site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 बढ्दै गन्जागोल

मुलुकमा दुई तिहाइभन्दा बढीको सरकार । सुशासन र समृद्धिजस्ता लोकप्रिय नारालाई कण्ठस्थ गरेका सरकारका पदाधिकारी । सहयोगी प्रतिपक्ष वा सरकारी मानसिकतामा थला परेको प्रतिपक्षी दल । सबै तहको चुनाव सम्पन्न । जननिर्मित संविधान कार्यान्वयन गर्ने ऐतिहासिक अवसर । यस्तो सुनौलो मौका पाएको सरकारले सुशासनको स्पष्ट मार्ग रेखा देखाउँछ कि भन्ने नागरिक अपेक्षा यतिबेला आकाशबेलीजस्तै भएको छ । मुलुकमा गन्जागोल बढ्दै गएको छ । विगतमा दुईपटक संविधान सभा निर्वाचन, संविधान निर्माण र चारवटै तहको चुनावसँगै यसबीचका अस्थिर सरकारका कारण गन्जागोल भन्नोस् कि अव्यवस्था बढेको थियो । अब बलियो सरकार छ, उसले गन्जागोल, अव्यवस्था वा विकृति हटाउँछ भन्ने स्वाभाविक जनअपेक्षा हो । मुलुकमा विधिको शासन र सम्मान हुनुपर्छ वा हुन्छ भन्ने आमधारणा हो ।

अहिले गन्जागोल भन्नोस् कि भद्रगोल नभएको क्षेत्र खोज्यो भने भेटिन मुस्किल छ । तर यहाँ तीनवटा – आन्तरिक, विदेश नीति (कूटनीति) र समृद्धि ल्याउने आधार तहको विषयमा देखिएको भद्रगोलबारे मात्रै चर्चा गर्न खोजिएको छ । त्यसो त, उत्तर दक्षिण जोड्न रेलको बाटो, पानी जहाजमा सयर, प्रेस स्वतन्त्रताप्रति अनुदार, मानवअधिकारको धज्जी, संवैधानिक मर्मको उपेक्षा र न्यायालयको अरण्यरोदनजस्ता मानमर्दनका कैयौं विषय छन्, जसले वाणी खोजेका छन् । यस्ता सबै विषयमा यहाँ केही भन्न खोज्नु स्वयं यो प्रस्तुतिलाई नै गन्जागोलमा पार्नु हुनेछ । त्यसैले, यिनका लागि अर्को सन्दर्भ पर्खिएर उक्त तीन विषयमा जानुपर्ने भयो ।     

पहिलो आन्तरिक – शिक्षा, स्वास्थ्य, यातायात र उपभोग्य सामग्री जसले नागरिक जीवनसँग प्रत्यक्ष सरोकार राख्छन् । शिक्षाको भद्रगोल हेर्न टाढा जानै परेन, पाँच दिनअघि भएको एसईई परीक्षाको नतिजा प्रकाशनको लापरबाही नै हेरे पुग्छ । नौ हजारभन्दा बढी परीक्षार्थीको परिणाम उलटफेर भयो । एसएलसीको नाममा क्रान्ति आयो, एसईई भयो । अनुत्तीर्ण वा फेल शब्द विस्थापित भयो तर परिणाम त उस्तै – एक लाखभन्दा बढी विद्यार्थीले कुनै विषय वा कहीँ पनि पढ्न र भर्ना हुन नपाउने नै भए । आखिर फेल नभएको, पास भन्ने शब्द लेखेर ती विद्यार्थीले पाए के ? उही वैदेशिक रोजगारी ? 
अर्कोतर्फ हालै माध्यमिक शिक्षाको पाठ्यक्रममा विज्ञान र हिसाबजस्ता विषयलाई ऐच्छिक बनाइएबाट शैक्षिक क्षेत्रमा उत्पन्न चिन्ता र असन्तुष्टिलाई शिक्षामन्त्रालयले परीक्षण भनी जवाफ दिएको छ । यसमा राजनीतिक र आर्थिक स्वार्थ के, कति छ ? कहिलेसम्म शिक्षा क्षेत्रलाई परीक्षणको बन्दी बनाई राख्ने हो  ? फर्किएर हेर्ने हो भने शिक्षामा जस्तो परीक्षण र अस्थिरता अन्यत्र बिरलै छ । नेपाली युवाले साधन र मौका पाए वैज्ञानिक विषयमा प्रतिस्पर्धा गर्नसक्ने खुबी देखाएका छन् ।  विज्ञान आफ्नोमात्रै विषय ठान्ने विदेशीको इसारामा नेपाली विद्यार्थीको प्रतिस्पर्धी क्षमतालाई नियन्त्रण गर्न विज्ञान र गणितलाई ऐच्छिक बनाइएको दाबी केही शिक्षाविद्को छ । मन्त्रालयको जबाफ सुन्दा त्यस्तो दाबी सत्यको नजिक लाग्छ । राजनीतिक र आर्थिक स्वार्थका लागि बेला कुबेला शैक्षिक बन्द, हडताल गराइन्छ । कलिला विद्यार्थीको भविष्यमाथि खेलबाड गरिन्छ । महँगो शिक्षाले न्यून आय रहेका अभिभावक आफ्ना बच्चाबच्चीलाई राम्रो र उच्च शिक्षा दिन नसक्ने दुःखदायी अवस्थामा छन् । सामुदायिक शैक्षिक प्रतिष्ठानमा स्तर छैन । यतिविघ्न लापरबाह, अस्थिर, धनअनुसार र विकृत शिक्षा क्षेत्र विद्यार्थी पुस्ताका लागि र अन्ततः मुलुककै लागि खतराको संकेत हो ।

