काठमाडौं । उपत्यकाका विभिन्न खुला स्थान र पार्कमा खुला व्यायामशाला सञ्चालनमा आएपछि व्यायाम गर्नेहरूको संख्या बढेको छ । स्थानीय पालिका र विभिन्न संघ संस्थाको पहलमा निर्माण भएका खुला व्यायामशालामा अहिले व्यायाम गर्नेहरूको भिड देखिन्छ ।
साँझ र बिहान घुम्न निस्किएको बेलामा खुला स्थानमा निर्माण भएका व्यायामशालामा व्यायाम गर्नेहरूमा बालबालिका, युवायुवतीदेखि वयोवृद्धसम्मका महिला तथा पुरुष छन् । खुला स्थानमा निःशुल्क व्यायाम गर्न पाइने भएपछि व्यायाममा धेरैले ध्यान दिन थालेका छन् । पछिल्लो समय जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै स्थानीय पालिकाले खुला स्थानमा व्यायामशाला निर्माण गर्दै आएका छन् ।
काठमाडौंको धुम्बाराहीस्थित शंख पार्कमा खुला व्यायामशालामा निर्माण भएदेखि व्यायाम गर्न थालेको चुनदेवी महाराजगन्जकी ४५ वर्षीया रीता खड्का बताउँछिन् । हरेक दिन नियमितरूपमा छोराछोरी र बहिनीसँगै व्यायाम गर्ने गरेको खड्का सुनाउँछिन् । हरेक दिन एक घण्टा व्यायाम गर्दा शरीरमा स्फुर्ती आएको ११ कक्षामा अध्ययनरत रानी खड्का बताउँछिन् ।