काठमाडौं । प्रो गल्फर पूर्ण शर्माको टिमले आइतबार सम्पन्न सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप प्रो–एमको उपाधि जितेको छ ।
गोकर्ण गल्फ क्लबमा सम्पन्न प्रतियोगितामा पूर्णको टिममा एमेच्योर महेन्द्र फगामी, समिर आचार्य र कश्मिरा शाह थिए । उनको टिमले १५३ अंक जोडेको थियो । पूर्णले ४४ अंक जोडे भने महेन्द्रले ३८, समिर ३६ र काश्मिराले ३५ अंक जोडेका थिए ।
प्रो गल्फर सञ्जय लामाको टिम दोस्रो स्थान हासिल गर्न सफल भयो । उनको टिममा एमेच्योर विकाश शाह, बाबु शेर्पा र प्रताप बोहरा सामेल थिए । सञ्जयको टिममले कुल १४२ अंक जोडेको थियो । सञ्जयले ३८, विकाशले ३५, बाबुले ३५ र प्रतापले ३४ अंक जोडेका थिए ।
प्रो गल्फर रवि खड्काको टिम तेस्रो भयो । उनको टिमले १४० अंक जोडेको थियो । रविले ३८ अंक जोडे भने उनको टिममा रहेका एमेच्योर आङ देन्डी शेर्पा, चन्द्र लिम्बु र किशोर बस्नेतले समान ३४ अंक जोडे ।
विजेता पूर्णको टिममा रहेकी कश्मिराले व्यक्तिगत रुपमा उत्कृष्ट महिला स्कोररको उपाधि पनि जितिन् । उनले ३५ अंक जोडेकी थिइन् । दावा शेर्पाले लङ्गेस्ट ड्राइभको उपाधि जिते भने आरती राज्य लक्ष्मी राणले क्लोजेस्ट टू दी पिनको उपाधि जितिन् ।
प्रतियोगितामा २४ प्रो गल्फरसहित ११३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रो–एम इभेन्ट स्टेबल फोर्ड तीन बाई चार ह्यान्डीक्याप पद्धतिमा खेलाइएको थियो ।
विजेता खेलाडीलाई सूर्य नेपाल प्रालिका प्रबन्ध निर्देशक रविकुमार रायवरम, पूर्व प्रबन्ध निर्देशक अभिमन्यू पोदार, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले पुरस्कार वितरण गरेका थिए ।
सूर्य नेपाल गल्फ टुर २०२१÷२२ को अन्तिम इभेन्ट सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप प्रतियोगिता सोमबारबाट गोकर्ण गल्फ क्लबमा हुने छ । जेठ १२ गतेसम्म चल्ने प्रतियोगिता ७२ होलमा खेलाइने नेपाल प्रोफेसनल गल्फर एसोसिएसनका महासचिव दीपक आचार्यले बताए ।
प्रतियोगितामा ४० व्यावसायिक र १२ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । दुई चरण गरेर ३६ होलको खेलपछि कट गरिने छ । कटपछि शीर्ष २१ र बराबरी अंक ल्याउने खेलाडीले बाँकी ३६ होलमा फाइनल चरणको प्रतिस्पर्धा गर्नेछन् । शीर्ष २१ सँगै ६ एमेच्योर खेलाडीले पनि फाइनल चरणमा प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिताका विजेताले दुई लाख ५० हजार रुपैयाँ नगद पुरस्कार जित्ने छन् । दोस्रो हुनेले एक लाख ५५ हजार र तेस्रो हुनेले एक लाख १० हजार रुपैयाँ पुरस्कार जित्ने छन् । चौँथो हुनेले ९५ हजार र पाँचौँ हुनेले ८७ हजार रुपैयाँ पुरस्कार जित्ने छन् । त्यसका साथै शीर्ष २१ मा पर्ने अरू गल्फरले पनि नगद पुरस्कार जित्ने छन् ।