काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले वार्षिकरूपमा आयोजना गर्दै आएको राष्ट्रिय कविता महोत्सव यस वर्ष पनि सम्पन्न भएको छ । राष्ट्रिय कविता महोत्सव–२०७९’ मा सुनसरीकी कवि टीका आत्रेयको कविता ‘संकल्प’ प्रथम भएको छ ।
प्रज्ञा प्रतिष्ठानले जारी गरेको विज्ञप्तिअनुसार धादिङका यात्रीप्रकाश पाण्डेको कविता ‘आगोमा फुलेको देश’ द्वितीय र भक्तपुरकी सीता तुम्खेवाको ‘चरिसो फूल’, सुनसरीका किरन सिवाको ‘बुबाको सिलाई मेसिन’ र अछामका कमलराज केसीको ‘सपना उम्रन्छ माटोमा’ शीर्षकका कविता तृतीय भएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानको ६५औँ वार्षिकोत्सवका अवसरमा बिहीबार सम्पन्न कविता महोत्सवमा उल्लेखित कविताका कविहरू पुरस्कारका लागि छनोट भएको प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायद्वारा प्रेषित विज्ञप्तिमा जनाइएको छ ।