काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटमा बीआरआईसँग सम्बन्धित परियोजनालाई छिटो अगाडि आग्रह गरेका छन् । आइतबार होटेल मेरियटमा भएको छलफलमा उक्त आग्रह गरिएको एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए ।
“पछिल्लो कालमा बीआरआईसँग जोडिएर जुन आयोजनाहरू हामीले अघि बढाउने सहमति गरेका छौँ, तिनीहरूलाई निरन्तरता दिनुपर्छ र तिनीहरूलाई छिटोभन्दा छिटो कम्प्लिट गर्ने र जसबाट नेपालले फाइदा लिने सक्ने स्थिति छ,” भट्टराईले भने, “त्यसभित्र पर्ने सडकका आयोजनाहरू, रेलका आयोजनाहरू, सिँचाइका आयोजनाहरू, जलविद्युत् आयोजनाहरू, नाकाहरू निर्माण, स्वास्थ्यका क्षेत्रमा उहाँहरूले गर्ने सहयोगका आयोजनाहरू, शिक्षाका क्षेत्रका आयोजनाहरू छिटो अघि बढाइदिँदा ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकांक्षा पूर्तिमा सहयोग रहँदै आएको छ । त्यसमा थप योगदान पुग्नेछ भन्ने कुरा उहाँले राख्नुभयो ।”
यस्तै, हुम्लाभन्दा पारि ५०० नेपाली अड्किएर रहेको सूचना पाएको र त्यस्तो भएको भए फर्कने व्यवस्था मिलाउन आग्रह ओलीले गरेका थिए ।
बीआरलगायत परियोजनासँग जोडिएका विषयलाई अगाडि बढाउन र त्यसलाई नियमित गर्न चीन सरकारका तर्फबाट सहयोग रहने विदेशमन्त्री वाङको भनाइ थियो ।