इस्लामावाद । दुई जोईका खसम पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफ र पूर्वप्रधानमन्त्री इमरान खान आफ्ना श्रीमतीभन्दा गरिब भएको पाइएको छ ।
निर्वाचन आयोगमा पेस गरिएको सम्पत्ति विवरणानुसार प्रधानमन्त्री शरीफ र उनका पूर्ववर्ती खानका पत्नीसँग आफ्ना पतिभन्दा अधिक सम्पत्ति रहेको पाइएको हो ।
पूर्वप्रधानमन्त्री इमरान खानसँग दुई लाख पाकिस्तानी रुपैयाँ पर्ने चारवटा बाख्रा छन् । अंशबन्डामा प्राप्त उनीसँग ६ किसिमका सम्पत्ति छन् । पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)का अध्यक्ष खानसँग न त गाडी छ न देश बाहिर सम्पत्ति नै । उनले कतै लगानी गरेका छैनन् ।
खानसँग विदेशी मुद्रा खातामा तीन लाख २९ हजार १९६ अमेरिकी डलर, ५१८ स्टर्लिङ पाउन्ड र ६ करोड पाकिस्तानी रुपैयाँ छ । खानकी श्रीमती बुशरा बीबीको चार प्रकारका अचल सम्पत्तिसहित कुल सम्पत्ति १४ करोड २१ पाकिस्तानी रुपैयाँको जायजेथा छ ।
प्रधानमन्त्री शहबाज शरीफकी जेठी श्रीमती जाया नुसरत शहबाजसँग पनि आफ्नो श्रीमान्को भन्दा धेरै सम्पत्ति छ । उनीसँग २३ करोड २९ लाखको सम्पत्तिसँगै लाहोर र हजारामा नौवटा कृषि सम्पत्ति र दुवै ठाउँमा एक/एक घर छन् । उनले विभिन्न क्षेत्रमा लगानी गरेकी दैनिक अखबार डनले छापेको छ ।
प्रधानमन्त्री शरीफसँग १० करोड ४२ लाख रुपैयाँबराबरको सम्पत्ति छ भने १४ करोड ७८ लाखको दायित्व छ । प्रधानमन्त्रीकी कान्छी जीवनसंगिनी तेहमिना दुर्रानीको सम्पत्ति केही वर्षदेखि करिब ५७ लाख पाकिस्तानी रुपैयाँ रहेको छ । रासस/एएनआई