मेचीनगर (झापा) । झापाको मेचीनगर भारतको पश्चिम बंगालसँग साँध जोडिएको नेपालकै पूर्वी सीमान्त सहर हो । जहाँ लोपोन्मुख अल्पसंख्यक जातिको बाहुल्यता छ । पछिल्लो समय भेटिएको मुण्डादेखि मेचे, किसान, करूवा, उराव, राजवंशी र ताजपुरियाजस्ता धेरै अल्पसंख्यक समुदाय मेचीनगरमा बस्छन् । तिनको आ–आफ्नै रीतिरिवाज र संस्कार छन् ।
बाहुनडाँगी क्षेत्रमा हुने जंगली हात्तीको आउजाउ र उपद्रो होस् वा मेचीपारिको नेपाली भू–भागमा बसोबास गर्ने नेपालीका समस्या, सम्बोधन नभएको विषय धेरै कारणले यो ठाउँ चर्चाको केन्द्रमा रहने गर्छ । काँकडभिट्टा नाकाबाट निर्यात हुने नेपाली कृषिजन्य वस्तुमा भारतले गर्ने अवरोधबारे राष्ट्रियस्तरमा बहसहरू पनि भइरहन्छन् ।
नेपाली सीमासम्म जोडिएको, तर पश्चिम नेपालतिर साँघुरिएको ‘एसियन हाइवे’ होस् अथवा नयाँ मेचीपुलमा ‘सेल्फी’ लिने र ‘टिकटक’ खिच्नेको भिड, धेरै कारणले मेचीनगर मानिसहरूमो मानसपटलमा घुमिरहन्छ ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको गृहनगर हुनुको नाताले मात्र नभई मेचीनगर यतिबेला कांग्रेस उमेदवारको टिकट खोसाखोस प्रकरणका कारण पनि राजनीतिको केन्द्रबिन्दुमा छ । देश नै आसन्न स्थानीय तहको निर्वाचनमा होमिएको छ । चुनावी माहोल तात्तिएको छ । तर, स्थानीय नेताको भनाइमा विगतभन्दा अलि फरक ढंगले ।
“चुनाव राजनीतिक प्रतिस्पर्धा हो, यहाँ पनि चुनावी अभियान जोडतोडसाथ सञ्चालन भइरहेका छन्,” कांग्रेस मेचीनगरका सभापति सुदेशकुमार पनेरूले भने, “टिकट वितरणका बेला देखिएका केही विवाद र तुष अब बाँकी छैनन् । हामी सबै एक भएर चुनावी मैदानमा होमिएका छौँ । हिजो टिकटको आकांक्षा राख्ने साथीहरू पनि अब प्रचार खटिनुभएको छ ।”
कांग्रेसभित्र समूहपिच्छे किचलो
मेचीनगरमा कांग्रेसबाट इन्द्रबहादुर बुढाथोकी मेयर र माओवादी केन्द्रका प्रकाश भण्डारी उपमेयरमा उठेका छन् । बुढाथोकी पार्टीको संघीय निर्वाचन क्षेत्रको सभापति हुन् । भण्डारी पार्टीको क्षेत्रीय इन्चार्ज हुन् । एमालेबाट गोपालचन्द्र बुढाथोकी मेयर पदमा उमेदवार छन् । उनी प्रदेशसभा सदस्यबाट राजीनामा दिई नगरपालिकाको मेयर उठेका हुन् । एमालेबाट वर्तमान उपमेयर मीना पोखरेल उप्रेती दोहोरिएकी छन् ।
गठबन्धन गर्दा मेचीनगरमा कुनै समस्या भएन । दलले माग गरेअनुरूप नै मेयर उपमेयर अनि वडाहरूको सिट बाँडफाँट गरे । नेपाली कांग्रेसले मेचीनगरका १५ मध्ये ११ वटा वडा र नेकपा माओवादी केन्द्रले चारवटा वडा लिएका छन् । नेकपा एस चुनावी गठबन्धनमा छैन । एक्लै उठ्दा अघिल्लोपटक माओवादीले एउटा वडामा जित हासिल गरेको थियो । मेचीनगरमा तीनवटा पार्टीको तालमेल छ । नेकपा एस भने बाहिरै छ । एसले उपमेयरमा शारदा शर्मा घिमिरेलाई उठाएको छ । वडा नम्बर ७, ८ र १५ मा वडाध्यक्षमा उमेदवारी दिएको छ । वडा नम्बर ३ मा भने गठबन्धन गरेको छ ।
