काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेमजोङले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीविरुद्ध विद्रोह गरेका खेलाडीलाई साथ दिएका छन् ।
बुधबार राति फेसबुक स्टाटस राख्दै किरणले आफू सधैँ खेलाडीको पक्षमा रहने बताएका छन् । जायज विषय उठाउँदा खेलाडीलाई क्याम्प छोड्न लगाउनु सही नभएको उनको भनाइ छ ।
अल्मुताइरीविरुद्ध १० खेलाडीको विद्रोह
“राष्ट्रिय टोलीको क्याम्पमा जायज विषय उठाउँदा खेलाडलाई क्याम्प नै छोड्न लगाउनु पक्कै सही होइन,” प्रशिक्षककाे व्यवहारप्रति असन्तुष्टि व्यक्त गर्दै किरणले फेसबुकमा पोस्ट गरेका छन्, “टोलीको कप्तान र एक सदस्यको हिसाबले म सधैँ खेलाडीको पक्षमा छु ।”
किरणले ‘जायज विषय’को बारेमा थप खुलाएका छैनन् ।
नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको व्यहारप्रति आपत्ति जनाएका थिए । त्यसपछि अल्मुताइरीले रोहितप्रति गरेको व्यवहारको विरोध गर्दै अन्य ९ जना खेलाडी मंगलवार बेलुका होटलबाट बाहिरिएका थिए ।