ढुक्क देखिए । 

भन्छन्, “देश–विदेशका मानिसले चासो र चिन्ता प्रकट गरिरहनु भएको छ, हामीले एक्लै कहाँ छौँ र !”

स्वयम्सेवी उत्तिकै
बस्ती निर्माण गर्न फाउन्डेसन, तोकिएका ज्यामी, मजदुर कालीगढमात्रै छैनन् । दिनहुँजसो स्वयम्सेवी पनि पुगेकै छन् । बुधबार र बिहीबार दाह्री ग्याङ, साया (साहित्यिक समूह) पुगेका थिए । सशस्त्र प्रहरीले पनि श्रमदान गरिरहेका छन् । सहकारी, विभिन्न संघ÷संस्थालगायतबाट श्रमदान गर्न जानेको संख्या पनि उत्साहजनक नै भएको कट्टेलको भनाइ छ । “दिनहुँ २०–३० जना स्वयम्सेवीहरू श्रमदानमा जुट्नुहुन्छ,” उनले सुनाए । 

चुनावको चटारो 
मुसहर गाउँमा एकीकृत बस्तीमात्र बनिरहेको छैन, चुनावको रन्को पनि उस्तै छ । श्रमदान, सहयोगको आश्वासन र एकीकृत बस्ती नियाल्ने बहानामा विभिन्न राजनीतिक दलहरू मुसहरहरूको बीचमा जान थालेका छन् । करिब दुई सय सत्तरी मतदाता रहेको मुसहर बस्तीमा प्रभाव विस्तार गर्न आउने राजनीतिक पार्टीको संख्या बढेको कट्टेल बताउँछन् । भन्छन्, “एकीकृत बस्तीले चुनावको रन्को पो थपेको छ त !”

पुख्र्यौली दुःखको दलदलमा फसेका मुसहर समुदायले नयाँ वर्षको दिन नयाँ घर पाउनेछन् । ०७४ वैशाख १ गते धुर्मुस सुन्तली फाउन्डेसनले काभ्रेको पहरी, सिन्धुपाल्चोकको गिरानचौर र बर्दिबासको मुसहर बस्ती, तीन एकीकृत बस्ती निर्माण गरी ‘ह्याट्रिक’ पूरा गर्नेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १०, २०७३  १३:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement