site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
‘मेयर बनेको २४ घण्टामै परिवर्तनको आभास गराउँछु’
वीरगञ्ज महानगरपालिकामा सत्ता गठबन्धनकाे जसपाबाट मेयरका उमेदवार राजेशमान सिंह ।
SkywellSkywell

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरी नेकपा (एमाले)मा जाने उद्घोषसमेत गरेका राजेशमान सिंह अन्ततः जनता समाजवादी पार्टी (जसपा) मा फर्किए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा) बाट वीरगञ्ज महानगरपालिकाको नगरप्रमुख (मेयर) मा तेस्रो स्थानमा रहेका सिंह यसपटक पहिलो हुने दाउमा छन् । २०५४ सालमा वडा सदस्य बनेका सिंहको गत निर्वाचनमा १२ हजार १६५ मत ल्याएका थिए । सिंह सत्ता गठबन्धनबाट मधेस प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्जको मेयरका साझा उमेदवार हुन् । जनता समाजवादी पार्टी (जसपा), नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र)को समर्थन पाएपछि यसपटक मेयरमा निर्वाचित हुन कसैले रोक्न नसक्ने सिंहको दाबी छ । 
प्रस्तुत छ, सिंहसँग स्थानीय तहको निर्वाचन र उमेदवारीको सन्दर्भमा बाह्रखरीले गरेको कुराकानीको सम्पादित अंश । 

मेयरको टिकट पाएपनि हार्ने संकेत देखिएसँगै लोसपा छोड्नुभयो । एमालेबाट पक्कापक्की भएपछि पत्रकार सम्मेलनमार्फत मधेसी दलको विरोध गरेर एमालेको गुनगान गाएको व्यक्ति आज जसपामा आएर एमालेलाई गाली गर्नुहुन्छ । बिचारमा अडिग नहुने तपाईंलाई जनताले कसरी पत्याउने ?

यदि म लोसपामै भएको भए टिकट मैले नै पाउँथेँ म पूर्ण रूपमा विश्वस्त छु । तर त्यो पार्टी आफै अस्तव्यस्त थियो । पार्टी नै व्यवस्थित नभएपछि वीरगञ्जलाई व्यवस्थित बनाउन सकिँदैन भन्ने सोचका साथ म विकल्पको खोजीमा थिए । नेकपा एमालेमा जाने लगभग पक्कापक्की भइसकेको अवस्थामा मभन्दा पहिलै वीरगञ्ज महानगरपालिकाका तत्कालीन नगरप्रमुख विजय कुमार सरावगी जीलाई पार्टीमा प्रवेश गराइयो त्यो पनि कसैको बिहेमा । जसले वीरगञ्जलाई बर्बाद बनाएको छ, त्यही व्यक्ति गएको पार्टीमा म कसरी जान सक्छु ? जसपाका नेताज्यूहरूसँग कुराकानी भएपछि उहाँहरू पनि विकास र परिर्वन चाहनुहुन्छ, मेरो पनि चाहना त्यही हो । त्यही भएर जसपा रोजेको हुँ । जनताले पत्याउने आधार एउटै छ, त्यो हो वीरगञ्जको विकास । वीरगञ्जको विकास र परिवर्तनका लागि मलाई मात्रै अवसर चाहिएको छ । त्यही अवसरका लागि मैले परिस्थितिअनुसार पार्टी फेरेको सहजै स्वीकार गर्छु । 

Dabur Nepal
NIC Asia

अवसरका लागि पार्टी फेर्ने तपाई अवसरवादी कि विकासवादी ?

