काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिलामाथि हुने यौनजन्य हिंसा अन्त्यका लागि छुट्टै संयन्त्र आवश्यक भएको बताएकी छन् । बिहीबार राजधानी काठमाडौंमा आयोजित 'यौनजन्य हिंसासम्बन्धी नीतिगत छलफल' विषयक कार्यक्रममा बोल्दै मन्त्री रेग्मीले महिलामाथि हुने बलात्कार, अपराध तथा यौनजन्य हिंसा न्यूनीकरण गर्न महिला आयोगको मातहत रहने गरी छुट्टै संयन्त्र बनाउन आवश्यक रहेको बताइन् ।
"हत्या, हिंसा र बलात्कार धेरै भयो, असमान, विभेदपूर्ण कानुनहरू छन् । महिलामैत्री कानुन निर्माणमा सघाउने गरी औपचारिक संयन्त्र बनाऔँ," उनले भनिन् ।
महिला र यौनजन्य हिंसा अन्त्यका लागि पहल गर्न उच्च ओहोदाका महिलाकै असहयोग हुने गरेको उनको गुनासो छ ।
उनले महिलाको मुद्दामा छलफल गर्न र औपचारिक कार्यक्रमका राष्ट्रपति विद्यादेवी भण्डारीले समय नदिएको बताइन् ।
"दुई चारजना उच्च ओहोदा पुगेको भनेर महिलाका मुद्दालाई महत्त्व नदिँदा महिलाले न्यायको अनुभूत गर्न सकेका छैनन्," उनले भनिन् ।