Prabhu Bank
Agni Group
NIC Asia

स्वास्थ्य क्षेत्रको गन्जागोलबारे धेरै बोल्नै परेन । वर्षौँदेखि डा.गोविन्द केसी मागपत्र सहित यस क्षेत्रको माफियाकरण (?) विरुद्ध संघर्षरत छन्  । थेग्नै गाह्रो उपचार खर्च, चिकित्सक, प्रयोगशाला र औषधिको शुल्क सामान्य नागरिकको हैसियतभन्दा बाहिर छ ।  त्यसमाथि बिरामीलाई निजी अस्पताल, क्लिनिक, ल्याब र नर्सिड्.होमतिर तान्ने सिन्डिकेट प्रणाली बिरामीको ढाडै भाँच्ने प्रकारको छ ।  

यातायात साधन सञ्चालकको मनपरी अनियन्त्रित नै छ । सिन्डिकेट हटाइएको सगर्व उद्घोषपछि पनि यात्रुको सुविधा र शुल्कमा कुनै सहुलियत छैन । भद्रगोल र मनपरी ज्युँका त्युँ छ । कोचाकोच, उनै थोत्रा बस,यात्रुसँग अशिष्ट व्यवहार र कर्कश हर्न जस्ताको तस्तै छन् । कुनै पनि सेवाको एकाधिकार वा सिन्डिकेट हटाइनु राम्रो हो तर थप अराजकता नहोस् भन्ने सजग प्रयास नभए हालत अहिलेजस्तो हुने रहेछ । हटेको सिन्डिकेट पछि कति यातायात संस्था समितिबाट कम्पनीमा रूपान्तरण भए वा कति नयाँ दर्तामा आए ? यसबाट सरकारलाई कति राजस्व नाफा भयो र भयो के ? यस्ता जिज्ञासाको जबाफ आएको छैन । बरु दुर्घटनाका घाइतेलाई समितिले गर्दैआएको उपचार खर्च रोकिएको छ र पीडित थप मर्कामा पर्ने स्थिति छ । 

Global Ime bank

रह्यो उपभोग्य सामग्री । गुणस्तरीय के, स्तरीय पनि छैनन् भन्ने जानकारी बारम्बार सार्वजनिक भएकै छ । स्तरहीन, अखाद्य वस्तुको मिसावट, त्यसमाथि थप महँगो । विषादीले भरिएको तरकारी । त्यसमा पनि बिचौलिया (फौबञ्जार) को मनपरी । के सस्तो छ र तरकारी सस्तो हुनु ? महँगो तरकारीको पैसा फौबञ्जारको खल्तीमा । न उत्पादक किसानले उचित दाम पाए, न उपभोक्ताले सस्तोमा किन्न नै पाए । दूध त्यस्तै प्रदूषित । यस्ता क्षेत्रमा छापामार शैलीका अनुगमनको हल्लीखल्ली भए, आदेशहरु पनि चर्चित बने तर अहिलेसम्म परिणाम  सकारात्मक पाइएको छैन । कतै चिया गफमा सुनिए जस्तो – हुँकारका साथ अनुगमन र छापा, लाभका साथ परिणाम निहुरीमुन्टी न, अर्थात् हात्ती आयो, हात्ती आयो ...फुस्सा, जस्तो ।  

दोस्रो, विदेशनीति । पारम्परिक र संवैधानिक प्रावधानअनुसार नेपालको विदेशनीति असंलग्न र पञ्चशीलमा आधारित छ, भनिन्छ । शीतयुद्धकालीन विश्व परिवेशमा स्थापित असंलग्न आन्दोलनको सदस्य पनि हो नेपाल । भग्न अवशेष शीतयुद्ध, बहुध्रुवीय दुनिया र अहिलेको खुला विश्व परिवेशमा विदेशनीति सञ्चालनका ती पारम्परिक सूत्रको सान्दर्भिकता वा तिनमा परिमार्जनको के,कति आवश्यकता छ ? यस विषयमा निष्कर्ष दिने काम असंलग्न वा वैश्विक कूटनयिक क्षेत्रको हो । तर कूटनीतिको ध्यान पनि खुला अर्थतन्त्रको वरिपरि अर्थ, व्यापार र बजारमुखी भएको छ, राजनयिकलगायत अन्य विषय गौण र अर्थबजार प्रमुख भएको छ । उदाहरण –भारत र चीनलाई डोकलाम्ले होइन,बजार – ब्यापारले जोडेको छ । 