कांग्रेसबाट विधानतः प्रदेश समितिले महानगरपालिकाको मेयरमा केशवराज पाण्डेलाई सिफारिस गरेको थियो । तर, विश्वप्रकाश शर्माको आफ्नो गृहनगरसहित झापाका सबै पालिकामा सिटौला पक्षधर उमेदवार मात्र भएपछि केन्द्रबाट हस्तक्षेप गरिए । अन्ततः इन्द्र बुढाथोकीलाई टिकट मिल्यो । अपराह्न अबेरमात्र उनले मनोनयन दर्ता गराए । पार्टी सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेको पत्र मनोनयनका दिन मात्र बुढाथोकीले प्राप्त गरेका थिए । मेचीनगरबाहेक अब झापाका १४ पालिकामा सिटौला समूहका उमेदवार छन् ।
मेचीनगरमा पार्टीभित्रै प्राविधिक समस्या उत्पन्न भएपछि कांग्रेस प्रदेश नम्बर एकका सभापति उद्धव थापा आफैँ चुनावी अभियानमा खटिए । उनले समस्या नगर्न आम नेता तथा कार्यकर्तालाई आग्रह गरे । मेयरका आकांक्षी पाण्डेले पनि सार्वजनिक कार्यक्रममा आफू पार्टीको अभियानमा सक्रिय भएको भन्दै प्रतिबद्धता जनाइसकेका छन् । “मैले टिकट पाएको थिएँ, तर खोसियो । तर, पनि म पार्टीको निर्णय मानेर हिँडेको छु । कांग्रेस उमेदवारलाई जिताउन प्रतिबद्ध छु,” उनले कांग्रेस कार्यक्रममा भनेका छन् । पाण्डे लोकप्रिय मतसहित विजयी भएका कांग्रेस झापाका उपसभापति हुन् । उनी आउने राजनीति यात्राका लागि सम्भावना भएका नेता मानिने गरेका छन् ।
विमल आचार्यबाहेक मेचीनगरमा अरू कसैले जित्न सक्दैनन् भन्ने मानसिकता समेत पार्टीभित्र थियो । यो अहमता स्वयम् आचार्यमा समेत रहेको एक कांग्रेस कार्यकर्ताले बताएका छन् । तर, आचार्यलाई लगाइने यो आरोप भने पार्टीको चुनावी अभियानमा देखिएको उनको सक्रियताले खण्डन गर्छ ।
कालीझोडामा भएको कार्यक्रममा आचार्यले मेचीनगरमा कांग्रेसको जित सुनिश्चित भएको बताउँदै भने, “हामी व्यक्तिभन्दा पनि पार्टी र गठबन्धनको निर्णय मानेर चुनावी अभियानमा होमिएका छौँ । स्थानीय रूपमा आफ्नो कार्यकालमा शुरू भएका विकासका योजना अब आउने साथीहरूबाट पूरा हुनुपर्छ ।”
बुढाथोकी मेयरमा विजयी हुँदा सिटौला इतरको शक्ति आउने र शक्ति सञ्चय हुने भन्ने कांग्रेसमा एकथरी नेताको मनोविज्ञान देखिएको छ ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको लागि पनि मेचीनगरको निर्वाचनले खास महत्त्व राख्छ । प्रतिनिधि सभा निर्वाचनमा दुईपटक पराजित भएका शर्मा एक पटक फेरि यही क्षेत्रमा उठ्ने तयारीमा छन् ।
“अब जसरी पनि शर्मा आउनुपर्छ भन्ने सामान्य मतदाताको पनि सोचाइ देखिन्छ । जनतामा अब हार्न दिनु हुँदैन भन्ने चेत बढेको पाइन्छ । त्यही भएर पनि स्थानीय चुनाव नै शर्माको लागि पनि अग्निपरीक्षा बनेको छ । किनभने, उहाँले रोजेको उमेदवारले हार्नु भनेको शर्माको हार हो भन्ने आमबुझाइ छ,” धुलाबारीका पत्रकार ज्ञानेन्द्र निरौलाको विश्लेषण छ ।
यस्तो छ मतको अंकगणित
मेचीनगरमा अघिल्लो चुनावमा कांग्रेसका विमल आचार्य मेयरमा विजयी भएका थिए । उममेयरमा एमालेबाट मीना पोखरेल उप्रेतीले जितिन् । पोखरेल योपल्ट पनि उपमेयरमै उठेकी छन् । मेचीनगर नगरपालिकाका १५ मध्ये सात कांग्रेस, सात एमाले र एउटा वडामा माओवादी विजयी भएका थिए । तर, कार्यपालिकामा भने एमालेको बहुमत थियो ।
