काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले २०९औँ भानुजयन्तीको अवसर पारेर आदिकवि भानुभक्त आचार्यको जीवनी विषयमा प्रवचन तथा विभिन्न विद्यार्थीहरूबाट ‘भानुभक्तीय रचनावाचन’ कार्यक्रम आयोजना गरेको छ ।
प्रा. डा. सर्वराज आचार्यले भानुभक्तका बारेमा गरिएका विभिन्न अध्ययन, अनुसन्धानका विषयमाथि बोलेका थिए ।
कार्यक्रममा प्रज्ञाका कुलपति गंगाप्रसाद उप्रेतीले नयाँ पुस्ताका बीचमा पनि भानुभक्तलाई पुर्याउने उद्देश्य रहेको बताए । उनले विगतमा भानुजयन्तीमा कुनै एउटा विषयलाई लिएर भानु–विमर्श गर्ने गरिएकामा योपटक बालबालिकाद्वारा आदिकवि भानुभक्तको रचनावाचन गरिएको बताए ।
उपकुलपति डा. जगमान गुरुङले उक्त कार्यक्रम पुस्ता हस्तान्तरणको सुन्दर नमुना भएको बताए । उनले भानुभक्तजस्ता विलक्षण क्षमता भएका प्रतिभाहरूलाई राष्ट्रले खोजीखोजी सम्मान गर्नुपर्नेमा जोड दिए ।
प्रतिष्ठानका सदस्यसचिव प्रा. जगत्प्रसाद उपाध्यायले आदिकवि भानुभक्तले रामायण, प्रश्नोत्तर, भक्तमालाजस्ता कृतिको सिर्जना गरेर नेपाली कविता साहित्यमा ठूलो गुन लगाएको उल्लेख गरे ।