धनकुटा । धनकुटामा स्थानीय तह निर्वाचनको मतगणना हुने स्थलमा फलामको तारजाली र सीसी क्यामरा जडान गरिएको छ । मतगणना गर्ने ठाउँमा मतको सुरक्षाका लागि फलामको तारजाली लगाइएको मुख्य निर्वाचन अधिकृत फडिन्द्रप्रसाद पराजुलीले बताए ।
धनकुटा नगरपालिकाको लागि सदरमुकामस्थित सामुदायिक भवनमा यसपटक मतगणना गर्ने व्यवस्था मिलाइएको हो । मतगणनास्थलमा सिसी क्यामेरा र फलामको तारजालीको व्यवस्था गरिएको छ ।
त्यस्तै जोरपाटी बजारस्थित छथरजोरपाटी गाउँपालिका कार्यालय नजिकै रहेको घरलाई मतगणनास्थल तोकिएको छ । सो घरभित्र मतगणना हुने स्थानमा सीसी क्यामेरा जडान कार्य सम्पन्न भइसकेको निर्वाचन अधिकृत गोकुलवहादुर निरौलाले बताए । उनका अनुसार मतपत्र गणना हुने स्थानलाई फलामको तारजालीले घेरिएको छ ।
साँगुरीगढी गाउँपालिकाको भवनलाई मतगणनास्थल बनाइएको छ । सो भवन भित्रको गणनास्थललाई सीसी क्यामेराले जडान र तार घेरावार गरिएको निर्वाचन अधिकृत रत्नबहादुर कटुवालले बताए ।
जिल्लाको चौविसे गाउँपालिका, सहिदभूमि गाउँपालिका, महालक्ष्मी नगरपालिका, पाख्रिवास नगरपालिकाको मत गणनास्थलमा सुरक्षाको लागि सीसी क्यामेरा र तारजाली लगाइएको छ ।