काठमाडौं । विभागीय क्लब नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबले बिहीबारबाट सुरु प्रधानमन्त्ती कप महिला भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन् ।
नेपालगन्ज रंगशालास्थित कभर्डहलमा सम्पन्न पहिलो खेलमा नेपाल पुलिस क्लबले लुम्बिनी युनाइटेडलाई ३–० को सेटमा पराजित गरेको हो । पुलिसले २५–१४, २५–१३, २५–९ को स्कोरमा विजय हासिल गरेको थियो । पुलिसकी मनिषा चौधरी प्लेयर अफ दी म्याच घोषित भइन् ।
नेपाल पुलिस क्लबकी सहायक प्रशिक्षक कोपिला उप्रेतीले आफ्नो टिम उपाधि जित्ने लक्ष्यका साथ नेपालगन्ज पुगेको बताइन् । कोपिला पहिलोपटक प्रशिक्षकका रूपमा नेपालगन्ज पुगेकी हुन् । पुलिस क्लबले पहिलो र छैटौँ संस्करणको उपाधि जितेको थियो । त्यतिबेला कोपिला टिमको महत्वपूर्ण सदस्य थिइन् ।
आजै सम्पन्न दोस्रो खेलमा त्रिभुवन आर्मीबे न्यू डायमन्डलाई ३–१ को सेटमा हराएको हो । त्रिभुवन आर्मीले २५–१५, २७–२९,२५–१७, २५–२२ को स्कोरमा विजय हासिल गरेको हो । त्रिभुवन आर्मीकी साफिया पुन प्लेयर अफ दी म्याच घोषित भइन् ।
त्रिभुवन आर्मीका प्रशिक्षक लोकेश बुढालले फाइनल सरहको खेल जित्न पाउँदा खुसी लागेको बताए । पराजित न्यू डायमन्डका प्रशिक्षक कुमार राईले राम्रो गर्ने प्रयास गर्दागर्दै पनि नतिजा गुमाउन पुगेको प्रतिक्रिया दिए ।
लिग कम नकआउट प्रणालीमा खेलाइएको प्रतियोगिताको दोस्रो दिन पहिलो खेलमा नेपाल पुलिस क्लबले हरियाणा स्पोर्ट्स क्लब(भारत)विरुद्ध तथा दोस्रो खेलमा न्यू डायमन्डले एकलव्य खेलकुद परिसर (छत्तिसगढ भारत)विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार, तेस्रो टिमले एक लाख र चौथो हुने टोलीले ५० हजार रुपैयाँ नगद पुरस्कार जित्ने छ ।
प्रधानमन्त्री कपको पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा एपीएफ, तेस्रो र चौथोमा रेलवे टिम इन्डिया, पाँचौँमा एपीएफ, छैटौँमा पुलिस र सातौँमा एपीएफ च्याम्पियन बनेका थिए । एपीएफ प्रतियोगितामा अनुपस्थित छ ।