परम्परा र यो सरकार बनेदेखि उत्तर, दक्षिण समदूरी वा सन्तुलित सम्बन्ध भनिदै आएको छ । यतिका दिनसम्म ध्यान पनि यसैमा केन्द्रित गरियो । समदूरी र सन्तुलित सम्बन्धको परिभाषा र परिभाषालाई प्रभावित पार्ने विषय जे होलान् तर भारत र चीन केन्द्रित हाम्रो अहिलेको परराष्ट्र नीतिले असंलग्न नीतिलाई प्रतिविम्बित गर्दैन, अपितु छिमेक केन्द्रित वा दुई देशवेष्ठित उद्बोध गर्छ । यस कारण अहिलेको हाम्रो परराष्ट्रनीति अन्य शक्ति राष्ट्र र दुनियासँग पृथक जस्तो महसुस गर्न थालिएको छ । हामीले घोषित, अघोषित छिमेकका दुई शक्ति वेष्ठित विदेश नीति अवलम्बन गर्दा वाह्य दुनियाले हामीलाई पनि त्यही दृष्टिले हेर्ने र पहिचान बन्ने खतरा छ । विदेशनीतिमा यस्तो अन्योल चिर्नु हाम्रा लागि जति जरुरी छ  दुनियासँगको सानिध्य बचाइ राख्नु शाक्ति वा समृद्धिका लागि त्यति नै जरुरी  छ । 

बाँकी रह्यो समृद्धिको आधार तह । स्थानीय तह नै समृद्धिको आधार तहसमेत हो । समृद्धि कसका लागि ? स्पष्ट उत्तर हुन्छ – सीमान्त र भुइँ वर्गीय न्यून अवसर पाएका परिवारका लागि । त्यो वर्ग प्रायः गाउँको दूरदराजमा बस्छ, ती क्षेत्र स्थानीय तहमा नै छन् । यस कारण समृद्धिको कार्यक्रम र स्रोत विभाजन स्थानीयतह केन्द्रित हुनुपर्ने थियो । तर, त्यस्तो नभएको गुनासो ती तह र प्रदेशहरुबाट आएका छन् । मूलतः अधिकार र स्रोत विकेन्द्रित हुने अवधारणाको संघीय संरचनामा सरकारी व्यवहार केन्द्रीकृत र अनुदार भएकोे छ । अहिलेसम्म कर्मचारी व्यवस्थापन स्पष्ट छैन र  अवस्था  उत्साहजनक देखिएन । यही कारण सिंहदरबारको अधिकार होइन, विकृति चाहिं गाउँ पुग्यो भन्न थालिएको हो । 

संघ सरकारले मौद्रिक, राष्ट्रिय सुरक्षा, आन्तरिक र वाह्य सीमा, परराष्ट्र नीति, ठूला वा राष्ट्रिय आयोजना, केन्द्र, प्रदेश र स्थानीय तहबीचको ठूला र राष्ट्रिय प्रभाव राख्ने स्रोतहरूको बाँडफाँट, संरक्षण क्षेत्रलगायतका  विषयमा अनुगमन, निर्देशन, सन्तुलन र कतिपय विषयमा नियन्त्रण गर्ने अधिकार स्पष्टताका साथ आफूमा सुरक्षित गरिनुपर्छ । बाँकी संविधान निर्धारित अधिकार स्थानीय तहमा प्रक्षेपित हुनुपर्छ । तर, क्रमशः स्पष्टताभन्दा अव्यवस्था बढ्दो छ । अहिले थपिएको गन्जागोल निवारणमा खासै प्रयत्न नहुनु सरकारको लागि लाजमर्दो लाग्नुपर्ने हो । अर्कोतर्फ हामी चार तहमा विभक्त छौँ । केन्द्र, प्रदेश, जिल्ला र स्थानीय । यी सबै तहको अधिकार र स्रोतमा पहुँच जरुरी छ । चार तह संविधानमा नै व्यवस्था गरिएको हो । सबैभन्दा अन्योलमा जिल्ला समन्वय समिति परेको छ । पचहत्तरबाट सतहत्तर पुर्याइएको जिल्लाको अधिकार र औचित्यको पुनव्र्याख्या हुन यस कारण जरुरी छ कि त्यसको अस्तित्व संवैधानिक  छ । 

उल्लिखित कतिपय कुरा वर्तमान सरकारको मात्रै उपज होइनन् । यिनै राजनीतिक दलहरुले राज्य सञ्चालन गर्दै आएका बखतको उपहार र उत्तराधिकार पनि हुन् । तर अहिले सरकार बलियो छ र सुधारका सूचकहरु स्थापित भइसक्नु पर्ने थियो । त्यसो भएन, ‘सुकिदे भन्दा फुकिदे...’ भनेजस्तै गन्जागोल थपिन गयो । समयमै गन्जागोल हटाउन सकिएन भने समृद्धिको सपना  टाढिन्छ र संविधान कार्यान्वयनको बाटो पनि अप्ठ्यारो, अवरुद्ध बन्नसक्छ ।                                    

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १४, २०७५  ०७:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC