काठमाडौं । एएफसी एसियन कप छनोट प्रतियोगितामा नेपाल शनिबार राति घरेलु टोली कुवेतसँग ४–१ ले पराजित भएको छ । यो हारसँगै चीनमा आयोजना हुने एसियन कपमा छनोट हुने नेपालको सम्भावना समाप्त भएकाे छ ।
कुवेतस्थित जबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा घरेलु टोलीले २८औं मिनेटमा अग्रता लिएको थियो । कुवेतले फहाद हम्मौद अल रशिदीले गरेको गोलबाट अग्रता लिएको थियो । नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पहिलो खेलमा जोर्डनविरुद्ध खेलेको टोलीमा आज कुनै परिवर्नत गरेका थिएनन् । पहिलो हाफमा १–० ले पछि परेको नेपालले दोस्रो हाफमा तीन गोल खाएको थियो ।
४८ औं मिनेटमा युसेफ नासेरले कुवेतको अग्रता दोब्बर बनाए । कुवेतको दोस्रो गोललगत्तै नेपालका मुख्य प्रशिक्षक अल्मुताइरी टच लाइनमै ढलेका थिए । अल्मुताइरीलाई मैदानमा प्राथमिक उपचारपछि अस्पताल भर्ना गरिएको छ । उनलाई अक्सिजन दिएर लगिएको थियो । मुटु सम्बन्धी विरामी रहेका अल्मुताइरीको विस्तृत विवरण भने आएको छैन ।
केहीबेर पश्चात खेल पुनः सुरु भएको थियो । ५७औं मिनेटमा नवयुग श्रेष्ठले राम्रो अवसर खेर फाल्दा नेपालले गोल अन्तर कम गर्ने मौका गुमाएको थियो । आयुष घलानको पासमा नवयुगले विपक्षी एक रक्षकलाई कटाएर पेनाल्टी क्षेत्रबाट हानेको प्रहार आकाशिएको थियो ।
७०औं मिनेटमा नासेरले व्यक्तिगत दोस्रो गोल थपे । त्यसको तीन मिनेट नबित्दै मोबारेक अल फनिनिले अर्को गोल थपेपछि नेपाल ४–० ले पछि परेको थियो । इन्जुरी समयमा बैकल्पिक खेलाडी दर्शन गुरुङले गरेको गोल नेपालका लागि सान्त्वना बन्यो । दर्शन ३५औं मिनेटमा गौतम श्रेष्ठको स्थानमा मैदान छिरेका थिए ।
हारपछि नेपालको सम्भावना समाप्त भएको छ । समूह ‘ए’मा नेपाल अंकबिहीन छ । नेपाल पहिलो खेलमा जोर्डनसँग २–० ले पराजित भएको थियो । कुवेत भने यसअघि इन्डोनेसियासँग २–१ ले पराजित भएको थियो । समान तीन अंक जोडेको इन्डोनेसिया, जोर्डन र कुवेत क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् ।
नेपालले समूह चरणको अन्तिम खेल इन्डोनेसियासँग मंगलबार राति खेल्नेछ ।