काठमाडौं । काठमाडौं उपत्यकामा सोमबारसम्म हैजा (कोलेरा) संक्रमितको संख्या १२ पुगेको छ । हैजाको मुख्य कारण इकोली जीवाणुयुक्त पानी भएको परीक्षणहरूले पुष्टि गरेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले धारा, ट्युबवेल, इनार, बोतल, जार र ट्याङ्करको पानीमा हैजा संक्रमण गराउने जीवाणु भेटिएको जनाएको छ ।
महाशाखाका निर्देशक डा. चुमनलाल दासले सोमबार संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा काठमाडौंका बागबजार, डिल्लीबजार, बूढानीलकण्ठ र सानेपामा पानीको नमुना परीक्षणमा हैजाका जीवाणु भेटिएको जानकारी गराए । बल्खु र कोटेश्वरको पनि नमुना लिएको तर रिपोर्ट आइनसकेको उनले बताए । शनिबार यी दुई क्षेत्रका दुईजनामा हैजा संक्रमण पुष्टि भइसकेको छ ।
“काठमाडौंमा वितरीत १५ प्रतिशत जारको पानी पनि प्रदूषित पाइएको छ,” निर्देशक दासले भने, “बूढानीलकण्ठ नगरपालिकाले गरेको नमुना परीक्षणका क्रममा ७२ प्रतिशत पानी प्रदूषित देखिएको छ ।”
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले सन् २०२० मा गरेको जारको पानीको र्यान्डम परीक्षणमा ७६ प्रतिशत नमुनामा इकोली भेटिएको थियो । त्यस्तै, ९२ नमुनामा कोलिर्फम ब्याक्टेरिया भेटिएको थियो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको मापदण्डअनुसार पानीमा कोलिफर्मको मात्रा शून्य प्रतिशत हुनुपर्छ । नास्टले नै सन् २०२१ मा गरेको वाग्मती किनारका इनारको पानीको नमुनामा २१.५ प्रतिशतमा इकोली भेटिएको थियो । सोही पानीको ८५ प्रतिशत नमुनामा कोलिर्फम भेटिएको थियो ।
फिल्टर गरेर वा रसायन हालेर पानी शुद्ध हुन्छ ?
केहीदिन अघि काठमाडौंको बागबजारमा एकै परिवारका दुई दिदीबहिनीमा हैजा संक्रमण देखिएको थियो । उनीहरूले ट्युबवेल र धाराको पानी नउमाली खाने गरेको स्वास्थ्य कार्यालय काठमाडौंको परीक्षणले देखाएको थियो ।
नास्टका वरिष्ठ वैज्ञानिक भोजराज पन्त पानी शुद्धीकरणका लागि विभिन्न उपायहरू अपनाइए पनि सबैभन्दा भरपर्दो उपाय उमालेर पिउनु नै भएको बताउँछन् । "पछिल्लो समय घरमै पानी शुद्धीकरणका लागि विभिन्न प्रविधिहरू पनि आएका छन् । तर यूभी फिल्टर नभएको युरोगार्डले ब्याक्टेरिया छुट्याउन सक्दैन," पन्त भन्छन् ।
उनका अनुसार पानी शुद्धीकरणका लागि विभिन्न रसायनहरू पनि प्रयोग गर्न सकिन्छ । तर रसायनको मात्रा नमिलेमा त्यसले स्वास्थ्यमा हानी गर्दछ । "त्यसैले सबैभन्दा उत्तम उपाय उमालेर पिउनु नै हो," उनी भन्छन् ।
ठुलो भाँडोमा एकपटक उमाल्ने र छोपेर राखेर पटकपटक प्रयोग गर्न सकिने उनको सुझाव छ ।