site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
सम्पादकीय
Global Ime bankGlobal Ime bank
SkywellSkywell
Dabur Nepal
NIC Asia

भारतीय अधिकारीहरू अर्घेलो गर्न छाड्दैनन् । नेपाल सरकार सामान्यतः बेला हुँदासम्म बोल्दैन । दार्चुलामा महाकाली नदीमा भारतले बनाएको भनिएको बाँध र तटबन्धमा पनि यही नियति दोहोरिने लक्षण देखियो । 
 
केही दिनदेखि भारतले साझा महाकालीमा नदीमा एकतर्फीरूपमा बाँध र तटबन्ध बनाएको समाचार सार्वजनिक भइरहेको छ । महाकाली नदीवारि नेपालको दार्चुला र पारि भारतको धार्चुला क्षेत्र पर्छ ।
 
भारतले बनाएको बाँध र तटबन्धले महाकाली नदीको स्वाभाविक बहावमा दबाब परेर  नेपालतर्फ क्षति पुग्ने जोखिम बढेको छ । यसै पनि बर्खामा बाढी आउँदा महाकालीले बर्सेनि ठूलो क्षति गर्दै आएको छ । 
 
भारत सरकारले आफ्नोपट्टिको किनारमा तटबन्धमात्र गरेको हो कि नदीमा बाँध पनि बनाएको हो भन्ने सार्वजनिक समाचारहरूबाट स्पष्ट हुँदैन । सीमा क्षेत्रमा तटबन्धमात्रै गर्न पनि अर्को किनाराका बासिन्दा अर्थात् नेपाली पक्षको सहमति हुनुपर्ने हो । 
 
अन्तर्राष्ट्रिय अभ्यासअनुसार साझा नदीमा बाँध त झन् एकतर्फी निर्णयबाट बनाउनै मिल्दैन । यसैले भारतले महाकालीमा बाँध बनाएको वा तटबन्ध नै गरेर पनि पानीको वेग फर्काउने कार्य गरेको हो भने त्यो अर्घेल्याइँ नै हो ।
 
नेपाली जनमानसमा यसै पनि भारतप्रति अविश्वास व्याप्त छ । यस्ता घटनाले अविश्वास झन् बढाउने गर्छन् । दुवै देशको हित हुने काममा समेत भारतको विश्वास गर्न जनमानस तयार देखिँदैन ।
 
बर्खामा उर्लेर बग्ने पहाडी नदीको एउटा किनारामा तटबन्ध गरे भेलले अर्को किनारामा हान्न सुरु गर्छ । अर्को किनारापट्टि पनि तटबन्ध गरिए फेरि उतै फर्कन्छ । अर्थात्, पहाडी नदी र खोलामा तटबन्धको क्रम कहिल्यै सकिँदैन । 
 
यसैले सरकारले यस्ता दूरगामी प्रभाव पर्ने संरचना निर्माण हुँदा विशेष ध्यान दिनुपर्थ्यो । दुर्भाग्य, अहिलेसम्म नेपाल सरकार यस्ता विषयमा उदासीन रहँदै आएको देखिन्छ । नेपालको सरकारी उदासीनता जनताका लागि भने महँगो हुनेगरेको छ ।
 
तराईमा झापादेखि कञ्चनपुरसम्मका विभिन्न सीमावर्ती भूभागमा भारतले एकतर्फीरूपमा बाँध, तटबन्ध र सडक बनाउँदा बर्सेनि नेपाली जनताले डरलाग्दो डुबान सहँदै आएका छन् । दार्चुलामा बन्न लागेको संरचनाका सम्बन्धमा नेपाल सरकारले उपयुक्त माध्यमद्वारा आफ्नो पक्ष राख्न ढिलो गर्नु हुँदैन ।
 
भारतकै लागि पनि निर्माणाधीन संरचनाबाट नेपालतर्फ क्षति नहुने हो भने नेपाली प्राविधिक बोलाएर पुष्टि गराउनु हितकर हुनेछ । आक्रोशित जनसमूहको सन्देह हटाउन सके भारतप्रतिको अविश्वास नै कम हुन्छ ।
 
नेपाल सरकारले महाकालीको तटबन्ध र बाँधका विषयमा तत्काल भारतसँग कूटनीतिक माध्यमबाट वार्ता सुरु गरी नेपाली जनतालाई जानकारी दिनुपर्छ । भारतले पनि अर्घेल्याइँ नगरी नेपाली जनताको सद्भाव आर्जन गर्नु नै हितकर हुनेछ । अन्यथा, नेपाल सरकारको मौन दुवै मुलुक र स्थानीय जनताका लागि निकै महँगो पर्न सक्छ । 
  
 


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ७, २०७८  १५:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro