काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार राति पाकिस्तान फुटबल फेडेरेसन (पीएफएफ) माथि लगाएको प्रतिबन्ध हटाएको छ ।
फिफा काउन्सिलको ब्युरोको सन् २०२२ जुन २९ मा सम्पन्न बैठकले पाकिस्तानमाथि लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको हो । फिफाले १५ महिनाअघि पाकिस्तान फुटबल संघमा तेस्रो पक्षको अनावश्यक हस्तक्षेप भएको भन्दै प्रतिबन्ध लगाएको थियो ।
“अप्रिल २०२१ मा पाकिस्तान फुटबल फेडेरेसन (पीएफएफ)मा लगाइएको निलम्बन हटाउने निर्णय गर्यो । पीएफएफको सामान्यीकरण समितिले पीएफएफको परिसरको पूर्ण नियन्त्रण फिर्ता लिएको र यसको आर्थिक व्यवस्थापन गर्न सक्ने स्थितिमा रहेको फिफाले पुष्टि गरेपछि यो निर्णय लिइएको हो,” पीएफएफको सदस्यताबारे फिफाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
फिफाले हारुन मलिकको संयोजकत्वमा सामान्यीकरण समिति गठन गरेको थियो । त्यही कमिटीले गत वर्षदेखि निलम्बन फुकुवाका लागि काम गरिराखेको थियो ।
पाकिस्तानमा २०१५ देखि नै विवाद भएको थियो ।