म के हुँ भन्ने कुरा मैले बताइरहन पर्दैन । म उल्टै तपाईंलाई प्रतिप्रश्न गर्न चाहन्छु, अवसरवादी को हो ? मधेसी जनताको मतबाट पदमा पुगेर भ्रष्टाचार गरेर करोडौँ, अर्बाैँ कुम्ल्याउने व्यक्ति अवसरवादी हो कि ? कुनै पनि पदमा नहुँदा पनि कोरोना महामारीमा हजारौँ गरिब, विपन्न एवं श्रमिकहरूलाई निःशूल्क भोजनको व्यवस्था गर्ने म ? वीरगञ्जवासीको मतबाट जितेर बाहिरका व्यक्तिलाई महानगरपालिकामा जागिर लगाइदिने अवसरवादी कि विभिन्न उद्योग कलकारखानाहरूमा भनेर वीरगञ्जकै जनतालाई रोजगारी लगाइदिने म ? यहाँका सर्वसाधारण जनतादेखि उद्योग व्यवसायीसम्मलाई करको बोझ लादेर जनताको ढाड सेक्ने व्यक्ति अवसरवादी हो कि कर धेरै भयो फिर्ता गर्नुपर्छ भनेर आन्दोलन र विरोध गर्ने म ? त्यही भएर मेरो मात्र एउटै लक्ष्य एउटै चाहना हो, वीरगञ्जको विकास र वीरगञ्जवासीको सहज, सरल र सुखी जीवन । 

मेयरकै टिकट पाउन पार्टी फेर्नुभएको आरोप छ अनि अहिले गठबन्धनकै मेयरको साझा उमेदवार भएपछि त्यो आरोप त सत्य रहेछ भन्ने चर्चा चुलिएको छ । के भन्नुहुन्छ ?

आरोप–प्रत्यारोप, गाली, ताली यो सब कुरा राजनीतिमा सामान्य जस्तै भइसक्यो । अझ राजनीतिमा गैरराजनीतिक व्यक्तिहरूको हालीमुहाली हुँदा पनि समस्या भएको भान मैले गरेको छु । म विकासप्रेमी हो । पद तथा पहुँचमा नहुँदा पनि मैले सामाजिक क्षेत्रमा गरेका कामहरू सबै वीरगञ्जवासीलाई थाहै छ । पदकै लागि पार्टी फेरेको कुरामा कुनै सत्यता छैन । तर पार्टीले मलाई योग्य र सक्षम ठानेर टिकट दिएको छ भने पार्टीको विश्वासलाई मैले पनि पूरा गर्ने आँट गरेको हुँ । म पूर्ण रूपमा विश्वस्त छु गठबन्धनको जित सुनिश्चित छ । 

राजनीतिमा गैरराजनीतिक व्यक्ति भनेर तपाईं भन्नुहुन्छ । अनि तपाईंलाई राजनीतिको आडमा गुण्डागर्दी गर्नुहुन्छ भन्नेहरू पनि कम छैनन् नि ?

विरोध गर्न मेरा अरु कुनै विषय र कमजोरी फेला नपारेपछि बहाना त बनाउनै पर्‍यो नि हैन ? ल तपाईं नै भन्नुहोस्, मैले कसरी गुण्डागर्दी गरेँ ? मैले कोही व्यापारी, पसलेलाई धाकधम्की दिएर चन्दा उठाएको छु कि ? मैले कुनै चेली बेटीलाई बाटोमा हिँड्दा नराम्रो नजरले हेरेको छु कि ? कसैको हत्या गरेको छु कि ? मैले खासमा गुण्डागर्दीको परिभाषा नै बुझेको छैन जस्तो लाग्छ । नत्र भने यो आरोप लगाउनेहरूलाई मैले गुण्डागर्दी गरेको प्रमाण देखाउन चुनौती दिन्छु । यदि केही गरेको रहेछु भने म राजनीतिबाटै सन्यास लिएर जनतालाई अनुहार पनि देखाउने छैन । 

अब विषय बदलौँ, घरदैलोमा सहभागी हुनुहुन्छ । चुनावी प्रचारप्रसारमा व्यस्तता बढेको छ । गठबन्धनका अन्य पार्टीले समर्थन गर्नेमा तपाई विश्वस्त हुनुहुन्छ ?

म एकदम विश्वस्त छु । प्रतिगमनलाई परास्त गर्न पवित्र गठबन्धन भएको छ । गठबन्धनकै निर्णयको सम्मान र समर्थन गर्दै यहाँका सम्पूर्ण नेताहरू एवम् कार्यकर्ताहरू पनि गठबन्धनलाई जिताउन लागिरहनु भएको छ । हामी गठबन्धनका जिल्लाका दलका नेताहरूसँग पनि पटक पटक छलफल गरिरहेका छौँ । उहाँहरू पनि एकदम सकारात्मक हुनुहुन्छ । नेपाली कांग्रेस, नेकपा (एस), नेकपा (माओवादी केन्द्र)का सबै नेताहरू हामीसँगै घरघरमा पुगिरहनु भएको छ । गठबन्धनका अन्य दलले घात गर्नुहुन्छ भनेर म सोच्न पनि सक्तिनँ । 

तपाईं मेयरमा निर्वाचित भएपछि वीरगञ्जवासीले परिवर्तनको आभास गर्न पाउँछन् त ?

