मुम्बई । बलिउड अभिनेता आयुष्मान खुराना १० वर्षको अभिनय करियरमा इन्डस्ट्रीमा फरक पहिचान बनाउन सफल भएका छन् । आयुष्मान एक साहसी अभिनेता हुन् । उनको पहिलो फिल्म ‘विक्की डोनर’ २०१२ अप्रिल २० तरिखमा रिलिज भएको थियो । उनी अब ‘अनेक’ र ‘डाक्टर जी’ मार्फत नयाँ अवतारमा देखिँदै छन् । प्रस्तुत छ, उनले नवभारत टाइम्ससँग गरेको कुराकानी :
तपाईंको अभिनय यात्राले धेरैमा आशा जगाएको छ । उद्योगको दिशा बदलिएको छ । एक अभिनेताका रूपमा यो एक दशकलाई कसरी हेर्नुहुन्छ ?
मेरो विचारमा यो १० वर्ष क्रान्तिजस्तै भयो । यसमा मेरो यात्रा मात्र होइन, उद्योगको यात्रा पनि फेरिएको छ । एउटा नयाँ ट्रेन्ड आएको छ । कन्टेन्ट सिनेमाले रजाइँ गरेको छ । सन् २०१२ मा मेरो पहिलो फिल्म ‘विक्की डोनर’ आएपछि कन्टेन्ट सिनेमाले राम्रो प्रदर्शन गर्न थाल्यो । त्यस वर्ष हाम्रोसँगै ‘कहानी’, ‘इंग्लिस विंगलिस’, ‘पान सिंह तोमर’ फिल्म आए र सबै राम्रो चले । यी त्यस्ता चलचित्र थिए जसमा ठूला स्टार थिएनन्, कथाहरू नै स्टार थिए । तर, तिनीहरू लामो समय टिके । यो सिनेमाको लागि एक प्रकारको बेन्चमार्क थियो । ‘दम लगा के हैंशा’ वा ‘बधाई हो’, ‘अन्धाधुन’ वा ‘ड्रीम गर्ल’, ‘आर्टिकल १५’ वा ‘बाला’, मैले त्यही कथाहरूलाई अगाडि बढाएँ । यी सबै त्यस्ता कथाहरू हुन्, जसमा समाजमा केही नयाँ कुरा सुन्न वा भन्न पाइन्छ । यसबाहेक, म एकदमै भाग्यमानी ठहरिएको छु कि मैले राम्रा निर्देशक र स्क्रिप्ट राइटरहरूसँग काम गर्ने मौका पाएँ ।
‘विक्की डोनर’पछिका दुई–तीन चलचित्र चलेनन् । तर, ‘दम लगाकर हैंशा’पछि तपाईंले रोजेका चलचित्रहरू सुपरहिट भए । स्क्रिप्ट छान्ने खुबी कसरी विकसित भयो ?
यो बुझाइ सुरुदेखि नै ममा थियो, तर त्यस बेला त्यस्तो फिल्म पाइरहेको थिइनँ । ‘विक्की डोनर’पछि सायद इन्डस्ट्रीलाई पनि थाहा थिएन होला, मलाई के गर्ने भन्ने । त्यति बेला यस्ता चलचित्र कमै मात्र बन्ने गर्थे । यस्ता चलचित्र बनिरहेका थिएनन्, बनेका भए पनि सायद मैले पाएको थिइनँ । त्यसैले ती चलचित्रहरू गरेँ, भाग्यवश ‘दम लगाके हैंशा’ पाएँ र त्यो सफल बन्यो । त्यसले सबै चेन्ज गरिदियो । मैले पनि राम्रा चलचित्रहरू पाउन थालेँ । मेरो रोजाइ पनि राम्रो हुँदै गयो । म सधैँ भन्ने गर्छु कि तपाईंले आफ्नो असफलताबाट धेरै कुरा सिक्नुहुन्छ । ती चलचित्रले मलाई धेरै कुरा सिकाएको छ ।
यो १० वर्षमा तपाईंले पाएको सबैभन्दा ठूलो पाठ के हो ? अहिले अभिनेता बन्न संघर्ष गरिरहेकाहरूलाई के सल्लाह दिनुहुन्छ ?
