विराटनगर । कोभिड महामारीका बेला सञ्चालन गरिएको विराटनगरस्थित कोसी कोभिड अस्पतालमा निःशुल्क स्वास्थ्य उपचार केन्द्र सञ्चालनमा आएको छ ।
प्रदेश १ सरकारका स्वास्थ्यमन्त्री जयराम यादवले बुधबार स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गरेका छन् । संक्रमण घटेसँगै अस्पतालमा कोभिडका बिरामीको चाप घटेपछि स्वास्थ्य उपचार केन्द्रका रूपमा सञ्चालनमा ल्याइएको हो ।
“अब यो केन्द्रबाट कोभिडबाहेकका बिरामीलाई निःशुल्क स्वास्थ्य सेवा दिइने प्रबन्ध गरिएको हो,” मन्त्री यादवले भने ।
उपलब्ध जनशक्ति र उपकरणकै प्रयोगलाई निरन्तरता दिन सेवा सुरु गरिएको यादवले बताएका छन् ।
पहिलो चरणमा बिरामीको उपचार र औषधि निःशुल्क दिने व्यवथा गरिएको छ । कोभिड अन्त्य भइनसकेको अवस्थामा केन्द्रमा सुरुआतमा बहिरंग, ल्याब, एक्स–रे लगायतका सेवा सञ्चालनमा आएका छन् । एक सय शय्या रहेको उपचार केन्द्रमा तत्काल भने बिरामी भर्ना गरेर उपचार नहुने प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
विराटनगरको कोसी अस्पतालले विशेषज्ञ चिकित्सक उपलब्ध गराउने र अस्पतालको व्यवस्थापन, जनशक्ति परिचालन प्रदेश सरकारले गर्ने गरी केन्द्रले काम गर्ने तयारी गरिएको छ । त्यहाँ ११ जना चिकित्सक, ३२ जना नर्सिङ कर्मचारी र सहयोगी कर्मचारी रहेका छन् । प्रदेश सरकारले केन्द्रलाई बर्थिङ सेन्टरको रूपमा सञ्चालन गर्ने तयारी रहेको नीति तथा कार्यक्रममा जनाइएको थियो ।