अघिल्लो चुनावमा कांग्रेसका आचार्यले मेयरमा २० हजार ७ सय ७६, एमालेका विष्णुप्रसाद प्रसाईंले १९ हजार १ सय ९२, माओवादी केन्द्रका हंसलाल राजवंशीले ७ हजार ६ सय ९४ र राप्रपाका रमेश दाहालले ८०३ मत प्राप्त गरेका थिए । उपमेयरतर्फ एमालेकी मीना पखरेल उप्रेतीले २० हजार १६, कांग्रसकी दुर्गा खतिवडाले १९ हजार १०६, माओवादी केन्द्रकी इन्दिरा कार्कीले ७ हजार ६९० र राप्रपाकी सविना बजगाईंले १ हजार २३५ मत प्राप्त गरेका थिए ।
योपल्ट नयाँ मतदाता १५ हजार मतदाता थपिएपछि कुल संख्या ९० हजार २०२ पुगेको छ । थपिएका मतदाता आफ्नो पक्षको भएको सबै दलले दाबी गरिरहँदा गठबन्धनका उमेदवार भने थपिएका आधा मतदाताले मात्र सहयोग गरे पनि आफूहरूले सहजै जित्ने दाबी गरिरहेका छन् ।
मेयरका उमेदवार कांग्रेसका इन्द्र बुढाथोकी भन्छन्, “हामीले जित्ने आधार नै गठबन्धनको मत र बलियो उपस्थिति हो ।”
हिजो एक्लै कांग्रेसले जितेको ठाउँमा अहिले गठबन्धनका दलसमेत हुँदा मतदाता स्वतः बढेको र जनमत आफूहरूको पक्षमा रहेको बुढाथोकीले सुनाए । लामो समय मेचीनगरको खानेपानी समूहमा काम गरेका उनले सामान्य, सहयोगी र सामाजिक व्यक्तित्वको पहिचान बनाउन सफल भएका छन् ।
नेकपा माओवादी केन्द्रका नगरअध्यक्ष राजन चिमरिया सबै पार्टीको जनाधार राम्रो भएकोले यहाँ गठबन्धनका सबै उमेदवार विजयी हुने र बहुमत आफूहरूको पक्षमा आउने बताए । उनले भने, “विगतलाई मूल्यांकन गर्दै हामी चुनावी अभियानमा होमिएका छौँ । हामीले जनप्रिय कार्यक्रम लिएर जनतामाझ गएका छौँ । हामीले जित्ने अधार नै यिनै हुन् ।”
झिनो मतले हारेका वडासहित गठबन्धनले बहुमत प्राप्त गर्ने दाबी गरिएको छ । मेचीनगरको सहरी क्षेत्र वडा नम्बर ६ हो । काँकडभिट्टा बजार र आसपासको यो इलाकामा ११ हजार मतदाता छन् । त्यहाँ अघिल्लोपटक दुई मतको फरकले मात्र हारजित भएको थियो । दोस्रो धेरै मतदाता संख्या वडा नम्बर १० मा ९ हजार ५०० छ । यसैगरी, वडा नम्बर ९ मा ८ हजार ४ सय ८ र वडा नम्बर ७ मा ८ हजार ४ सय १ मतदाता छन् । कांग्रेस नगरसभापति सुदेशकुमार पनेरू भन्छन्, “प्रमुख यी वडाबाट गठबन्धनले मतान्तर बढाएर अघि बढ्ने योजना छ ।”
मेचीनगरमा परम्परागत शक्ति मानिएको राप्रपाको उभार पार्टी पनि योपटक राम्रो देखिएको छ । राप्रपाले मेयर उपमेयरसहित वडाहरूमा आफ्ना उमेदवार खडा गरेको छ । मेयरमा रमेश दाहाल र उपमेयरमा सविना बजगाईं उमेदवार छन् । दाहालका अनुसार योपटक राप्रपाको जनमत निकै राम्रो देखिन्छ ।
चुनावबारे दाहालले भने, “म अहिले राप्रपाको राजनीतिमा छु । हाम्रो पार्टीलाई अहिले हैसियत नै नभएको भन्दै प्रचार गरिएको छ, तर यो चुनावपछि हामी राष्ट्रिय राजनीतिमा सुधारिएर आउने छौँ । यहाँ पनि राम्रो अवस्था छ । ठूला भनिएका दलबाट सर्वसाधारण विरक्तिएका छन् त्यसको फाइदा हामीलाई हुनेवाला छ ।”
दाहालले मेचीनगरमा सहरको प्रतिक्रियात्मक र गाउँको शान्त तर नखुलेको मत आफूहरूलाई प्राप्त हुने अपेक्षा रहेको सुनाए ।
