काठमाडौं । मोबाइलमा प्रदीप (खड्का)को फोनको घण्टी बज्यो । भने, ‘दाइ, एउटा बायोपिकको कुरा तपाईंलाई कसैले गर्यो ?’
‘गरेको थियो ।’
‘प्रदीप पनि त्यसमा काम गर्ने हो र ?’
‘गर्ने भनेको हो ।’
‘दाइले निर्देशन गर्नुपर्यो । म खेल्छु ।’
प्रदीपले नै खेल्छु भनेपछि बल्ल दिनेश (राउत)लाई प्रोजेक्ट ‘हावा’ होइन भन्ने लाग्यो । त्यसैले भने, ‘पछि भेटेर कुरा गरौँला ।’
‘पछि होइन दाइ, तत्काल गर्ने हो । आजै भेटौँ ।’
लकडाउनको समय थियो । घरबाट निस्किने अवस्था थिएन ।
प्रदीप आफैँले भने, ‘हामी दाइकै घरमा आउँछौँ ।’
नभन्दै प्रदीप त्यही दिन थानकोट पुगे । फोनमा भनेको बायोपिकका विषयमा कुरा चल्यो । तर, दिनेशले त्यसमा प्रदीपलाई फिट हुने देखेनन् । त्यसैले भने, ‘यो क्यारेक्टरलाई मंगोलियन अपिरियन्स भएको व्यक्ति चाहिन्छ । तिमीलाई त कसरी सुहाउला र ?’
‘क्यारेक्टरमा काम गर्ने हो नि दाइ ।’
चकलेटी हिरोको उम्दा छवि बनाएर राम्रै स्टारडम बनाएका प्रदीप ‘क्यारेक्टरमा बाँच्ने हो, जसरी भए पनि काम गर्ने हो’ भनिरहेको देखेर दिनेशले उनको काम गर्ने तिर्खा देखे ।
एकातिर लकडाउन अर्कातिर फैलिएर रिसर्च गर्नुपर्ने बायोपिकको विषय । दिनेशले भने– हतारमा काम गरेर फुर्सदमा पछुताउने काम नगरौँ । बायोपिकमा काम गर्ने रहर त मलाई पनि हो । तर, यसरी हतारमा हो भने मबाट यो काम अहिले मात्रै होइन, कहिल्यै हुँदैन ।
० ० ०
बायोपिकको च्याप्टर क्लोज भयो । तर, प्रदीप र दिनेशको भेट बाक्लियो । चलचित्र र कथाका कुरा हुन्थे । दिनेशले सुनाए आफ्नो अपकमिङ मुभी ‘प्रकाश’को कथा । प्रदीपले भने– यो चलचित्रमा म काम गर्छु । ‘प्रेम गीत’ फेम्ड चकलेटी हिरो प्रदीपले यस्तो अब्सट्रयाक मुभी गर्ने ? ‘यो त क्यारेक्टरबेस मुभी हो, क्यारेक्टरमा बाँचेर चलचित्रमा काम गर्ने हो ।’
‘ठिक छ, म क्यारेक्टरमा काम गर्छु । क्यारेक्टरमा जीवन बाँच्छु ।’
‘यो चलचित्रमा काम गर्ने हो भने पहिला त अभिनय सिक्नुपर्छ ।’
‘ठिक तछ म सिक्न तयार छु ।’
जस्तो सुकै भए पनि जुम्ली क्यारेक्टर गर्न प्रदीप तयार देखिए । त्यसका लागि के–के सम्झौता गर्नुपर्ने हो, त्यो गर्न पनि प्रदीप तयार भएपछि दिनेशले अनुप बरालसँग अभिनयको कक्षा सिक्ने तारतरम्य मिलाइदिए ।
स्टार कलाकारको छवि बनाएका प्रदीपले अनुपसँग अभिनयको कक्षा लिन सुरु गरे । काठमाडौंमा सिकाउँदा सिकाउँदै अनुप पुगे पोखरा । प्रदीप पनि पोखरा नै पुगे ।
सुरु भयो ‘प्रकाश’को अडिसन । कास्टिङ डिरेक्टर थिए, स्वयं अनुप । सुरुमै दिनेशले प्रदीपलाई भनेका थिए– कास्टिङ डिरेक्टर अनुप (बराल) दाइ हो । उहाँले सबै कलाकारको अडिसन लिनुहुन्छ । म उहाँलाई यो वा त्यो कलाकार राख्नैपर्छ भन्न सक्दिनँ ।
नेम र फ्रेम दुवै पाइसकेका प्रदीपले पनि अडिसन दिनुपर्ने ?