शत प्रतिशत पाउनुहुनेछ । म निर्वाचित भएको २४ घण्टाभित्रै परिवर्तनको प्रत्याभुति गराउने छु । ऐतिहासिक सहर वीरगञ्जको परिचय फेरिन्छ । अहिलेको जस्तो फोहोर तथा लामखुट्टेको सहर भन्ने परिचय हराउनेमा म विश्वस्त छु । हामीसँग स्पष्ट भिजन छ वीरगञ्जको विकासका लागि । त्यही अनुसारको टिम पनि छ । हामी टिमवर्कमा विश्वास गर्छाैँ । म निर्वाचित भएपछि सर्वप्रथम वीरगञ्जवासीलाई नै महानगरसहित अन्य क्षेत्रमा प्राथमिकताका साथ रोजगारीको सृजना गर्नेछौँ । सडक फराकिलो पार्नेदेखि नाला निर्माण हुँदै सबैभन्दा ठूलो समस्या अव्यवस्थित सहरीकरणलाई व्यवस्थित गर्नेछौँ । अहिले कोही वीरगञ्ज आउने बित्तिकै हेर्न लायक अनि बस्न लायक छैन । तर अब कोही वीरगञ्ज आउने बित्तिकै आहा कस्तो सफा र सुन्दर महानगर भन्ने बनाउछौँ । ग्रामीण क्षेत्रका बासिन्दालाई हामी गाउँमा छौँ भन्ने आभास गराउने छैनौँ । शिक्षा, स्वास्थ्य, कृषि, रोजगार, युवा, महिला, बालबालिका, उद्योग लगायत हरेक क्षेत्रमा हामीले विशेष योजना बनाएका छौँ । योजनाहरू समावेश गरिएको प्रतिबद्धता पत्र पनि केही दिनमै सार्वजनिक गर्नेछौँ । 

तपाईंका कुरा सुन्दा त साँच्चिकै वीरगञ्जले मुहार फेर्ला भन्ने लाग्यो तर त्यसका लागि स्रोत पनि चाहियो । कसरी व्यवस्थापन गर्नुहुन्छ ?

भनिन्छ, ‘जहाँ इच्छा, त्यहाँ उपाय’ । नियत सही हुनुपर्छ, जसरी पनि गर्न सकिन्छ । अनि अर्काे कुरा पछिल्लो पाँच वर्षमा वीरगञ्ज महानगरमा झण्डै २५ अर्ब रुपैयाँ आएको छ । यो पनि यहाँ संकलन भएको कर बाहेक । के वीरगञ्जवासीले २५ अर्बको विकासको आभास गरे त ? २५ अर्ब त के २५ लाखको पनि विकास भएको छैन । एसियन विकास बैंक (एडीबी) को परियोजना बाहेक वीरगञ्ज महानगरपालिकाले आफै गरेको काम एउटा पनि छैन भन्दा फरक पर्दैन । हामी जे भएपनि उपलब्ध स्रोत साधनको भरपुर प्रयोग गर्दै थोरै स्रोतबाट धेरै उपलब्धि हुने काम गर्नेछौँ । वीरगञ्जलाई आर्थिक राजधानी भनिन्छ । तर यहाँका जनतालाई अहिले पनि के खाउँ के लाउँ भन्ने पिरले नै पिरोलिरहेको छ । यस्तो पनि आर्थिक राजधानी हुन्छ ? हामी यहाँका उद्योगी, व्यवसायीसँग छलफल गरेर ठोस योजनाका साथ औपचारिक रूपमै आर्थिक राजधानी घोषणा गरेर औद्योगिक कोरिडोरको रूपमा विकास गर्नेछौँ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९  २०:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu