रोम । इटलीका अत्यधिक खोजीको सूचीमा रहेका पुरुषहरूमध्ये एक रोक्को मोराविटो बुधबार रोम आइपुगेका छन् । उनलाई ब्राजिल सरकारले सुपुर्दगी गरेको हो । लामो समय देखि उनी ब्राजिलमा लुकेर बसेका थिए ।
‘कोकिन किंग अफ मिलान’को उपनामले कुख्यात मोराविटो ब्राजिल र इटलीका प्रहरीको संयुक्त प्रयासमा गत वर्षको मेमा पक्राउ परेका थिए ।
अब ५५ वर्षीय मोराविटोले लागुऔषध ओसारपोसार गरेको अभियोगमा ३० वर्ष काराबास सजाय भोग्ने भएका छन् ।
मफिया बोस मोराविटो दशकौँ सम्म छद्म परिचय बोकेर दक्षिण अमेरिकामा बस्न सफल भएका थिए । अन्ततः प्रहरीले गत वर्ष उनलाई उत्तर पूर्वी बन्दरगाह शहर हाओ पेस्सोआमा फेला पारेको थियो । उनीसँगै ‘ड्रान्घेटा माफिया समूह’का अर्को कुख्यात सदस्य भिन्सेन्जो पास्क्विनो पनि पक्राउमा परेका थिए ।
पास्क्विनोलाई पनि लागुऔषध कारोबारमा संलग्न रहेबापत १७ वर्ष कैद सजाय सुनाइएको छ । माफिया बोस गिउसेप्पे मोराविटोसँग सम्बन्ध रहेको एउटा परिवारमा अफ्रिकोको क्यालाव्रियान सहरमा मोराविटोको जन्म भएको थियो ।
मोराविटो इटली र त्यसभन्दा बाहिरका अधिकांश कोकिन कारोबारमाथि नियन्त्रण राख्ने अपराधिक समूह ‘ड्रान्घेटा’का प्रमुख व्यक्ति हुन् । दक्षिण अेमरिका र इटलीको प्रमुख सहरबीच कोकिन तस्करीको लागि प्रमुख मार्गहरू स्थापना गरेर युवा अवस्थामा नै उनी सफल लागुऔषध तस्कर बनेका थिए ।
प्रहरीले उनले दक्षिण अमेरिकाबाट एक टन भन्दा बढी कोकिन आयात गर्नका लागि मध्यस्थतता गर्न खोजेको चाल पाए लगत्तै उनी बेपत्ता भएका थिए । प्रहरीका अनुसार ब्राजिलतर्फ भागेका उनी त्यहाँ ‘फ्रान्सिस्को क्यापेलेटो’को नाम धारण गरेर बसेका थिए । त्यहाँबाट उरुग्वे पुगेका उनी कम्तीमा १३ वर्ष सम्म पुन्टा डेल एस्टे रिसोर्टमा बसेका थिए ।
बीबीसीबाट ।