काठमाडौं । कीर्तिमानी ग्रान्डस्लाम उपाधि विजेता राफेल नाडालले बिहीबार राति लिथुनियाका रिकार्डस बेरान्किसलाई ३–१ को सेटमा हराउँदै विम्बल्डन टेनिसको तेस्रो चरणमा स्थान बनाएका छन् ।
दोस्रो वरीयताप्राप्त नाडालले सेन्टर कोर्टमा बेरान्किसलाई ६–४, ६–४, ४–६ र ६–३ को स्कोरमा हराए ।
२२ पटक ग्रान्डस्लामको उपाधि जितिसकेका ३६ वर्षीय नाडालको यो ३०७औँ ग्रान्डस्लाम जित हो । दुईपटक विम्बल्डन उपाधि जितेका नाडालले अब इटालीका लोरेन्जो सोनेगोविरूद्ध खेल्नेछन् ।
चौथो वरीयताप्राप्त स्टेफानोस सिटसिपसले पनि तेस्रो चरणमा स्थान बनाएका छन् । सिटसिपसले अष्ट्रेलियाका जोर्डन थमसनलाई ६–२, ६–३ र ७–५ को स्कोरमा हराए । सिटसिपसले अब अष्ट्रेलियाकै निक केर्गिओसविरूद्ध खेल्नेछन् । केर्गिओसले फिलिप क्राजिनोभिकलाई ६–२, ६–३ र ६–१ को सेटमा हराएका थिए ।
१२औँ वरीयाताप्राप्त अर्जेन्टिनाका डिएको स्वार्टजमन भने दोस्रो चरणबाट बाहिरिए । उनी वाइल्ड कार्ड इन्ट्रीप्राप्त बेलायतका लियाम ब्रोडेसँग २–६, ६–४, ६–०, ६–७ (६/८) र १–६ को स्कोरमा पराजित भएका हुन् ।
यस्तै, १३औँ वरीयताप्राप्त डेनिस सापोभालोभ पनि दोस्रो चरणबाटै बाहिरिए । गत वर्ष सेमिफाइनल खेलेका सापोभालोभ अमेरिकाका ब्रान्डन नाकासिमासँग २–६, ६–४, १–६ र ६–७ (६/८) को सेटमा पराजित भएका हुन् ।