“ठूला भनिएका राजनीतिक दलको व्यवहारबाट वाक्क भएकाहरूले हामीलाई रोज्छन् भन्ने हाम्रो विश्वास हो,” उनले भने ।
प्रदेशसभा छाडेर एमाले उमेदवार बने
प्रदेश सभा सदस्यको करिब १० महिने कार्यकाल बाँकी नै छँदा गोपालचन्द्र बुढाथोकी उता राजीनामा दिएर मेयर पदमा उठेका छन् । एमालेको ‘पब्लिक फिगर’ को रूपमा परिचित बुढाथोकी निकै अनुभवी नेता हुन । तर, एमालेको नेतृत्वमा शेरधन राई नेतृत्वको सरकारको उनी कटु आलोचक थिए ।
केन्द्रीय अध्यक्ष केपी ओलीको कदमका विरुद्धसमेत उनले टिकाटिप्पणी गर्दै आएका छन् । यसबाहेक ओलीले केन्द्रीय सदस्यमा मनोनीत गर्दा उनले त्यो पद नलिने भन्दै उनले सामाजिक सञ्जालमा आफ्ना धारणा राखी अस्वीकार गरेका थिए ।
“पार्टीले आवश्यकता महसुस गरेर मलाई स्थानीय सरकारको नेतृत्वमा जान निर्देशन दिएको हो,” बुढाथोकीले भने, “पार्टीको नीति र निर्देशनभन्दा विपरीत जाने कुरा हुँदैन । मैले प्रदेश सभा र पार्टीका विभिन्न तह–तप्कामा रहेर गरेको कामको अनुभवलाई थप खार्नका लागि मेयरमा आएको हुँ ।” बुढाथोकीले आफूसँग मेचीनगरको विकास र उन्नयनका लागि स्पष्ट खाका रहेको दाबी गरे ।
नेकपा एमालेको मेचीनगर १३ का अध्यक्ष भोजराज पराजुली अहिले तल्लो तहसम्म चुनावी कार्यक्रमलाई अघि बढाइएको बताउँछन् । “तलका निकायहरूसम्म पुगेर हामी चुनावी अभियान सञ्चालन गरिरहेका छौँ, कांग्रेस र गठबन्धनको विवाद अनि झमेला नै हाम्रो जित सुनिश्चित हुने आधार हो,” पराजुलीले भने ।
एकपटक परीक्षण भइसकेकोलाई उपमेयर दिनु र प्रदेशसभाबाट पदलोलुप भएर मेयरमा फर्कनु मात्र नभएर मेचीनगरमा एमालेभित्र अनेकन असन्तुष्टिहरू छन् । प्रदेश सभामा एमालेलाई कमजोर बनाएको बुढाथोकीमाथि आरोप छ । अघिल्लो पटक एमालेका विष्णु प्रसाईंलाई हराउन भूमिका खेलेको र यसमा एमालेका पूर्वजिल्ला अध्यक्ष रविन कोइरालासमेतले ‘तिकडम’ गरेको प्रसाईंको आरोप थियो । उनले सार्वजनिक कार्यक्रममै “मलाई पराजित गरिस् हैन ?” भन्दै कोइरालाको मानमर्दन गरेका थिए ।
अहिले प्रसाईं र कोइराला मिलेजस्तो देखिए पनि उनीहरूको यो मेललार्ई देखावटी भन्ने गरिएको एमालेकै कार्यकर्ताहरू बताउँछन् । रविन इतरका कार्यकर्ताहरू बुढाथोकीलाई मतदान गर्ने इच्छा नगरेको बताइन्छ । फेरि विगतमा कोइराला झलनाथ खनालनजिक रहेको गरेको राजनीति र त्यस्तै पृष्ठभूमिका बुढाथोकी पनि भएकोले उनको जितभन्दा पनि हारमा पार्टी अध्यक्ष केपी ओली पक्षले सहज महसुस गर्ने एमालेभित्र नै चर्चा छ । “विवाद र समस्या जे भए पनि अहिले एमाले एक ढिक्का भएको छ । हामी सबै साथमा छौं,” मेयरका उमेदवार बुढाथोकीले दाबी गरे ।
एमालेभित्र पनि चरम विवाद र असन्तुष्टि रहेको गठबन्धनका नेता बताउँछन् । बुढाथोकी प्रदेशबाट तल आएको भन्ने एकथरी एमालेजनको असन्तुष्टि र वर्तमान उपमेयरको कमजोर प्रस्तुति अनि फेरि दोहोरिएको तुषको फाइदा आफूहरूलाई पुग्ने माओवादी केन्द्रका नगर अध्यक्ष राजन चिमरियाले बताए ।