लन्डन । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले यदि फिनल्यान्ड र स्विडेनले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) प्रवेश गरेको खण्डमा रुसले आफ्नै तरिकाले 'परिस्थितिलाई फेरि सन्तुलन' गर्नुपर्ने अवस्था आउने बताएका छन् ।
मस्कोले युक्रेनलाई नेटोमा प्रवेश नगराउन नै त्यहाँ आक्रमण गरेको हो । त्यसैले पनि फिनल्यान्ड र स्विडेनले अमेरिकी नेतृत्वमा रहेको नेटोमा प्रवेश गर्नु अघि सोच्नुपर्ने भएको छ ।
पेस्कोभले बेलायतको स्काई न्युजलाई भनेका छन्, "यदि यी दुई मुलुक नेटोमा प्रवेश गरेको खण्डमा हामीले आफ्नो सुरक्षा सुनिश्चितताका लागि पश्चिमी सीमाना थप सुदृढ बनाउनुपर्ने हुन्छ । हुन त रुसले यस्तो कदमलाई आणविक हतितयार नै प्रयोग गर्नुपर्ने किसिमले अस्तित्वकै लागि खतराको रूपमा हेर्दैन ।"
गत २४ फ्रेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरे यता हजारौँ सर्वसाधारण र सेनाको ज्यान जानुका साथै थुप्रै सहर र वस्तीहरू ध्वस्त भइसकेका छन् ।
फिनल्यान्ड र स्विडेनलाई स्वागत छ : नेटो प्रमुख
नेटोका महासचिव जेन्स स्टोल्टेनवर्गले यदि फिनल्यान्ड र स्विडेनले आफ्नो सैनिक गठबन्धनमा आबद्ध हुन आवेदन दिएका खण्डमा तिनीहरूलाई तत्कालै अँगालो मारेर स्वागत गरिने बताएका छन् । अहिले रुसले युक्रेनमाथि आक्रमण गरिरहेको देखेर फिनल्यान्ड र स्विडेनका जनताले नेटोको सदस्यता लिन समर्थन गरेका छन् ।
गत महिना फिनिस प्रसारणकर्ता वाईएलईले गरेको सर्वेक्षणले ५० प्रतिशत भन्दा बढी फिनिस नागरिक नेटो प्रवेशको समर्थनमा रहेको देखाएको छ । छिमेकी मुलुक स्विडेनको जनमत पनि त्यत्तिकै सकारात्मक रहेको सर्वेक्षणले जनाएको छ । युक्रेनमा आक्रमण गर्नु अघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ३० सदस्यीय सैनिक संस्था नेटोलाई सैनिक विस्तार नगर्न र रुसको सीमा क्षेत्रहरूबाट फौज फिर्ता लग्न आह्वान गरेका थिए ।
रोयटर्सबाट ।