१० वर्षको यात्रामा मैले सिकेको सबैभन्दा ठूलो पाठ भनेको सफलता होस् वा असफलता कुनै पनि कुरा स्थायी हुँदैन । सफलताले भन्दा असफलताले तपाईंलाई धेरै कुरा सिकाउँछ । त्यसका लागि तपाईंले आफैँमाथि विश्वास राख्न जरुरी छ । कसैले तपाईंलाई विश्वास गरोस् वा नगरोस्, आफूलाई विश्वास गर्नुपर्छ । किनकि, तपाईं यस यात्रामा एक्लै हुनुहुन्छ ।
कलाकार बन्न चाहनेहरूलाई भन्न चाहन्छु कि आफ्नो वरिपरि यस्ता व्यक्तिहरू राख्नुहोस्, जसले तपाईंलाई रचनात्मक प्रतिक्रिया दिऊन् । तपाईंको तारिफ मात्रै गर्ने आफ्नो वरिपरि नराख्नोस् । उनीहरूले तपाईंलाई अगाडि बढ्नै दिँदैनन् । किनभने, केवल प्रशंसाले तपाईं अगाडि बढ्न सक्नु हुन्न । आलोचनात्मक मनोवृत्ति पनि आवश्यक पर्छ ।
स्टार बनेपछि स्टारडम सम्हाल्नु पनि एउटा कला हो । सफलतापछि धेरै मानिस बहकिन्छन् । स्वयंलाई कसरी सहज राख्नुहुन्छ ?
मैले अघि भनेझैँ तपाईंको वरिपरि त्यस्ता मानिस हुनु जरुरी छ, जसले तपाईंको वाहवाही मात्रै नगरून् । तपाईंलाई सत्य देखाऊन् । यो तपाईंमाथि पनि भर पर्छ । किनभने, जब तपाईं स्टार बन्नुहुन्छ, तपाईंका नयाँ साथी बन्छन्, जसले सधैँ तपाईंको तारिफ मात्रै गर्छन् । तपाईंलाई फुर्काइरहन्छ । मेरो वरिपरि खुलेर आलोचना गर्ने मान्छे छन्, जसलाई म सकारात्मक रूपमा लिन्छु । मेरी श्रीमती र म्यानेजर दुवैजना मेरा सबैभन्दा ठूला आलोचक हुन् ।
तपाईंका आउन लागेका तीनै चलचित्र ‘डाक्टर जी’, ‘अनेक’ र ‘एक्सन हिरो’ पनि धेरै फरक छन् ?
म जहिले पनि केही फरक गर्ने प्रयास गरिरहन्छु । ‘आर्टिकल १५’ पछि ‘अनेक’ पनि धेरै फरक चलचित्र हो । मेरो लागि ‘एक्सन हिरो’ पनि एकदमै फरक हुनेछ । यसमा त कुनै सन्देश पनि छैन ।
म ठूलो पर्दाका लागि बनेको हु, मसँग त्यो क्षमता छ भन्ने आत्मविश्वास कसरी आयो ?
मभित्रको यो क्षमता देख्ने पहिलो व्यक्ति मेरो बुवा हो । उहाँलाई ममाथि विश्वास थियो र सायद उहाँलाई देखेर ममा आशा पलायो । किनकि, मेरो वरिपरि अरू कसैले पनि म लिडिङ एक्टर बन्न सक्छु भनेर भनेका थिएनन् । म थिएटर गर्थेँ, तर पनि कलाकार बन्न चाहन्छु भनेर कसैलाई भनिनँ । म आफैँलाई लाज लाग्थ्यो । किनकि, त्यति बेला कसैले म अभिनेता बन्न चाहन्छु भन्यो भने मानिस हाँस्थे । तर, बुवाले ममा यो आशा जगाउनुभएको थियो । नत्र म आफैँ धेरै महत्त्वाकांक्षी थिइनँ । मभित्र यो भरोसा मेरो बुवाले पैदा गरिदिनुभएको हो ।