site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
जोखिमयुक्त ग्याँस प्लान्ट र पेट्रोल पम्प

गत साता वीरगन्ज महानगरपालिकामा रहेको सुपर ग्यास उद्योगको प्लान्टमा भएको भीषण आगलागीका कारण चार जनाको ज्यान गयो ६ जनाभन्दा बढी गम्भीर घाइते भए । आगो नियन्त्रण गर्न वारुणयन्त्रसहित गएका २ जना कर्मचारी र वारुणयन्त्र नै आगोमा परेको भनिएको छ ।  उक्त ग्यास उद्योग नजिकै रहेको एउटा गाउँ नै खाली गरिएको थियो । आगालागी सुरु भएको करिब आठ घन्टापछि आगो नियन्त्रणमा आएको थियो । वीरगन्जमा भएको उक्त आगालागीपछि अहिले ग्यास प्लान्ट तथा पेट्रोल पम्प रहेको क्षेत्रमा एक प्रकारको त्रास फैलिएको पाइन्छ । साथै ग्यास प्लान्ट तथा पेट्रोल पम्पमा आगलागीको जोखिम कम गर्न अनिवार्य व्यवस्था गरिनुपर्ने आगो निभाउने साधन (अग्नि नियन्त्रक यन्त्र तथा सामग्री ) प्रति पनि शंका गर्न थालिएको छ ।  

ग्यास प्लान्ट तथा पेट्रोल पम्पमा आगालागी नियन्त्रण लागि आवश्यक पर्ने सामग्रीको अनिवार्य व्यवस्था गरिनुपर्छ । त्यस्ता आगो निभाउने यन्त्र वा सामग्रीको ग्यास प्लान्ट तथा पेट्रोल पम्पमा काम गर्ने सबै तहका कर्मचारी तथा कामदारले प्रयोग गर्ने तरिका सिक्नुपर्छ तथा हरेक ६ महिना वा प्रत्येक वर्ष आगो निभाउने यन्त्र वा सामग्रीको प्रयोग गर्ने अभ्यास गर्नुपर्छ ।

आगो निभाउने साधन प्रत्येक वर्ष वा केही निश्चित् अवधिमा परीक्षण गरेर त्यसको समयावधि अङ्कित गर्नुपर्छ । नेपालमा कतिपय पेट्रोल पम्पमा आगो निभाउने साधनसमेत देखिँदैन, भएको ठाउँमा पनि पुरानो भएको (सायद पम्प स्थापना गर्दा राखेको हुनुपर्छ), धुलोले ढाकिएको र नचल्ने अवस्थामा देख्न सकिन्छ । साधारणतया आगलागीको सुरु सानो झिल्कोबाट हुन्छ । उक्त झिल्कोलाई समयमै नियन्त्रण गर्न वा निभाउन सकियो भने ठूलो जनधनको नोक्सानबाट जोगिन सकिन्छ ।  ग्यास प्लान्ट र पेट्रोल पम्पहरुमा अनिवार्यरूप आगो निभाउने साधन तथा यन्त्रको व्यवस्था भयो र त्यहाँ कार्यरत सबै कर्मचारीले आगो निभाउने साधन तथा यन्त्रको प्रयोग गर्न सक्ने हो भने आगोलाई समयमै नियन्त्रण गर्न सकिन्छ ।

नत्रभने आगोको सानोरूप देख्दा पनि केही गर्न नसक्ने अवस्था आउँछ र वारुणयन्त्र आउने बेलासम्म आगो नियन्त्रणभन्दा बाहिर गइसकेको हुन्छ । ग्याँस प्लान्टहरूको धुवाँ संसूचक (धुवाँ आयो भने साइरेन बज्ने खालको) हरू प्रशस्त मात्रामा राख्नुपर्छ । यसले गर्दा प्लान्टभित्र काम गरिरहेका मानिस समयमै सुरक्षित स्थानमा पुग्नसक्छन् । आगलागीको जोखिम कम गर्न धुवाँ आउनासाथ वा आगो लाग्नासाथ सूचना चेतावनी दिने सामान्य यन्त्र विश्वभर प्रचलित छ र आर्थिक हिसाबले पनि त्यति महँगो पर्दैन अनि प्राविधिक हिसाबले पनि सरल हुन्छ ।

आगो नियन्त्रण गर्न वारुणयन्त्रसहित गएका २ जना कर्मचारी र वारुणयन्त्र नै आगोमा पर्नुले के प्रष्ट पार्छ भने आगो नियन्त्रण गर्ने निकायकै कर्मचारी पनि तालिम प्राप्त छैनन् । उनीहरुलाई कस्तो स्थानमा लागेको आगोलाई कसरी नियन्त्रण गर्नुपर्छ र के कस्ता सुरक्षाका उपाय अपनाउनुपर्छ त्यसको जानकारी छैन । साथै आगो नियन्त्रण गर्ने कर्मचारीको सुरक्षालाई आवश्यक पर्ने विशेष प्रकारका कपडा, जुत्ता, हेल्मेटआदि साधन पनि उपलब्ध नभएको देखिन्छ, सुनिन्छ । विकसित देशहरूमा पहिलो प्राथमिकतामा सुरक्षा, दोस्रो प्राथमिकता सुरक्षा र तेस्रो प्राथमिकता सुरक्षा भनेर काम गर्ने गरिन्छ । नेपालमा जस्तोसुकै जोखिमयुक्त कार्य गर्दा पनि सुरक्षाका आधारभूत कुरालाई पनि बेवास्ता गरिन्छ । फलस्वरूप, बर्सेनि धेरै जनाको ज्यान जाने गर्छ । 

मापदण्डअनुसार ग्यास उद्योग बस्तीबाट १ किलोमिटर टाढाको दूरीमा हुनुपर्छ । धेरै स्थानमा गाउँ तथा सहरकै बीचमा ग्याँस प्लान्ट संचालन गरेको पाइन्छ । सञ्चालित ग्यास उद्योगले आगो नियन्त्रणका लागि अग्नि नियन्त्रक (फायर फाइटिङ मेसिन), फायर कुलिङ र वाटर कुलिङ्गको व्यवस्था गर्नुपर्ने अनिवार्य गरिएको भए पनि कार्यन्वयन गरेको पाइँदैन । बनेपा क्षेत्रमा नजिक नजिकै ३-४ वटा ग्यास प्लान्ट देख्न सकिन्छ । एउटा प्लान्टमा कदाचित आगो लागेमा सारा गाउँ वा सहरको ठूलो क्षेत्रनै सखाप हुने र ठूलो जनधनको क्षति हुने जोखिम यसले बडाएको छ ।

काभ्रेको साँगामा स्पाइनल पुनर्स्थापना केन्द्र (रिह्याव सेन्टर) छ जहाँ उपचार गर्नेहरु सजिलै यताउति गर्न सक्दैनन् । त्यससँगै ठूलो ग्यास उद्योग छ । त्यसकारण  ग्यास उद्योगसँगै अस्पातल /पुनर्स्थापना केन्द्र वा अस्पातल / पुनर्स्थापना केन्द्रसँगै ग्यास उद्योग संचालन गर्न अनुमति दिन मिल्छ ? ग्यास उद्योगमा कुनै दुर्घटना भएमा यसबाट हुने क्षतिको आकलन गर्नु पर्दैन र ? प्रष्ट रूपमा ठूलो जोखिम देखिन्छ । त्यस्तै संसारमा कतै पनि पेट्रोल पम्पहरू घनाबस्ती तथा बजारको बीचमा राखिँदैन । काठमाडौं वा अन्य सहरमा खोलिएका बिना मापदण्डका पेट्रोल पम्पमा  आगो लाग्यो भने त्यसले अकल्पनीय स्थिति ल्याउन सक्छ । यसलाई राज्यका सम्बन्धित निकायले बेवास्ता गरेका छन् ।

भूमिगत पानी निकालेर बिनापरीक्षण र प्रशोधन पिउने पानीकोरूपमा प्रयोग गर्ने प्रचलन भएको स्थानमा त झन् ग्यास प्लान्ट बस्ती नजिक राख्नै हुँदैन । यसबाट अर्को जोखिम पनि हुन सक्छ त्यो हो ग्याँस प्लान्टको ट्यान्कीमा रसायनिक पदार्थको चुहावट भूमिगत पानीमा मिसिन सक्ने । सामान्यतया बिनापरीक्षण थाहा नपाइने मात्रामा रसायनिक पदार्थ चुहावट भई पानीमा मिसिएको हुनसक्छ जुन पानीको प्रयोगले विशेषगरी बालबालिकामा ठूलो असर पर्न सक्छ ।

अरु विपद्का तुलनामा आगलागीले गर्ने भौतिक क्षति धेरै हुन्छ भनिन्छ । राज्यले विगतमा आगालागीलाई विपद्को रूपमा लिएको थिएन । सन् २०१० मा नेपाल सरकारले आगोबाट हुने जोखिमलाई नियन्त्रण गर्न निर्देशिका जारी गरेको छ ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रत्येक २० हजार जनसंख्यालाई १ अग्निनियन्त्रक र २८ हजार जनसंख्यालाई १ वारुणयन्त्र चाहिन्छ । तर, करिब ३५ लाख जनसंख्या भएको काठमाडौं उपत्यकामा १० वटा वारुणयन्त्र (दमकल) पनि तयारी अवस्था छैनन् । अहिलेका धेरै नगरपालिकामा वारुणयन्त्र (दमकल) नै छैन । उदाहरणको लागि ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा आगो लागेमा इलाम वा झापाबाट वारुण यन्त्र मगाउनुपर्छ र इलामबाट फुङ्लिङ पुग्न कम्तीमा ५-६ घन्टा लाग्छ । यस्तो अवस्था नेपालका अधिकांश नगरपालिकामा छ ।  आगो निभाउन प्रयोग गर्नुपर्ने फोम नामको रासायनिक पदार्थ (वा अन्य रासायनिक पदार्थ) प्रयोग कम हुँदा भएका वारुणयन्त्रले पनि प्रभावकारी काम गर्न सक्दैनन् । करिब ४-५ हजार लिटरमात्रै पानी राख्न मिल्ने दमकल भएकाले यति थोरै पानीको  भरमा आगो निभाउन सकिँदैन । त्यसमाथि पेट्रोलियम पदार्थमा लागेको आगो पानीको प्रयोग गरेर नियन्त्रण गर्न गाह्रो हुन्छ ।

समयमै बारुणयन्त्र नपुग्दा ठूलो क्षति भएको घटनाबाट हामी अनभिज्ञ छैनौ । सके सबै ठाउँमा बारुणयन्त्र र नभए ट्यांकर वा जेजे उपलब्ध हुनसक्छन् सबै साधन तयारी अवस्थामा राख्नु आवश्यक छ । यसका लागि सरकारी निकायले तदारुकता देखाउनुपर्छ । साधन भएरमात्र हुँदैन, जनशक्तिको उत्तिकै खाँचो पर्छ । आवश्यक साधन स्रोत र जनशक्ति तयारी अवस्थामा रहने हो भने आगलागी सुरु भएको केही समयमै नियन्त्रणमा लिने र क्षति न्यून गर्ने सम्भावना रहन्छ ।

पेट्रोलियम पदार्थ भण्डारण हुने ग्यास प्लान्ट र पेट्रोल पम्पहरु आगलागीको ठूलो जोखिममा हुन्छ । यस्ता स्थानमा लागेको आगो सजिलै नियन्त्रणमा पनि आउँदैन । साथै वरपरको ठूलो क्षेत्रलाई असर पर्न सक्छ । पेट्रोलियम पदार्थमा लागेको आगो एकदम चाँडो फैलने हुनाले आगो नियन्त्रण गर्ने निकायमा खबर पुगेर आगलागी भएको स्थानमा अग्नि नियन्त्रक आइपुग्दासम्म ठूलो क्षति भइसकेको हुन्छ । त्यसकारण ग्यास प्लान्ट र पेट्रोल पम्पहरूले त आगलागीको जोखिम न्यूनीकरणका सबै उपाय अवलम्बन गर्नुपर्ने हुन्छ । त्यस्तै राज्यले पनि जहाँ पायो त्यही ग्याँस प्लान्ट र पेट्रोल पम्प संचालन गर्न अनुमती दिनुहुँदैन ।
( क्यानाडामा इन्जिनियरिङमा विद्यावारिधि गर्दै)
@KS_Paudel

प्रकाशित मिति: बिहीबार, पुस १३, २०७४  ०८:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro