काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले फोटो राखेर प्रचार सामग्री बनाएपछि निर्वाचन आयोगले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग स्पष्टीकरण मागेको छ ।
निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले घिसिङलाई स्पष्टीकरण दिन भनेको हो । आयोगले घिसिङसँग माओवादीको प्रचार सामग्रीमा फोटो सहमतिमा राखिएको हो वा होइन भनी सोधेको छ ।
"'तपाईंको समेत फोटो राखी नेकपा(माओवादी केन्द्र)को चुनावी पोस्टर सार्वजनिक भएकोमा त्यसमा तपाईंको सहमति हो होइन ?उक्त पोस्टरमा तपाईंको फोटो राखिएको विषयमा तपाईंको सहमति रहेको होइन भने सो विषयमा तपाईंले हालसम्म सार्वजनिक रूपमा किन आपत्ति जनाउनुभएको छैन वा उजुर गर्नुभएको छैन ?," आयोगले घिसिङलाई सोधेको छ ।
घिसिङलाई सात दिनभित्र आयोगलाई चित्तबुझ्दो जवाफ दिन भनेको छ ।
आचारसंहिता उल्लङ्घन गरेको पाइए निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम कारबाही हुने छ ।
बुधबार बिहान नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेसबुकमार्फत आफूसँगै अर्थमन्त्री जनार्दन शर्मा र घिसिङको तस्बिरसहितको चुनावी पोस्टर सार्वजनिक गरेका थिए । पोस्टरमा लेखिएको ‘अँध्यारोबाट उज्यालोको यात्रा’ लेखिएको थियो ।
पार्टी चुनावी प्रचारमा घिसिङको तस्बिर राखिएको विषयलाई लिएर चौतर्फी आलोचना भएपछि केही समयमै उक्त तस्बिर हटाइएको थियो ।