site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
गिरानचौरपछि मुसहर बस्ती ठड्याउँदै धुर्मुस–सुन्तली
Sarbottam CementSarbottam Cement

काठमाडौं । महोत्तरीको बर्दिबासस्थित मुसहर बस्ती अहिले बिहानैदेखि तुँवालोले टम्म ढाकिन्छ । परालको झुपडीले नथेग्ने गरी चिसो बढेको छ । हुस्सुभन्दा बाक्लो छ मुसहर बस्तीमा गरिबी, अशिक्षा र विपन्नता तुवाँलो । पुस्तौंदेखि दुःख र अभावसँग निर्मम सिँगौरी खेल्दै आएका मुसहर समुदायको अनुहारमा अहिले भने खुसीका आभा देखा पर्न थालेका छन् ।

\"\"

यतिबेला हास्य कलाकार दम्पत्ति सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ मुसहर बस्तीमा उज्यालो छर्न कम्मर कसेर लागेका छन् । सोमबार धुर्मुस–सुन्तली फाउन्डेसनले मुसहर बस्तीमा तेस्रो एकीकृत नमुना बस्तीको शिलान्यास गरेको हो । यसअघि काभ्रेको पहरी बस्तीमा २० घर र सिन्धुपाल्चोकको गिरानचौरमा ६६ घर निर्माण गरी हस्तान्तरण गरेको फाउन्डेसनले त्यस बस्तीमा ५० घर एक सामुदायिक भवन, एक मन्दिर र एक बाल उद्यानको निर्माण गर्न लागेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

एक वर्षअघि सरकारको सरसफाइ दूतका रूपमा बर्दिबास पुगेका कट्टेल दम्पत्तिले त्यहाँको मुसहरको दूरावस्था देखेपछि बस्तीको मुहार फेर्ने अठोट लिएका थिए । त्यो अठोट आगामी वैशाख १ भित्रै पूरा गरी बस्ती हस्तान्तरण गरिसक्ने लक्ष्य लिएको सीताराम बताउँछन् ।

बस्ती निर्माण सद्भावको कडी
वर्षौंदेखि तराईमा पहाडी र मधेसी समुदायबीच कायम रहँदै आएको सद्भाव खलबलिने हो कि भन्ने चिन्ता सर्वत्र बढेको छ ।

Global Ime bank

त्यसलाई निमिट्यान्न बनाउन पनि तराईमा मुसहर समुदायका लागि एकीकृत नमुना बस्ती बनाउन लागिपरेको सीताराम बताउँछन् । “यो विकास र सद्भावको अनुपम नमुना हो र समभावको पछिल्लो दृष्टान्त पनि हो,” सीताराम बताउँछन् ।

\"\"

त्यसो त बस्ती निर्माण गर्न जाजरकोटदेखि कामदार पुगेका छन् । “पहाडी समुदाय तराईमा पुगेर बस्ती निर्माण गर्दा त्यसले तराई र मधेसबीचको सद्भावमा अझै बढोत्तरी ल्याउँछ,” उनी अथ्र्याउँछन् ।

एकै दिनमा ३५ लाख संकलन
बस्तीको शिलान्यास गर्न हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) पुगेका थिए । त्यति मात्र होइन, देशका ख्यातिप्राप्त हास्य कलाकारहरूको ठूलै मेला लागेको थियो मुसहर बस्तीमा । बस्तीको शिलान्यास गर्दै महजोडीले एक लाख सहयोगको घोषणा गरे । समारोहमै अर्का कलाकार किरण केसीले १० हजार प्रदान गरे । त्यस क्षेत्रका सांसद् तथा पूर्वमन्त्री गिरिराजमणि पोखरेलले पनि सांसद् विकास कोषबाट १० लाख दिने वचनवद्धता व्यक्त गरे । जिल्लास्थित क्रसर व्यवसायीहरूले बस्ती बनाउन लाग्ने सम्पूर्ण बालुवा, रोडा, ढुंगा दिने आश्वासन दिए । तरकारी व्यवसायीहरूले एकमुष्ठ ५० हजार प्रदान गरे । त्यस्तै खानेपानी डिभिजन कार्यालयले तीन लाख बराबरको खानेपानीको धारा जडान गरिदिने प्रतिवद्धता जनायो । योसँगै शिलान्यासकै दिन ३५ लाख बराबरको सहयोग जम्मा भएको परियोजना संयोजक अर्जुन न्यौपानेले जानकारी दिए ।

\"\"

