site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
KFC Island Ad
Dabur Nepal
NIC Asia
Royal Enfield Island Ad

राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएर सशस्त्र प्रहरीको पहरामा सडकबाट काठमाडौं ल्याइँदै गरेको दुई ट्रक रासायनिक मल शनिबार धादिङको धार्केमा अराजक भिडले खोस्यो । शान्तिपूर्ण प्रदर्शनमा गोली ठोक्ने सशस्त्र प्रहरी भने तमासा हेरेर बस्यो ।
 
शनिवारै नेपाल भ्रमणमा काठमाडौं आएका संयुक्त अरब इमिरेट्स (युएआई) का राजकुमारले झापा पुर्‍यfएर नेकपा (एमाले)का नेता तथा एकजना व्यवसायीलाई ‘सुनको लौरो’ उपहार दिए । तस्करहरूले मलद्वारमा कोचेर ल्याएको सुनसमेत समात्न सक्ने विमानस्थल भन्सारले सुनको लौरो नै तस्करी भएको भने पत्तै पाएनछ ।
 
धान रोप्ने बेलासम्म पनि सरकारले मलको व्यवस्था गर्न सकेन । बर्सेनी खेतीको सिजनमा रासायनिक मलको अभाव हुने गरेको छ । यो समस्या दशकौं हुँदा पनि समाधान भने भएन । मधेसका किसानले जुगाड गर्दा भने सरकारले खोस्ने गरेको छ ।  
 
धार्केमा मल लुट्नेहरू किसानै होलान् । मल ‘ब्ल्याक’मा बेचिनुको सट्टा किसानको बारीमा पुग्ला । तैपनि सडकमा मल सशस्त्र प्रहरीकै पहरामा त यसरी लुटपाट हुन्छ भने मलभन्दा महँगो सामान सुरक्षितरूपमा ढुवानी होला भनेर पत्याउन सकिएला रु
 
एक जमानामा एक जना कुख्यात विदेशी अपराधीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘हात्ती’ छिराउने गुड्डी हाँकेका थिए । नेपाल भ्रमणमा आएका कथित विशिष्ट पाहुनाले भने हात्ती त होइन सुनको लौरो भने सहजै छिराएछन् ।
 
सरकारी संयन्त्रको नालायकी लुकाउन मल लुटिएको वा सुन तस्करी भएको विषयमा अनेकौं भाष्य तयार हुनसक्छ । राजस्व अनुसन्धान विभागले मलको बोकेको ट्रक नियन्त्रणमै लिएको र सशस्त्र प्रहरीले पहरा दिएको अभिलेख मेटाउने हो भने वा सुनको लौरो नक्कली हो भनिदिने हो भने कुरै  सामसुम हुन्छ ।  
 
नेपाली जनता बिर्सन खप्पिस छन् । बजेट काण्डलाई एसपीपीले बिर्साइदियो । मल लुटिएको वा सुनको लौरो तस्करी गरिएको घटना पनि अर्को काण्डले बिर्साइदिन सक्छ । केही नभए मन्त्रिपरिषद् हेरफेर गरेर विवादमा परेका मन्त्री हटाइदिए पहिलेका सबै बदमासी जनताले बिर्सिदिन्छन् । 
 
यस प्रकारको अराजकताले राज्य भने असफल हुन्छ । नेपालको संविधान, २०७२ जारी भएपछिका सबै सरकारहरूले जानेर नजानेर नेपाललाई ‘असफल राज्य’ बनाउन ‘योगदान’ जो गरेका छन् । 
 
राज्य असफल हुन नदिने हो भने विशेषगरी सरकारी संयन्त्रका यस्ता कमजोरी र बदमासीमा संलग्न कर्मचारी वा राजनीतिक नेतृत्वले अपराधअनुसारको सजाय पाउनुपर्छ । सुरक्षाकर्मी र भन्सार तथा राजस्व अनुसन्धानका कर्मचारीको मिलेमतो नभई न मल लुटिन सक्छ न सुनको लौरोको तस्करी हुनसक्छ ।
 
राजमार्गमा ट्रक लुटिँदा जोगाउन नसक्ने सशस्त्र प्रहरी र सुनको लौरो तस्करी हुँदा भन्सारमा तैनाथ कर्मचारी र सुरक्षाकर्मीलाई जिम्मेवार बनाउनुपर्छ ।  यिनलाई विशिष्ट कक्ष प्रयोग गर्न दिन अनुरोध गर्ने युएईको स्थानीय दूतावाससँग स्पष्टीकरण लिएर कारबाही सुरु गर्नुपर्छ ।
 
रह्यो युएईका राजकुमार भनिएका विवादास्पद व्यक्ति । तिनका बारेमा तत्काल छानबिन गरेर स्वदेश नफर्कँदै निर्क्योल गर्नुपर्छ । राजकुमार सक्कली नै ठहरिए कूटनीतिक माध्यमबाट  कडा विरोध जनाउनुपर्छ ।
 
आयन्दा कसैले पनि नेपालको कानुनको यसरी उपहास गर्ने आँट नगरून् भन्ने हो भने सरकार नरम हुनुहुँदैन । नत्र नेपाली जनताले मात्र होइन अन्तर्राष्ट्रिय समुदायलेसमेत नेपाल सरकारलाई कुरीकुरी गर्नेछन् । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ५, २०७९  १४:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro