जनकपुरधाम । स्थानीय तह निर्वाचनअन्तर्गत जनकपुरधाम उपमहानगरपालिकामा मतगणना जारी छ ।
पछिल्लो गणनाअनुसार प्रमुख पदमा स्वतन्त्र उमेदवार मनोजकुमार साहको १० हजार १२५ मतसहित अग्रता कायमै छ । नेपाली कांग्रेसका नेता उनी पार्टीले टिकट नदिएपछि घण्टाघर चुनाव चिह्नबाट प्रतिस्पर्धामा छन् ।
उनलाई नेकपा (एमाले)का उमेदवार शिवशंकर साहले पछ्याइरहेका छन् । शिवशंकरले आठ हजार ३६२ मत ल्याएका छन् । सत्ता गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी (जसपा)का उमेदवार लालकिशोर साहले चार हजार ४३ मत पाएका छन् ।
यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उमेदवार मनोज चौधरीले तीन हजार ९९२ मत प्राप्त गरेका छन् । स्वतन्त्र उमेदवार बलराम महतो तीन हजार १४६ मतसहित पाँचौँ स्थानमा छन् ।