४ करोड ७८ लाख रुपैयाँ लागतमा बन्ने बस्तीको शुभारम्भ गिरानचौर एकीकृत नमुनाबस्ती निर्माणबाट बचेको १ करोड ३ लाखबाट सुरु गरिएको छ । बस्ती शिलान्यासपश्चात देशविदेशबाट सहयोगको प्रस्ताव आइरहेको कट्टेलको भनाइ छ ।

यस्तो बन्नेछ बस्ती
भुइँतलाका तीन कोठा र माथिल्लो तलामा दुई गरी जम्मा पाँच कोठाको घर बनाउने फाउन्डेसनको तयारी छ । बस्ती अपांगमैत्री र बालमैत्री हुनेछ । साथै बस्तीको मध्यभागमा मुसहरको कुल देवताको मन्दिरसहितको रुख रहेकाले सो क्षेत्रलाई संरक्षण गर्दै व्यवस्थित मन्दिर बनाउने बस्तीका संयोजक मञ्जय सदाले जानकारी दिए ।

\"\"

यसरी बन्दैछ बस्ती 
तीन महिनाको अवधिमा ५१ घर निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने लक्ष्य लिएकाले दैनिक दुई सयभन्दा बढी ज्यामी मिस्त्री खटिने कट्टेलले जानकारी दिए । जाजरकोटका २५ जना ज्यामी मिस्त्री बस्तीमा खटिइसकेका छन् भने थप १५ जना आउँदै गरेको कामदार विष्णुबहादुर सिंहले जानकारी दिए । त्यसका अलावा बस्तीकै मुसहर समुदायले प्रत्येक धुरीबाट दैनिक एकजनाको दरले श्रमदान गर्नेछन् ।

\"\"

त्यस्तै बस्ती निर्माणका लागि ‘क्विक भोलेन्टियर’ले पनि दैनिक ९÷१० जना स्वयंसेवी खटाउने संयोजक नारायण खड्काले जानकारी दिए । 

सुध्रँदै मुसहर समुदाय
मुसहर समुदायको गरिबीको कारक अभावमात्रै होइन, चेतना र शिक्षाको कमी पनि हो । ज्याला मजदुरी गरेर र दाउरा बेचेर खान पुर्‍याउने मुसहर समुदायका बालबालिका विद्यालय पढ्नै जाँदैनन् । साथै अभिभावकहरू बेलुका कामबाट फर्किएपछि टिल्ल रक्सी खाएर होहल्ला गर्ने र सबै पैसा जाँडरक्सीमै सिध्याउने गरेका कारण मुसहरको चुल्हो कहिल्यै राम्रोसँग बल्न सकेन । त्यस्तै, रोग लागेपछि उपचार गराउन अस्पताल जानुको सट्टा धामीझाँक्री र देवीदेवताको भर पर्दा अकाल मृत्यु हुने गर्छ । त्यहाँको अर्को समस्या भनेको बालविवाह पनि हो । विद्यालय नपठाउने र सानै उमेरमा बिहे गरेर पठाइदिने कारण मुसहर बालिका किशोरी अवस्थामै गर्भवती हुन अभिशप्त छन् । 

\"\"तर, विस्तारै उनीहरूमा चेतनाको स्तर उकासिँदै गएको प्रतीत हुन्छ । 

अर्काको घर आँगन, चोक बढारेर पैसा कमाउने तर आफ्नो घर फोहोरै राख्ने मुसहर समुदाय सरसफाइमा ध्यान पुर्‍याउँदैछन् ।

साथै बालबालिका विद्यालय जान थालेको मञ्जयले जानकारी दिए । अहिले त्यहाँका करिब ४० जना बालबालिका विद्यालय जान थालेका छन् । त्यसो त बस्ती निर्माणका संयोजक मञ्जयले मात्रै एसएसली उत्तीर्ण गरेका छन् । 

बर्दिबासको मुसहर बस्तीमा खानेपानीको हाहाकारै थियो । पछिल्लो समय फाउन्डेसनको पहलमा बस्तीमा खानेपानी आपूर्ति भएको छ । “पहिले त दिन माया मारेर खानेपानी लिन जानुपथ्र्यो, अहिले गाउँमै पानी आएको छ । धेरै सजिलो भएको छ हामीलाई,” स्थानीय जेठू सदाले जानकारी दिइन् ।

उनले बस्ती बनेपछि गाउँको मुहार फेरिने दुःखका दिन सकिने बताइन् । “हिजो त दुःखमा थियौं, धुर्मुस आउनुभएपछि घर बन्ने भएको छ । ठूल्ठूला सर पनि आउनुभयो । अब उहाँहरूले हामीलाई सहयोग गर्नुहुन्छ,” उनले खुसी व्यक्त गरिन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २७, २०७३  ११:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय