झापा । पूर्वी नाका काँकरभिट्टाबाट भारत, बङ्गलादेश र भुटानसँग हुने नेपालको व्यापारमा उच्च घाटा देखिएको छ ।
मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत केशवराज ओलीका अनुसार आव २०७८/०७९ मा काँकरभिट्टा नाका भएर भारतबाट ३६ अर्ब १८ करोड रुपैयाँ मूल्य बराबरको सामान आयात भएको छ भने नेपालबाट १० अर्ब ६९ करोड ९५ लाख रुपैयाँको सामान मात्र निर्यात भएको छ ।
निर्यातभन्दा आयात बढी भएको कारण भारतसँग काँकरभिट्टा नाकामार्फत नेपालको व्यापार घाटा २५ अर्ब ४८ करोड २७ लाख रुपैयाँ भएको देखिन्छ ।
काँकरभिट्टा नाकामार्फत हुने व्यापारमा बङ्गलादेश र भुटानसँग नेपालको व्यापार घाटा क्रमशः १० अर्ब नौ करोड ९९ लाख र ७४ करोड ८६ लाख रुपैयाँ पुगेको छ ।
आव २०७८/०७९ मा १० अर्ब ६५ करोड ३५ लाख रुपैयाँबराबरको सामान बङ्गलादेशबाट आयात भएको थियो भने नेपालबाट ६० करोड ४५ लाख रुपैयाँको मात्र सामान निर्यात भएको भन्सारको तथ्याङ्कमा उल्लेख छ ।
सोही अवधिमा भुटानबाट एक अर्ब २० करोड ५३ लाख रुपैयाँको सामान आयात भएको थियो भने ४५ करोड ६५ लाख रुपैयाँकाे मात्र सामान निर्यात भएको थियो ।
बङ्गलादेश र भुटानसँग नेपालले यही नाकामार्फत व्यापार गर्दै आएको छ । भारतसँग अरु नाकाबाट पनि व्यापार सञ्चालन हुन्छ ।
बङ्गलादेशसँगको व्यापार घाटा बर्सेनि बढ्दै गएको छ । बङ्गलादेशसँग नेपालले आव २०७७/०७८ मा छ अर्ब ४८ करोड ३३ लाख ४३ हजार र आव २०७६/०७७ मा तीन अर्ब ९९ करोड ४३ लाख ११ हजार रुपैयाँ व्यापार घाटा बेहाेरेकाे थियो ।
राजस्व असुली लक्ष्यभन्दा बढी
मेची भन्सार कार्यालय काँकरभिट्टाले आव २०७८/०७९ मा लक्ष्यभन्दा बढी राजस्व असुली गरेको छ ।
प्रमुख भन्सार अधिकृत ओलीले सो आवमा १७ अर्ब ५३ करोड १९ लाख ३३ हजार रुपैयाँ राजस्व सङ्कलन गर्न सफल भएको बताए ।
भन्सारले १५ अर्ब ७५ करोड ४७ लाख ८७ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा १११ दशमलव २८ प्रतिशत राजस्व असुली भएको भन्सार प्रमुख ओलीले जानकारी दिए ।
पेट्रोलियम पदार्थ र सुपारीको आयात पूर्वी नाकाबाट बढी भएका कारण राजस्व सङ्कलनमा वृद्धि भएको हो । रासस