site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
लुडो लडाकुहरू

फाइँफुट्टीराज लामो समयको अन्तरालपछि झुल्किँदा पाठकहरूले देखाएको सद्भाव देखेर भावुक भयो । यतिसम्म कि, उसका दुवै घुँडाबाट धर्धरी आँसुका धारा बगे । 'रेनवाटर हार्भेस्टिङ’ भनेजस्तै 'टियर हार्भेस्टिङ’ गर्न सकेको भए फाफुराको वर्ष दिनको पानीको समस्या समाधान हुन्थ्यो होला । उसै त फाइँफुट्टीराज, अब उसलाई कसले छुने ? उसको घिरौंलाजस्तो नाक फुलेर लौकामा परिणत भयो । नाकका पोहराहरूको झन् के कुरा गर्नु, ती त काठमाडाैं–हेटौँडा सुरुङमार्गको प्रवेशद्वार जत्रा भए ।

तर, त्यो प्रसन्नता सँगसँगै एउटा तनाव पनि भयो फाफुरालाई । अबको पालो के भनेर हाँक्ने त फाइँफुट्टी ?  निकै बेर गमेपछि सरकारमा गएको पार्टीलाई आफ्नो घोषणापत्र जसरी उसलाई पनि आफ्नो एउटा पुरानो बानीको झलक्क सम्झना भयो । ऊ फाइँफुट्टी फुरेन भने रत्नपार्क जाने गर्थ्यो र घाममा मस्तसँग टोपीले मुख छोपेर सुत्थ्यो । त्यसपछि चाइनाबाट रेल आएको भन्दा द्रूत गतिमा फाइँफुट्टी हाँक्ने विषय फुर्न थाल्थे । यो रामवाण ओखतीले आजसम्म काम नगरेको रेकर्ड नै छैन । 

त्यसैले लामो समयपछि फाफुरा आफ्नो प्रेरणाको खानीतिर लाग्यो । तर, पहिलेको रत्नपार्क अहिले त अर्कै पो भइसकेछ । लोकदोहोरी गीतका म्युजिक भिडियो बनाउनेहरू नाच्दानाच्दा त्यहाँका घाँसको नामनिसानै बाँकी रहेनछ । कुरुप भइसकेको रहेछ रत्नपार्क । हुनत त्यसको गणतान्त्रिक न्वारान शंखधर शाख्व उद्यानको रूपमा भइसकेको छ क्यार । फाफुरालाई प्रतिगामीको आरोप नलागोस् । न्वारान नयाँ गरेपछि मर्मत र सम्भार पनि गरिदिएको भए कति गजब हुन्थ्यो होला बीच सहरको त्यो सुन्दर थलो । त्यहाँको दुर्गति देखेर फाफुरालाई डाँको छोडेर रून मन लाग्यो । हुन त यो सुन्दर सहर नै पूरै विरूप बनाइसकेका छौँ हामीले । बरो रत्नपार्क एउटा यो महान् परिवर्तनको गौरवशाली प्रक्रियाबाट आफूलाई कसरी अछुतो राखोस् र ?

Prabhu Bank
Agni Group
NIC Asia

जतिसुकै वैराग लागे पनि फाफुराले बल्लबल्ल आफ्नो खिरिल्लो ज्यान पसार्ने ठाउँ भेट्टायो र बूढानीलकण्ठ जसरी लमतन्न पर्‍यो, अनि टोपीले मुख छोप्यो । तर, चारैतिरका कर्कश ध्वनिका कारण उसलाई पहिले जस्तो निन्द्रा कहाँ लाग्नु ? यै तालले त कुनै फाइँफुट्टी फुर्ने भएन भनेर फाफुरा विद्यानाश काठमाडाैंको लागि विद्यासुन्दर जत्ति नै चिन्तित भयो । बल्लबल्ल के आँखा लाग्न लागेको थियो, त्यही बेला अलि पर कोही निकै ठूलो स्वरमा करायो,
'छक्का ...' 

