वीरेन्द्रनगर । सुर्खेतमा शनिबारदेखि पेट्रोल अभाव भएको छ । सुर्खेतका पाँचवटा आयल स्टोरमा सोमबार अपराह्न २० हजार लिटर आपूर्ति भए पनि अझै सहज बनेको छैन ।
वीरेन्द्रनगरका शङ्खर, गङ्गामाला, नारायण, दीपमाला र बुलबुले पेट्रोल पम्पमा आपूर्ति भएको उक्त परिमाणको पेट्रोल सोमबार नै सकिएको थियो । यहाँका पम्पमा आज बिहानैदेखि मोटरसाइकल, स्कुटर र अटोरिक्सा चालकको बाक्लो भीड लागेको छ । प्रहरीले इन्डियन आयल कर्पोरेसनद्वारा नयाँ ‘एक्जिम कोड’ लागू गर्दै इन्धन बोकेका ट्याङ्करलाई नेपाल–भारत सीमा रुपैडियामा रोकेपछि सुर्खेतमा पेट्रोलियम पदार्थको अभाव चुलिएको हो ।
भारत सरकारले प्रयोगमा ल्याएको नयाँ भन्सार सफ्टवेयरमा ‘एक्जिट कोड’ र ‘इम्पोर्ट एक्सपोर्ट कोड’ अनुसार बैंक खातामा प्रविष्ट गर्नुपर्ने कारण भारतबाट निर्यात हुने मुलुकमा पेट्रोलियम पदार्थको ढुवानी प्रभावित भएको हो । सोमबार साँझ ९ बजे म्यानुअल प्रणालीबाट रुपैडिया भन्सारमार्फत ५० हजार लिटर पेट्रोल, एक लाख २० हजार लिटर डिजेल र ८० हजार लिटर हवाई इन्धन आयात भएको थियो । रासस