“हो, मैले कास्टिङको जिम्मा अनुप दाइलाई दिएपछि कसरी कलाकार लिने र को–को लिने त्यो उहाँकै जिम्मामा थियो । र, उहाँले अडिसनबाट मात्रै कास्टिङ गर्छु भन्नुभएको थियो,” दिनेशले प्रकाशको अडिसन स्मरण गरे ।
अनुपले भनेका थिए, ‘जतिसुकै स्टार भए पनि म अडिसनबाट मात्रै कलाकार छनोट गर्छु ।’ त्यही कुरा दिनेशले प्रदीपलाई रिले गरिदिए ।
प्रदीप अडिसन दिन तयार भए । अडिसनमा सबै कलाकार छनोट भए । तर, ‘प्रकाश’कै क्यारेक्टर भने अन्तिमसम्म थाती रह्यो ।
एकपटक होइन, पटक–पटक प्रदीपको अडिसन लिए अनुपले । छनोट भएका अन्तिम दुईजनालाई अनुपले दोहोर्याइतेहेर्याइ अडिसन लिनुपरेको थियो । अन्ततः प्रदीप ‘प्रकाश’मा छनोट भए । त्यो भिडियो फुटेज अहिले पनि आफूसँग रहेको दिनेश बताउँछन् ।
त्यसपछि हो, प्रदीपले जुम्ली क्यारेक्टरमा बाँच्न काठमाडौंका गल्ली खाली खुट्टा नाप्न थालेका । प्रदीप एकान्तकुनाबाट हिँड्दै अनामनगरसम्म आउँथे, जहाँ ‘प्रकाश’को वर्कसप हुन्थ्यो । जुम्लामा प्रकाश खाली खुट्टा हिँड्नुपर्थ्यो । त्यसैले ब्रान्डेड जुत्ताले छोपेका पैताला खस्रा बनाउनुपर्ने थियो । चुच्चा ढुंगामा खाली खुट्टा हिँड्दा दुखेको महसुस नगर्ने कडा छाला, मोटा कुर्कुच्चा बनाउनु थियो । त्यसैले काठमाडौंमा त्यो अभ्यास उनले गर्न थालेका थिए ।
छायांकनमा उनले जुम्ली हुनु थियो । डोट्याली भाषा बोल्नु थियो । सिके । लवज ल्याउनु थियो । अनुकरण गरे । भर्खरै हलो जोत्दै गरेको उनको तस्बिर सार्वजनिक भएको छ । जसमा उनी जुम्ली क्यारेक्टर मजैले बाँचेको देख्न सकिन्छ ।
० ० ०
क्यारेक्टर पफर्मेन्स चकलेटी हिरोलाई किन ? जिज्ञासा स्वाभाविक हो । कारण, अक्सर क्यारेक्टर पफर्मेन्सका लागि थिएटर आर्टिस्ट खोज्ने ट्रेन्ड सेट भइसकेको छ । विपीन कार्की, दयाहाङ राई, सौगात मल्ल यसका उदाहरण हुन् ।
“मेकरको उद्देश्य कलामा व्यापार पनि खोजौँ भन्ने हुन्छ । म मेरो प्रोडुसर (महेन्द्र अधिकारी)मा पनि यो हुनु स्वाभाविक हो,” दिनेश भन्छन्, “अडिसनमा १९/२० भयो भने सायद म मात्रै होइन, अधिकांश मेकरले व्यापारिक हिसाबले पनि सोचेर स्टार नै रोज्छन् ।” स्टार कलाकार हुँदा चलचित्रको प्रोमोसनमा सहज हुने दिनेशको अनुभव छ ।