काठमाडौं । एनसेल आजियाटाले व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसका विद्यार्थीहरूलाई छात्रवृत्ति तथा ‘उत्कृष्टता सम्मान २०७८’ प्रदान गरेको छ ।
क्याम्पसका पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरूलाई बुधबार एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान २०७८ प्रदान गरेको हो । एनसेलको मुख्य कार्यालय एनसेल आइकन, लैनचौरमा आयोजित एक विशेष कार्यक्रममाझ विद्यार्थीका अभिभावकहरू, इन्जिनियरिङ्ग अध्ययन संस्थानका प्राध्यापकहरू र अन्य पाहुनाहरूको उपस्थितिमा छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरिएको एनसेलले जनाएको छ ।
२०७१ सालबाट शुरू भएको एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमले प्राविधिक शिक्षालाई प्रोत्साहन गर्दै युवा प्रतिभाहरूको पहिचान र उनीहरूको शैक्षिक उत्कृष्टताको कदर गर्ने उद्देश्य राखेको जनाएको छ । इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा.डा. शशीधर राम जोशी र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले संयुक्तरूपमा विद्यार्थीहरूलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरेका छन् ।
कोभिड–१९ महामारीका कारणले गर्दा कार्यक्रम रोकिएकाले यसै कार्यक्रममा २०७७ सालका १८ जनालाई प्रदान गरिएको छात्रवृत्ति र ६ जना विद्यार्थीलाई प्रदान गरिएको उत्कृष्टता सम्मानको प्रमाण पत्र पनि प्रदान गरिएको छ । इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा.डा. शशीधर राम जोशीले एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमकोलागि एनसेलसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे ।
हरेक छात्रवृत्ति तथा उत्कृष्टता सम्मान पुरस्कारको राशि १ लाख रुपैयाँको रहेको छ ।