काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का पदाधिकारीको राजीनामा माग गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)का विद्यार्थीले उपकुलपति, रेक्टर र डिन कार्यालयमा गरेको तालाबन्दीको आज ७६ दिन बितिसकेको छ । तर, अहिलेसम्म ताला खोल्न सरकारले चासो दिएको छैन ।
त्रिविका कुलपति प्रधानमन्त्री शेरबहादुर देउवा हुन् । उनी नेपाली कांग्रेसका सभापति समेत हुन् । उनकै पार्टीको भातृसंगठन नेविसंघले तालाबन्दी गर्दा सरकार मौन बस्नु आफैँमा उदेकलाग्दो कुरा हो ।
उच्च शिक्षा लिने करिब ८० प्रतिशत विद्यार्थी पढ्ने विश्वविद्यालय करिब तीन महिनादेखि बन्द हुँदा सेवाग्राही सबैभन्दा बढी मारमा परेका छन् । विशेषगरी पेन्सनको कामका लागि टाढा जिल्लाबाट आउने प्राध्यापकहरू समस्यामा परेका छन् ।
त्रिविमा भइरहेको तालाबन्दी खुलाउन विभिन्न प्रयत्न गरेको तर सम्बन्धित निकाय नै मौन हुँदा केही गर्न नसकिने अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका कार्यकारी निर्देशक विनोद जोशी बताउँछन् । उनका अनुसार त्रिविका पदाधिकारी, प्राध्यापक र कर्मचारीले तालाबन्दी खोल्न सबैतिर भन्सुुन गरिसके ।
उनी भन्छन्, “सरकारमा बसेकाले पटक्कै ध्यान दिएनन् । उहाँहरूको प्राथमिकतामा नै पर्दो रहेनछ विश्वविद्यालय । मन्त्रीदेखि प्रधानमन्त्री कोही बाँकी छैनन् भन्न ।”
त्यसो त विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) आफूले नगरे पनि तालाबन्दीको मौन समर्थनमा देखिन्छन् । उनीहरू पदाधिकारीले चाहे कुनै पनि बेला ताला काट्न सक्ने बताउँछन् ।
डेढ वर्षअघि उपप्राध्यापक प्रेम चलाउनेमाथि सुनियोजित ढंगले सांघातिक आक्रमण भएपछि विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीहरू ताला खोल्न डराएका छन् । निर्देशक जोशी भन्छन्, “आफैँले हतौडी लिएर तोड्न सक्ने कुरा भएन । प्रहरी प्रशासनको साथ–सहयोग छैन ।”
उनले थपे, “ताला खोलेर काम त गरौँला, तर शान्ति सुरक्षाको प्रत्याभूति कसले दिने त ?”
आंशिक प्राध्यापकले पनि त्रिविमा तालाबन्दी गरेका थिए । उनीहरूका माग भने सम्बोधन भइसक्यो । आंशिक प्राध्यापकले शिक्षण सहायकसरह मासिक रूपमा तलब पाउने व्यवस्था गर्ने सहमति भएसँगै आन्दोलन रोकिएको छ । क्याम्पस–क्याम्पसमा आंशिक प्राध्यापकलाई कसरी व्यवस्थापन गर्ने भनेर कार्यविधि बनाई तत्काल लागु गर्न भनेर सूचना पठाइसकेको त्रिवि प्रशासनले जनाएको छ । कतिपय क्याम्पसले त्यसलाई कार्यान्वन गर्न सुरु गरिसकेको र केही क्याम्पसमा भने समस्या मिलाउन बाँकी छ ।
अहिले विश्वविद्यालयले सेवाग्राहीलाई दैनिक सेवा भने दिइरहेको छ । तर, तालाबन्दीका कारण विभिन्न योजना लागु गर्न नसकेको एक कर्मचारी बताउँछन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसँग तालाबन्दीको समस्या राख्दा ताला खोल्नुपर्ने भन्दै सकारात्मक कुरा गर्ने गरेको निर्देशक जोशी बताउँछन् । उनी भन्छन्, “खोल्नुपर्छ सबै भन्नुहुन्छ । तर, गएर खोल्नुमा फरक छ । त्यो कोही गर्न चाहनु हुन्न ।”
त्रिवि पदाधिकारीले जनकपुर युथ क्याम्पसलाई सम्बन्धन दिने विषयमा भ्रष्टाचार गरेको भन्दै उनीहरूको राजीनामा माग गर्दै तालाबन्दी गरिएको हो । तालाबन्दी गर्नेहरूले पदाधिकारी राजीनामा दिन सहमत भए मात्र वार्तामा बस्ने बताएका छन् । वार्ता समिति गठन गरिए पनि त्यसले निष्कर्ष निकाल्न सकेको छैन ।