लौ मार्यो ! स्टेडियम नभएकोले नेपाली राष्ट्रिय टोलीका भाइहरु यतै पो आएर क्रिकेट अभ्यास गरिरहेका रहेछन् र पारस खड्काले छक्का हानेछन् भनेर फाफुरा सतर्क भयो । त्यो बलले आएर आफ्नो निधारमा टुटुल्को उठाउला भनेर ऊ जोन्टी रोड्सको जस्तै फूर्ति प्रदर्शन गर्दै उठ्यो र चारैतिर हेर्‍यो । तर, कोही क्रिकेट खेलिरहेको देखिएन । फेरि एकातिरबाट त्यही आवाज आयो — 'छक्का..'

Global Ime bank

फाफुराले मुन्टो त्यतै फर्कायो । चौरमा अलि पर चार-पाँचजना झुरुप्प परेर बसेर निहुरिएर केही गर्दै रहेछन् । त्यहीँबाट कुनै एक जना कराइरहेको रहेछ । फाफुरालाई कौतुहल भयो र ऊ त्यतै बढ्यो । उनीहरु सिङ नै एकअर्कासँग जोडिए जसरी निहुरिएका थिए । मुस्कीलले ती टाउकाहरुको चिराबाट फाफुराले चिहाएर हेर्‍यो । उनीहरुको बीचमा एउटा मोबाइल फोन उत्तानो परेको थियो र त्यसमा उनीहरु लुडो खेलिरहेका रहेछन् ।

वाह, रामकृष्ण ढकाललाई जिन्दगीले कहाँबाट कहाँ पुर्‍यायो भनेजस्तै प्रविधिले पनि हामीलाई कहाँबाट कहाँ पुर्‍याइसकेछ । न बोर्ड बोक्न पर्‍यो, न गोटी । न हल्लाउनु पर्‍यो, न गुडाउन । बीचमा एउटा मोबाइल राख्यो, पालो आएपछि टुच्च थिचिदियो, डल्ला पनि आफैं घुम्ने, दाउ पनि आफैँ लाग्ने र गोटी आफैँ चलेर पुग्नुपर्ने घरसम्म पुगेर रोकिने । ठ्याक्कै हाम्रो देशको राजनीति जस्तो । खेलाडीलाई हाइसन्चो, सबै थोक बटन थिच्नेले नै गर्दिने । 

एकैछिन त्यो उत्तर आधुनिक लुडोको आनन्द लिएर फाफुरा फेरि आफ्नै स्थानमा फर्कियो । अरु बेफुर्सदी र व्यस्त मान्छेहरु अझै त्यो खेल हेरिरहेका थिए । फाफुरालाई त फाइँफुट्टी फुराउनु थियो, त्यसैले ऊ फेरि टोपीले मुख छोपेर त्यही मोबाइल जसरी उत्तानो पयो । आज फाफुरालाई केही फुर्न नदिने किरिया खाएजसरी, फेरि लुडो खेलाडीहरु हल्ला गर्न थाले । ऊ झसंग भयो । 

अब चाहिँ उनीहरु ठूलोठूलो स्वरमा बाझ्न थालेका थिए । अरु झगडा हेरेर रमाउनु त हामी नेपालीहरुका लागि सबैभन्दा बढी रुचिकर विषय र जन्मसिद्ध अधिकार हो । त्यो अधिकारको पू्र्ण उपभोग गर्दै त्यहाँ निकै मानिस जम्मा भइसकेका थिए । फाफुरा पनि थपियो । उसले देख्यो, खेलाडीहरु एकआर्कालाई तथानाम गाली गर्दै थिए । उनीहरुको शरीरको पोजिसन अब लुडोबाट मार्सलआर्ट खेलाडीमा परिवर्तन भइसकेको थियो । हात चलिसकेको त थिएन तर मुखबाट एकअर्काका लागि घरघरमा मेलम्चीको पानी झरेजसरी अति सुन्दर शब्दहरु बगिरहेका थिए । ती शब्दहरु कुनै उपन्यासकारले सुहाउँदो पात्रको लागि लेख्यो भने नैतिकताका ठेकेदारहरुले उसलाई डाँडा कटाउनमात्र बाँकी राख्थे होलान् । फाफुरा चाहेर पनि यहाँ त्यो लेख्न सक्तैन । 

तीमध्येको एउटा सबैभन्दा लुरे चाहिँ कमिजको बाहुला माथि सार्दै कुर्लँदैथ्यो — म त टूँ...। साथी पनि भन्दिन, दाइ पनि भन्दिन । म टूँ ...लाई त रिस उठ्यो भने जोकोही टूँ ... लाई पनि ठुन्क्याइदिन्छु । हद से हद दुईचार महीना टूँ ... जाने त हो ! पहिले नगएको ठाउँ हैन क्यार टूँ ... के मतलब ? टूँ ... दुईचार लाख धरौटी राखेर टूँ ... निस्कन नसक्ने हैसियत नभा’ मान्छे हैन टूँ .. म ।

केही बेर ती वीर लडाकु योद्धाहरुको कुरा सुनेपछि फाफुरालाई थाहा भयो, उनीहरु पैसा बाजी थापेर लुडो खेलिरहेका रहेछन् । एकजनाले सबैको पैसा भिरन्ची लिएर राखेको रहेछ । केही राउन्ड खेल भएपछि कसले कति हात मारेको र कसले कति पाउनुपर्ने भन्ने कुरामा विवाद सुरु भएको रहेछ । दुई सय रुप्याँको कुरा मिलेनछ । भिरन्ची राख्ने अलि पाको उमेरका मानिसलाई एउटा भन्दै थियो, — ’मैले तीन हात मारेको छु, अरु कुरो थाहा छैन, मलाई छ सय रुप्याँ खुरुक्क दिनुस् ।’

लुरे ती पाका मानिसलाई खाउँलाझैँ हेरेर बम्कियो — ’कसरी मारेको छ त्यो टूँ ... ले तीन हात ? चार सयभन्दा बढी दिने हैन, नत्र राम्रो हुन्न, भन्द्या छु । ’ 
त्यो पाको मानिस घरि एउटालाई घरि अर्कोलाई रुन्चे मुख लगाएर हेर्दै थियो । चार सयवाला र छ सयवाला मातेको राँगो जसरी एकर्कातिर अग्रसर हुन खोज्दै थिए । अर्को एकजना चाहिँ फुटबलको रेफ्री जस्तो पालैपालो दुवैलाई घच्याडेर दर्शकहरुलाई मल्लयुद्धको आनन्द लिनबाट वञ्चित गराइरहेको थियो । गठबन्धनमा चुनाव लडेर मन्त्रीमण्डल बनाउने बेला भागबन्डा नमिलेर जुध्ने दलहरुजस्तै भिडिरहेका थिए लुडो लडाकुहरु । कुरो सुन्दा दुवै पक्ष आआफ्नो ठाउँमा ठीकै लाग्थे । तर, मध्यमार्गमा दुवै सहमत भइरहेका थिएनन् । 

फाफुराको छेउमा उभिएको एउटा हेर्दै दार्शनिकजस्तो मानिस आफैसँग बोल्यो — ’यो सब जुँगाको लडाइँ हो अरु केही हैन । ’

फाफुराले उसलाई कौतुहल भरिएको आँखाले हेर्‍यो । ऊ पनि फाफुरालाई हेरेर गम्भीर स्वरमा बोल्न थाल्यो — ’आफू सही र अरु गलत । अहिलेको हामी सबैको साझा समस्या हो मित्र । लुडोको कुरा मात्र हैन, यहाँको कुरामात्र हैन । संसार भरको समस्या यही हो बन्धु । मान्छेले कहिलेकहीं अरुको कुरा पनि सही हुन सक्छ भनेर मानिदिए यो संसारका धेरै समस्या आफैँ समाधान हुन्थे । ’

फाफुरा गम्भीर भएर उसलाई हेर्दैथियो, उसले फाफुराको हात समातेर हल्लाउँदै भन्यो — ’नाइस मिटिंग यु । सी यु अगेन ।’

अनि बिनापरिचयको आत्मीयता देखाउने त्यो दार्शनिक फरक्क फर्केर गयो । ऊ आफ्नै सुरमा एक्लै केही बोल्दै थियो । फाफुरा पनि अब फाइँफुट्टी हाँक्ने विषय वसन्तपुरतिर खोज्न जानुपर्ला भन्दै हिंड्यो । अलि पर गएर फर्केर हेर्दा लुडो लडाकुहरु मुख थाकेकोले हात र खुट्टा प्रयोग गर्न थालिसकेका रहेछन् । तै पनि उनीहरुको मुखबाट बीचबीचमा निस्किरहेको थियो — ’टूँ ...। टूँ ... । फलान्थोक् .. टूँ ...’।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २२, २०७४  १०:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC